शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

फेब्रुअरी १४ भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस हो रे फेसबुक वालमा धेरै मित्रहरूले आ-आफ्ना जोडीको फोटो पोस्ट्याएर मनाएको देखिन्छ । फोटो पोस्ट्याउन नमिल्ने जोडीहरू पनि योको दिनलाई विशेष रूपमा मनाउन आ-आफ्नो बलबुताले भ्याएसम्म विभिन्न माध्यमबाट प्रेम व्यक्त गरेको देखिन्छ ।

यस दिनलाई नियाल्दा मेरो मनमा भने प्रश्न जन्मिएको छ- के प्रेम अभिव्यक्त गर्न लागि विशेष दिवस आवश्यक छ ? प्रेम त मान्छेका लागि मात्र नभएर हरेक प्राणी र वस्तुका लागि अपरिहार्य छ नि हैन र ? प्रेम बिना कोही व्यक्ति वा केही वस्तुको अस्तित्व जीवित रहन्छ र संसारमा ? सम्बन्ध, साइनो, अवस्था र आवश्यकता अनुसार अभिव्यक्ति र ग्रहण गर्ने तरिका फरक हुन सक्ला तर प्रेम त हरपल, हरबस्तु, हरप्राणिका लागि अपरिहार्य छ नि हैन र ? फेरि यो विशेष दिन किन र कसरी आइपुग्यो हाम्रो समाजमा ? सबैको सबैप्रति प्रेम हुन जरुरी छ, फेरि पनि प्रेमलाई बुझ्ने, बुझाउने र स्वीकार गर्न सङ्कीर्णता किन ?

प्रेम सम्बन्धलाई बुझ्ने पनि आ-आफ्नै इन्डिकेटरहरु छन् । समाजमा सुन्नै नसकिने कहाली लाग्दा दुर्घटनाहरूलाई असफल प्रेम सम्बन्धको उपमा दिइन्छ । फेब्रुअरी १४ लाई नियाल्दा थुप्रै घटना-दुर्घटना र बोध कथाको सम्झना आइरहेको छ । सान्दर्भिक लागेर राजा भर्तिहारिको वैराग्य सम्बन्धी बोध कथामार्फत मेरो दृष्टिकोण पोख्न चाहेकी छु यहाँ ।

भर्तिहारी र बिक्रमादित्य दुई राजकुमारहरू फरक-फरक स्वभावका दाजुभाइ थिए । देश र जनताको कल्याणको लागि भाइ भएपनि बिक्रमादित्य राजा बन्ने गुणका थिए । राजाको जेठो छोरा नै उत्तराधिकारी हुने संस्कारले गर्दा वृद्ध राजाले योग्य हुँदा हुँदै पनि बिक्रमादित्यलाई राजा घोषणा गर्न सकेनन् र भर्तिहारिलाई राजकाज दिएर राजा बिदा भएछन् । राजा भर्तिहारीलाई नजिकबाट सघाउन राजकुमार बिक्रमादित्यलाई सेनापतिको जिम्मेवारी दिइएको थियो । राजकाजमा निकै कुशल बिक्रमादित्य चलाख पनि थिए ।

राजा भर्तिहारिकी कान्छी श्रीमती पिङ्गला असाध्यै सुन्दर तर धूर्त स्वभावकी थिइन् । बिक्रमादित्य लाई सेनापतिबाट नहटाएसम्म रानी पिङ्गलाको कुनै पनि कु-चाल सफल हुने सम्भावना छैन भन्ने यथार्थ राम्रोसँग बुझेकी रानी अनेक तरहको लाञ्छना लाएर भएपनि बिक्रमादित्यलाई सेनापति पदबाट हटाई आफ्नो प्रेमी (अर्को कुनै सेना अफिसर)लाई सेना पतिको जिम्मा दिन चाहन्थिन् । रानी पिङ्गलाको परपुरुषसँगको प्रेम सम्बन्धबारे सशङ्कित बिक्रमादित्य रानीको यो कु-चालबाट राजा भर्तिहारी र राज्यको सुरक्षा कसरी गर्ने भन्ने बारे सचेत थिए । सेनापति बिक्रमादित्यलाई आफ्नो प्रेम सम्बन्धबारे जानकारी छ भन्नेबारे रानी पिङ्गलालाई पनि आशङ्का थियो । त्यसैले जसरी पनि बिक्रमादित्यलाई सेनापतिबाट नहटाई आफ्नो योजना सफल नहुने भएपछि बिस्तारै राजासँग बिक्रमादित्यको बारेमा नकारात्मक रिपोर्टिङ गर्दै राजालाई एकोहोरो बनाउन थालिन ।

