शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

जापानमा पर्ने विभिन्न ऋतु पर्वहरूमध्ये यो ‘मामे माकि’पनि एउटा पर्व हो । आजको दिनलाई जापानीहरू एउटा विशेष अर्थले मनाउँछन् । यहाँ मनाउने विविध पर्वहरूमध्ये यो ‘सेचुबुन नो हि’ पर्वको सुरुआत ऋतुहरूको परिवर्तनलाई लिएर मनाउने चलन छ।

यो पर्व आ-आफ्नो चलनअनुसार जिन्जा 神社या お寺हरूमा प्रसिद्ध व्यक्तिहरूलाई निमन्त्रणा गरी भुटेको भटमास र कतै भुटेको बदाम पनि मिसाएर झ्याल या बरण्डाबाट *ओनि वा सोतो* ‘फुकु वा उची’भनी राक्षसहरूलाई भुटेको भटमासले हानि भगाउने चलन छ । यसलाई नै जापानमा 節分の日 अर्थात् मामे माकि नो हि भनिन्छ । यो दिन हाम्रो नेपालमा ‘लुतो फाल्ने’जस्तै हुन्छ ।

भुटेको भटमास घरको झ्याल या बरण्डाबाट ‘राक्षसहरू बाहिर खुसीयाली भित्र’ भन्दै राक्षसहरूलाई खान दिई भगाउने चलन आज पनि जापानमा भरि प्रसिद्ध छ ।

節分 सेचुबुनको अर्थ ऋतुहरूलाई अलग्ग गर्नु पनि हो । तर हामीहरूलाई अचम्म लाग्छ, यति जाडो हुँदाहुँदै पनि आजको दिनदेखि जापानमा वसन्त ऋतुको आगमन हुने पारम्परिक विश्वास छ । 江戸時代 ‘एदो इरा’पछि यो दिनलाई ऋतुहरू अलग्ग गराउने दिनको एकदिन अगाडि मनाउने चलन शुरू भएको हो । हरेक वर्षको फेब्रुअरी ४ तारिखबाट जापानमा वसन्त ऋतुको आगमन हुन्छ तर, यो चार तारिखको एकदिन अगाडि अर्थात् फेब्रुअरी ३ तारिखको दिन जापानमा सेचुबुन नो हि मनाइन्छ । यही नै बच्चाहरूले मामे माकि नो हि भनेर रमाइलो गरी मनाउँछन् ।वर्षमा चारवटा ऋतुहरू हुन्छ ती हरेक ऋतुहरू परिवर्तन हुनु एकदिन अगाडिको दिनहरूलाई जापानमा विशेष अर्थका साथ मनाइन्छ । ‘रिस्सुन’立春अर्थात् वसन्त ऋतु शुरू हुनु अगाडिको दिन । रिख्खा 立夏 गृष्गम ऋतु शुरू हनु अगाडिको दिन । रिस्सु 立秋 अर्थात् शिशिर ऋतु शुरू हुनु अगाडिको दिन र रित्तो 立冬 जाडो ऋतु खत्तम हुनु अगाडिको दिन । यसरी जापानमा वसन्त ऋतु शुरू हुनु अगाडिको दिनलाई, ऋतुहरू परिवर्तन हुनु अगाडिको दिन को रूपमा मनाउने चलन-चली आएको छ ।

तर अनौठो ! यो मामे माकि अरू ऋतु परिवर्तनहरूको दिनमा जस्तो जस्तो यो दिनमा जापानमा सार्वजनिक छुट्टी भने छैन । तर एहो माकि 恵方巻きभनिने नोरिले बेरिएको भिनेगर भातमा सात थरी समुद्री माछाको परिकारहरू राखेर हरेक वर्षको उत्तर पश्चिम दिशा तर्फ फर्केर यो सके जति पुरै मुखमा हालेर खाने चलन छ । यसरी यो ‘एहो माकि’ उत्तर पश्चिम भन्दा पनि थोरै उत्तर तर्फ फर्किएर खायो भने र त्यो राक्षसहरूलाई पनि भगाउने भुटेको भटमास आफ्नो उमेर जति नै गेडा गनेर खायो भने वर्षै भरि स्वस्थ रहन सकिने विश्वास जापानमा अझै पनि छ ।

  • गृष्मा पौड्याल
    टोकियो, जापान

तपाईको प्रतिक्रिया