शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने भन्ने विषयमा रस्साकस्सी शुरु भयो । अश्वत्थामा, दुर्योधन, कर्ण, शकुनी र दुःशासन कौरव पक्षका होनहार लडाकु थिए । उनीहरूले सेनापतिमा धेरै गुण हुनुपर्ने भएकाले नायक रोज्दा सुरवीर, धैर्यवान् र परेका बखत तत्काल निर्णय दिन सक्ने क्षमता भएको व्यक्ति भावी सेनापति हुनुपर्ने राय दिए । यसैबीच, अश्वत्थामाले महावीर कर्णलाई सेनापति बनाउन प्रस्ताव गरे । प्रस्ताव एकमतले पारित भयो । यो निर्णयबाट सबैभन्दा दुर्योधन दंगजस्तो देखिन्थे । सबै बिदाबारी भएपछि कर्णलाई अँगालो हाल्दै एकान्तमा लगेर भने, ‘मित्र, वास्तवमा मलाई पितामह र गुरु द्रोणाचार्य कसैको विश्वास थिएन । वास्तवमा उहाँहरू पाण्डवलाई बढी माया गर्नुहुन्थ्यो । त्यसैले हामी क्षमता भएर पनि सफल हुन सकेनौँ । म त तिम्रै भरमा थिएँ । सेनापति बन्ने योग्यता तिमीबाहेक कसैमा छैन । अब हामी सफल हुन्छौँ ।’ दुर्योधनको प्रशंसाबाट हौसिएका कर्ण भन्छन्- ‘अब म पाण्डवलाई युद्धमा टिक्नै दिन्न । भोलि नै अर्जुनलाई खत्तम गरेर सबै पाण्डव म आफ्नो शिविरमा ल्याई थुन्छु । यो मेरो प्रतिज्ञा हो ।’ कर्णको संकल्पले दुर्योधनलाई हुनसम्मको ढाडस दियो । यी पात्र बाहिरबाट अत्यन्तै मिलेजस्तो देखिए पनि शंकाको लाभ लिन चुक्दैनथे । सहयोगीका नाममा एकले अर्कालाई राम्रैसँग ठग्थे । यिनीहरूको सम्बन्ध नङ-मासुजस्तो त थियो तर नङ काटिँदा मासु कुनै प्रतिवाद गर्दैनथ्यो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीलाई पनि प्रारब्धले दुर्योधन र कर्णको ठाउँमा ल्याइदिएको छ । महाभारत त्यस्तो शृङ्खला हो, जसका पात्रले राज्य जितेर पनि कीर्तिमानी हुने सुअवसर पाएका थिएनन् । राज्यभोगको साइत अन्ततः श्राप र आँसुको दुर्दान्त रुझानमा लपक्कै भिजेको छ । युद्धका नायक श्रीकृष्ण व्याधाको प्रहारबाट नासिएका छन् । राज्यभोग गर्नुपर्ने पाण्डव एक÷एक गर्दै सुमेरु पर्वतमा बिलाएका छन् । कूटनीतिज्ञ विदुरलाई वैराग्यले छोएको छ । जिन्दगीभर शत्रु ठानेर युद्ध गरिएका कर्ण आफ्नो दाजु भएको खुलासा आमा कुन्तीले गरेपछि पाण्डव यति व्यथित भए कि जीवनको उत्तरार्द्ध उनीहरूका लागि अनन्त सुरुङ यात्रा साबित भयो । युद्धका वीरहरू किंकर्तव्यविमूढ बने ।

नेताको मलद्वारलाई हरिद्वार मान्ने दास जन्माउने होडबाजीमा नेता लागे । सत्ता बाहिर हुँदा पशुपति स्वयम्भूका बाँदरको समेत ट्रेड युनियन बनाउन खोज्ने नेतृत्व सत्तामा पुगेपछि तिनीहरूकै चक्रव्यूहबाट निस्कन सक्दैनन् ।