रानी पिङ्गलाको सुन्दरतामा लट्ठिएका राजा भर्तिहारी रानीका कुरामा विश्वस्त नहुने कुरै भएन । सेना पति बिक्रमादित्यलाई रानीको कु-चालले भतभती मन पोलेको थियो र राजासँग यी सब वृत्तान्त सुनाउन चाहन्थे । एक दिन हिम्मतका साथ राजाको नजिक पुगेर कुरा राख्न मात्र के खोजेका थिए, राजा भर्तिहारिले उल्टै हप्काएछन् । आमा समान भाउजूमाथि समेत तिम्रो कु-दृष्टि छ सधैँ, तिमी मेरो अगाडिबाट अहिल्यै देशकै सिमाना छोडेर जाऊ अन्यथा तिमी जीवित रहने छैनौ भनेपछि खुरुक्क बाटो लागे । केही दिनपछिको घटना हो सोही नगरमा बसोबास गर्ने एक जना गरिब वृद्ध ब्राह्मण नित्य गङ्गा स्नान गरी सूर्य भगवानको भक्तिपूर्वक पूजा आराधना गर्थे । उनको भक्तिबाट प्रसन्न भएका भगवान् प्रकट भएर श्रीफल दिँदै भनेछन्- यो श्रीफल विधि पूर्वक जो खान्छ उसलाई चिर यौवन (कहिले बूढो नहुने) वरदान प्राप्त हुने छ भनेर अन्तर्ध्यान भएछन् । वृद्ध ब्राह्मण बडो सोचमा परेछन् । यो फल मैले खानुभन्दा राजालाई चढाउँछु राजा खुसी भएर मलाई केही धन बक्सिनेछन् र मैले अबको बाँकी जीवन सजिलोसँग जिउन सक्नेछु भन्ने सोचेर राजालाई सो फल दिँदै सूर्य भगवानको आशीर्वाद स-विस्तार सुनाएछन् । राजाले पनि वृद्ध ब्राह्मणको अपेक्षाअनुसार केही धन दिएर बिदा गरेछन् ।

राजाले सो फल आफ्नी प्राण प्रिय रानी पिङ्गलालाई दिएछन्, रानी पिङ्गलाले आफूले नखाई सो श्रीफल आफ्नो प्रेमीलाई सो फल दिइछन्, रानी पिङ्गलाका प्रेमी सोही नगरमा बस्ने चर्चित नर्तकी महिलाको प्रेममा थिए र उनै नर्तकी महिलालाई दिएछन्, नर्तकी महिलाले सोचिछन् पूर्व जन्ममा गरेको कु-कर्मका कारण म आज आफ्नो पेट पाल्न दुनियाँलाई रिझाउनु परेको छ । यो फल राजालाई भेट चढाए भनी राजा खुसी भएर मलाई केही धन दिनेछन् र यो नर्तकी पेसा छोडेर केही आरामको जिन्दगी जिउन सकुँला भन्ने सोच आएछ र राजाकोमा पुगेर श्रीफल दिँदै आफ्नो कुरा भनिछन् । सोही श्रीफल देख्ने बित्तिकै राजा झस्केछन् र गर्जँदै सोधेछन्- तिमिले यो फल कसरी पायौ ? ती नर्तकिले साँचो कुरा सुनाइछन् । कुरा भुईँमा झर्न नपाउँदै सेनालाई तुरुन्त हाजिर गराएर डर लाग्दो गर्जनसहित सोधेछन् तिमीले यो फल कसरी पायौ ? साँचो कुरा के हो ? छिटो भन भनेपछि ती सेना थरथर काँप्दै रानी पिङ्गलाबाट सो फल पाएको र रानीसँग प्रेम सम्बन्धमा रहेको कुरा सुनाएछन् । राजा भर्तिहारिलाई झर्लक्क आफ्नो भाइ बिक्रमादित्यको याद आयो । बिक्रमादित्यले पटक-पटक रानीको कुरा जानकारी गराउन खोज्दा उल्टै आफूले अपमान पूर्वक देश निकाला गरेको कर्मले पश्चात्ताप भयो र आफैलाई धिक्कार्दै भाइ बिक्रमादित्यको खोजीमा निस्केछन् ।

सायद यो कथाले अहिले हाम्रो समाजमा घट्ने घटनाहरूको प्रतिनिधित्व गर्छ होला । अभिव्यक्त गर्ने शैली र शब्दहरूमा थुप्रै त्रुटिहरू हुन सक्छन् तर, मैले उठाउन खोजेको विषयवस्तुको सार बुझेर प्रतिक्रिया दिनुहुनेछ भन्ने अपेक्षा गर्दछु ।

  • क्रियाशील महिला नेतृ पौडेल राष्ट्रिय किसान आयोगका सदस्य तथा प्रवक्तासमेत हुन् ।

तपाईको प्रतिक्रिया