शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ कीर्तिमान बनाएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३, दानाका निर्मल पूर्जा ‘निम्स’ बलिउड अभिनेता सलमान खानलाई उपहारस्वरुप आफ्नो बायोग्राफी पुस्तक ‘बियोन्ड पसिबल’ हस्तान्तरण गरेका छन् ।

विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ हिमाल चढेर विश्व रेकर्ड बनाएर संसारमै चर्चित पर्वतारोही बनेका पूर्जाले अभिनेता खानलाई नेपालको भ्रमणको समेत निम्तो दिएका छन् । आफ्नो जीवनीको पुस्तक हस्तान्तरण गर्दै आरोही पूर्जाले इन्स्टाग्राममा निर्मलले लेखेका छन्, ‘सलमान भाइसँगै आनन्ददायक भेटघाट रह्यो । मेरो देशमा चाँडै भेट हुनेछ ।’

उनले आफ्नो आधिकारिक फेसबुक पेजमा समेत अभिनेता खानसँगको तस्बिर राखेर निकट भविष्यमै नेपालमा भेट्ने बताएका छन् । पूर्जाले नेपालको पर्यटन क्षेत्रलाई सघाउन यसअगाडि विश्वचर्चित डिसकभरि च्यानलका होस्ट बियर ग्रिल्जलाई पनि निम्तो दिएका थिए । पूर्जाले आफूमाथि नेटफ्लिक्सले निर्माण गरेको फिल्म ‘फोर्टिन पिक्सः नथिङ इज इम्पोसिबल’ ले विश्वभरका चर्चित ब्यक्तिको समेत ध्यान तानेको थियो । पुस्तक र नेटफ्लिक्सले निर्माण गरेको फिल्म सर्वाधिक रुचाइएकाले समेत पूर्जा ब्यस्त छन् ।

आरोही पूर्जाले अन्य आरोहीले सकभर तोड्नै नसक्ने गरी राखेको कीर्तिमानीका कारण कलाकारदेखि विभिन्न देशका उच्च पदस्थ अधिकारीले समेत भेट्न रुचाउने गरेका छन् । पूर्जाले पाकिस्तान र चीनको सीमानामा अवस्थित संसारकै दोस्रो अग्लो ८ हजार ६११ मिटर अग्लो के-टु’ हिमालमा विन्टर सिजन (जाडो याम) मा सफल आरोहण गरेर विश्वमै अर्को चमत्कारी कीर्तिमानी समेत कायम गरेका थिए । उनले जाडो सिजनमा माइनस ८० डिग्रीको तापक्रम र १ सय माइल प्रतिघण्टाको वायु गति जस्ता प्रतिकुल अवस्थामा समेत आरोहण गरेपछि सर्वत्र चर्चा भएको थियो ।

दुई वर्ष अगाडि आफ्नै जन्मभूमिमा रहेको अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूणर् हिमालबाट विश्व कीर्तिमानीको अभियान सुरु गरेका पूर्जाले सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) मा विना अक्सिजन आरोहण गरेका थिए । बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा कार्यरत रहँदा पूर्जाले ब्रिटिश सेनाको रोजाईमा रहेका विश्वका धेरै हिमालको आरोहण गरिसकेका छन् ।

सबैभन्दा छिटो १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी विश्व कीर्तिमान राखिसकेका पूर्जाले अंग्रेजी वर्ष २०१७ मे २७ गते ५ दिनमा ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर ३ वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्ड राख्न सफल भइसकेका छन् ।

गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए । सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए । उनले हरेक आरोहणमा आरोहीको उद्धार तथा मृत अवस्थामा भेटिएका शवलाई समेत व्यवस्थापनमा सघाउने गरेका छन् । पूर्जाको पछिल्लो समय दैनिकी नै हिमाल आरोहण तथा आरोहीको व्यवस्थापनमा बित्ने गरेको छ । आरोही पूर्जाको सहयोगमा म्याग्देली समेत हिमाल आरोहणमा आकर्षित भएका छन् ।

तपाईको प्रतिक्रिया