महाभारतका पात्रजस्तै माओवादी नेताहरूमा उत्कर्षको वैराग्य छाएको छ । बाबुराम अर्को गुठी खोलेर आफू कुनै समय माओवादी दलको शीर्ष नेता भएको स्मरणसम्म गर्न चाहँदैनन् । नारायणकाजीलाई पार्टी नखाऊँ दिनभरिको सिकार, खाऊँ कान्छाबाउको अनुहारजस्तै भएको छ । एकथरी माओवादी काठमाडौँको सभ्रान्त परिवारमा रूपान्तरण भइसकेका छन् । उनीहरू आफ्नो माओवादी विगतलाई ‘नराम्रो सपना’ भन्ने अवस्थामा पुगेका छन् । अर्काथरी अरबका डोरीलाउरे र बाँकी रहेकाहरू युरोप-अमेरिकामा ‘तोरीलाउरे’ बन्ने धुनमा छन् । यी खाले बुज्रुकहरू उल्टो माओवादी पीडितको कागज बनाएर विदेशी बन्ने क्रममा अदालती बयान दिइरहेका छन् ।

विशुद्ध माओवादी त माओवादी लिष्टबाटै हराइसकेका छन् । बाहिर क्रान्तिकारी भाषण गरेपनि भित्रभित्र उनीहरू तर्सिरहेका छन् । माओवादीलाई विचार कम, जुवाको खाल बढी बनाउँदाको पीडा भित्रभित्रै हरेक नेताको मनमा पाकेको छ । धनवादका अगाडि माओवाद रंगहीन बन्दै गएको छ । पहिला पहिला कम्युनिष्ट र काँग्रेस अलग दल हुन्थे । दलका शीर्ष नेता हुन्थे । नेताले भनेको माथिदेखि तलसम्म अक्षरशः पालना हुन्थ्यो । अहिले त एमालेभित्र काँग्रेस-माओवादी, माओवादीभित्र काँग्रेस-एमाले, यी सबै दलभित्र लोकमानसिंह कार्कीका चेलाचपेटाको बिगबिगी छ । लोकमान त झारले छोपिएको पिपलजस्तै हुन् । जब झारपात घामको ताप र बर्खाको भेल थेग्न नसकेर पराल हुन्छ, त्यसपछि पिपलरूपी लोकमान लहलह भएर उदाउने छन् । फेरि जयजयकार सुरु हुनेछ । राजा ज्ञानेन्द्रको सत्ता पल्टिँदा सबैभन्दा घृणा गरिने रमेशनाथ पाण्डेजस्ता पात्र समकालीन राजनीतिमा म्यारिजको मालजस्तो भइसकेका छन् । बेथितिमा चलेका तिनै नेता हातमा घडी फेरेर समय आफ्नो कब्जामा रहेको भ्रम दशकौँदेखि छर्न सफल छन् ।

केपी ओलीले चराको चुच्चोजस्तो रेल र चुलोचुलोमा ग्यास ल्याउने सपना देखाउँदा उनका कार्यकर्ताले राजनेताको पखेटा लगाएर फेसबुक भरेको देखेको माओवादी नेतृत्व उपत्यका उज्यालो बनाएको जस लिने होडबाजीमा आकाश-जमिन पछि परेको छ । तिललाई पहाडमा अनुवाद गर्न सक्ने कम्युनिष्ट मनोविज्ञानबाट माओवादी स्वयं चुकेको बुझ्न कठिन छैन । यदि, काँग्रेस र एमाले केन्द्रबिन्दुमा रहेर यो काम भएको थियो भने त्यसको स्वामित्व ग्रहण गर्न हुने होडबाजी आफै अन्दाज गर्न सकिन्छ । असफल कृषि प्राविधिकको इतिहास बोकेका अर्थमन्त्री जनार्दन शर्माको अर्थशास्त्रीय लाज कुलमान घिसिङले जोगाइदिनु परेको छ । अर्थतन्त्रका सूचक मन्त्री शर्माका उत्तेजक भाषणका अघिल्तिर अबोला साबित भएका छन् । संसारका मानिसले बुझ्ने समान भाषा हो- हाँसो । अन्धकार नासिएपछि नागरिकका अनुहारमा भेटिने भावधारा यही हो । हाम्रो भूधरातल र सामाजिक सन्तुलन यस्तो अवस्थाको छ कि औँलामा गनिने मानिसले थोरै लोभ त्यागिदिने हो भने सवैथोक आफैँ मिलेर जान्छ । यहाँ काँग्रेस, एमाले, माओवादीले जित्ने- देशले हार्ने प्रतिस्पर्धाले घर गर्‍यो ।

