मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले पर्यटक भिसा (भिजिट भिसा) मा मलेसिया, कम्बोडिया र दुबई जान लागेका १० जनालाई फिर्ता (अफलोड) गरेको छ । अध्यागमन कार्यालयले शनिबार बिहान उनीहरूलाई प्रस्थान अनुमति (डिपार्चर) नदिएको हो ।

उनीहरू कसैले पनि अध्यागमन अधिकृत समक्ष भिजिट भिसामा जानुको औचित्य पुष्टि गर्न नसकेपछि रोकिएका हुन् । गृह मन्त्रालयले समेत भिजिट भिसामा रोक लगाएको छ । भिजिट भिसामा जान गृह मन्त्रालयले तोकेको मापदण्ड पूरा गर्न नसकेपछि त्यस्ता यात्रुहरूलाई अध्यागमन कार्यालयले फिर्ता गरेको स्रोतले जानकारी दिएको छ ।

मलेसिया, खाडीमुलुकलगायत अन्य केही मुलुकमा मानव तस्करहरूले भिजिट भिसामा नेपालीहरूलाई पुर्‍याएर अलपत्र पारेको भन्दै गृह मन्त्रालयले कडाइ गरेको छ । अध्यागमन कार्यालयले मलेसिया हिँडेका ललितपुरका निध्यना विष्ट, काठमाडौँकी जुनु गिरी, निर्मला गिरी, जुली गिरी र अर्की एक गिरी थरकी युवतीलाई प्रस्थान अनुमति नदिएको हो ।

उनीहरूले भिजिट भिसामा मलेसिया जानुपर्ने कारण र आवश्यक कागजपत्र पेस गर्न नसकेको अध्यागमन स्रोतले बताएको । विमानस्थलस्थित अध्यागमन कार्यालयले मानव तस्करको जालो तोड्न भिजिट भिसाको औचित्य पेस गर्न नसकेका यात्रुहरूलाई रोक लगाउँदै आएको छ ।

त्यस्तै अध्यागमनले भिजिट भिसामा कम्बोडिया हिँडेका गुल्मीका नारायण ढकाल, दैलेखका गणेशबहादुर खडका, लमजुङका पूर्णबहादुर गुरुङ र तनहुँका किरण दुरालाईसमेत शंकास्पद यात्रा भन्दै प्रस्थान अनुमति दिन अस्वीकार गरेको छ । अध्यागमनले प्रस्थान अनुमति नदिएपछि उनीहरू त्यहीँबाट फर्किएका थिए । त्रिअबी अध्यागमन कार्यालयले कम्बोडिया हिँडेका खडका, गुरुङ र दुरालाई यसअघि पनि आवश्यक कागजात दिन नसकेपछि प्रस्थान अनुमित दिएको थिएन ।

उनीहरू पुरानै कागजात लिएर दोहोर्‍याएर विमानस्थल पुगेका थिए । अध्यागमनले भिजिट भिसामा दुबई जान लागेका धादिङका मदन पौडेललाई समेत फिर्ता गरेको छ । कम्बोडिया र दुबई जान लागेका यात्रुहरूले अध्यागमन अधिकृत समक्ष आवश्यक कागजात दिन नसकेपछि उनीहरूलाई फिर्ता गरिएको हो । मानव तस्करको गिरोहले उनीहरूलाई भिजिट भिसामा मलेसिया, कम्बोडिया र दुबई पुर्‍याउन लागेको आशंकामा अध्यागमन कार्यालयले उनीहरूलाई जान नदिएको हो । त्यस्तै त्रिअबी अध्यागमन कार्यालयले शुक्रबार अस्ट्रेलिया जान लागेका म्याग्दीका प्रवीण थापा र रुकुमकी भावना केसीलाई समेत आवश्यक कागजपत्र नपुगेको भन्दै यात्रा अनुमति दिएको थिएन ।

अध्यागमनले शुक्रबार नै भिजिट भिसामा केन्या हिँडेका काठमाडौँकी अमी महर्जन, एनओसी नलिई युके हिँडेका भारतीय नागरिक मन्तोष गुप्ता र कतारको दोहा ट्रान्जिट हुँदै पाकिस्तान जान लागेकी रुपन्देहीकी शान्तिकुमारी थारुलाई समेत शुक्रबार विमानस्थलबाट फिर्ता गरेको छ । उनीहरू सबैले यात्रा उद्देश्य पुष्टि गर्न नसकेपछि अध्यागमनले फिर्ता गरेको हो ।

तपाईको प्रतिक्रिया