राजनीतिलाई सधैँ तातो तावामा उफारेर भुङ्ग्रोमा पार्ने काइदाका रूपमा बुझ्नु मनासिब होइन । नीतिहरूको राजा राजनीति मानिन्छ भने दानहरूमा महान् दान मतदान हो ।

नेताको मलद्वारलाई हरिद्वार मान्ने दास जन्माउने होडबाजीमा नेता लागे । सत्ता बाहिर हुँदा पशुपति स्वयम्भूका बाँदरको समेत ट्रेड युनियन बनाउन खोज्ने नेतृत्व सत्तामा पुगेपछि तिनीहरूकै चक्रव्यूहबाट निस्कन सक्दैनन् । यसैको परिणाम अहिले प्रचण्डका लागि माओवादीको नायकत्व जागिर सकुशल राख्ने एउटा कडी मात्र भएको छ । सहरी नुनको प्रभावले माओवादीजस्तो कि गर, मरको हुकुमी दर्शनमा हुर्किएका असली कार्यकर्ता विभिन्न आवरणमा अलप भएका छन् । बरु अवसरवादी चैते वर्णशंकर सन्तानको आवादीमा माओवादी जमिन सिञ्चित छ । माओवादका प्रणेता माओत्सेतुङले जनताबाट सियो पनि लिनुहुँदैन भनेर सिकाए तर उनैका अनुयायी हाम्रा माओवादीले देशको ढुकुटीमा संगठित आक्रमणलाई संस्थागत तुल्याए । कांग्रेस-एमालेले सच्याउनु साटो नजिरका रूपमा यही प्रवृत्ति आत्मसात् गरेका छन् ।

जति सत्य बुझ्यो उति जीवन सरल हुन्छ । विश्वमा शान्ति र विकास बलले नभई समझदारीले आएको छ । रूखपछि बनेको भन्दैमा पिर्कामा रिस पोख्ने दुस्साहस किमार्थ गर्नुहुन्न । राजनीतिमा त झन् यो आत्मघाती सिद्ध हुन्छ । कम्बोडियामा कम्युनिष्टको यस्तो दबदबा थियो, जहाँ चस्मा लाएका मानिसलाई बुद्धिजीवी ठानेर मारियो । हिटलरको सन्कीपनले ५ करोड मानिस चेम्बरमा स्वाहा भए । यसको ठिक विपरीत अमेरिकी राष्ट्रपति अब्राहम लिंकन जातीय दासता उन्मूलन गरेबापत प्रसिद्ध भए ।

देशको अखण्डता जोगाउने नाममा लाखौँ अमेरिकीले ज्यान दिए । यतिबेला देश टुक्रन नदिने अभियानको अभियन्ता एमाओवादी बन्यो भने त्यस्ता जनशक्ति उसले स्वतः पाउँछ । बटुको जत्रो देशमा नाङ्लो आकारको चलखेल गर्नुको अर्थ छैन । अहिलेको संघीयता बोकाको मुखमा कुभिण्डो कोच्याएको अवस्था हो । न यो कसैको माग हो, न आवश्यकता । देश त सलादजस्तो सबैको अस्तित्व देखिने किसिमको हुनुपर्छ । अनि सुपजस्तै सबै परिकार मिसिएर आएको सुस्वादिलो हुनुपर्छ । राजनीतिलाई सधैँ तातो तावामा उफारेर भुङ्ग्रोमा पार्ने काइदाका रूपमा बुझ्नु मनासिब होइन । नीतिहरूको राजा राजनीति मानिन्छ भने दानहरूमा महान् दान मतदान हो । चाणक्य भन्छन्- ‘जसको गुण आफूलाई थाहा छैन, त्यस्ता मानिसको सेवा बुद्धिमानले गर्नुहुँदैन । किनभने यसो गर्नु बाँझो खेत जोत्नुजस्तै हो । यसबाट फल निस्कँदैन ।’

सीमापारिबाट ल्याएको चामल भर्ने काम मात्र हुन्छ । बर्सेनि २५ अर्बको चामल ट्रकले नओसारे देशमा भोकमरी लाग्छ । गफमा बाहेक आत्मनिर्भर नरहेका नेपालीले धोक्ने बिजुली पानीको कच्चा पदार्थको भरसमेत दक्षिणमै पर्नु परेको छ । योभन्दा चरम दुर्भाग्य के हुन्छ ?

नेपाल एउटा विश्वको त्यस्तो नमुना देश हो, जहाँ पुलिसले अपराधी समात्दा, पत्रकारले कुनै एउटा राम्रो समाचार लेख्दा, न्यायाधीशले राम्रो फैसला गर्दा, कुनै नेताले विकासवादी भाषण ठोक्दा, कर्मचारीले तोकेको काम गर्दा त्यो हिट समाचार बन्छ । यसको अर्थ के हो भने हरेक मानिसहरू आफ्नो स्वधर्मभन्दा अलग पेसामा पारंगत छन् । सफल राजनेता आफू साधारण जीवन बाँचेर जनतालाई असाधारण जीवनशैलीमा पुर्‍याउन अहोरात्र खट्छन् । तर, हामी कहाँ राजनीति कहिल्यै अवकाश लिन नपर्ने जागिर भएको छ । एउटा माकुराले आत्महत्या गरेछ । मर्नुअघि सुसाइड नोटमा लेखिएको थियो, ‘जाल बुन्नमा मैले नेपालका नेताको मुकाबिला गर्न सकिनँ ।’ संविधानलाई विश्वको उत्कृष्ट भन्ने तिनै नेताका लागि एक वर्ष नपुग्दै त्यो दस्ताबेज भीरको चिचिण्डो भएको छ । कृषिप्रधान देश जहाँको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ । झण्डै सात हजारको सङ्ख्यामा रहेका धान मिल खुम्चिएर तीन सयमा झरेको छ । ती मिलमा पनि कुटानी होइन, सीमापारिबाट ल्याएको चामल भर्ने काम मात्र हुन्छ । बर्सेनि २५ अर्बको चामल ट्रकले नओसारे देशमा भोकमरी लाग्छ । गफमा बाहेक आत्मनिर्भर नरहेका नेपालीले धोक्ने बिजुली पानीको कच्चा पदार्थको भरसमेत दक्षिणमै पर्नु परेको छ । योभन्दा चरम दुर्भाग्य के हुन्छ ?

हजुरबाका पालामा शुरु भएको विकासे योजना नातिका पालामा सकिँदैन । काम गर्ने एउटा सरकारी निकाय छ भने त्यसलाई काम गर्न नदिन अरू दर्जन सरकारी संयन्त्र नै तैनाथ छन् । नेता र कर्मचारी राष्ट्रिय पोसाक उस्तै लगाउँछन् तर परिणाममा तिनीहरू सधैँ एक नदीको दुई किनार भएर बाँचेका छन् । एकथरी छन् नीति, नियम र अख्तियारको हाउगुजी देखाएर कामबाट पन्छिन्छन् । अर्काथरी छन् अख्तियारलाई मावली, ससुरालीको साइनो लगाएर धमिलो खोलामा जाल हान्न तम्सन्छन् । तेस्रो खालका त झन् यस्ता छन्, जो नेताको चिना टिपन आफ्नो हातमा रहेको अभिमानमा फुलेका छन् । यस अवस्थामा राजहाँस बन्नुपर्ने राजनीतिबाज दलालको घेरामा बाँधिएका छन् । अब त चाहेर पनि कुनै नेता दलालको चक्रव्यूहबाट उम्कन सम्भव छैन । बरु नेताको भाग्यरेखा दलालको खाताबाट निर्देशित हुने निश्चित छ ।

तपाईको प्रतिक्रिया