शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – नेपाल सरकार कम्पनी रजिस्ट्रारको कार्यालय अर्थात ओसीआर (OCR) भनौँ वा घुसियार ? यो कार्यालयको काम उद्यमीहरूलाई सहयोग गर्ने हुनु पर्ने । हामी सानातिना सपना बोकेर एउटा सानो काम गरौँ भनेर त्यहाँ पुग्नेहरूलाई यो कार्यालयले स्वागत गरेर धन्यवाद भन्दै हाम्रो काम गरिदिएर नमस्ते हजुर भन्दै उत्साहित गरेर फर्काउनु पर्ने हो । मैले अमेरिका, जापान, इन्डिया र सिङ्गापुर आदि देशमा कम्पनी खोलेको छु ।

यी सबै देशमा बिना झन्झट कम्पनी खोलेँ र दुई पैसा घुस खुवाउनु परेन । सबैले मलाई कम्पनी दर्ता पछि स्वागत, बधाई र धन्यवाद जस्ता शब्द राखेर चिठ्ठी पठाए । तर नेपालको कम्पनी रजिस्ट्रारमा गयो भने कम्पनीको नाम जुराउनेदेखि घुस दिन सुरु गर्नु पर्छ र कम्पनी सञ्चालन भएसम्म हरेक वर्ष यो कागज मिलेन र त्यो कागज पुगेन भनेर घुस लिन्छन् । सुरुसुरुमा त मैले खुब आदर्शवादी बनेर पृथ्वीनारायणको महावाणी (घुस लिने र दिने दुवै चोर हुन्) याद गरेर घुस दिन्न भनेर बसेँ ।

तर आफू अमेरिका, नेपालमा अनेकलाई भनेँ तर कसैले सुनेनन् । नेताहरू मुसुक्क हाँसे र सचिवहरूले कागज पुर्‍याउनुस् न सर भनेर टारे । अचेल मेरा मान्छेले पनि घुस दिने गर्छन्, कम्पनी रजिस्ट्रारलाई । देशको यो ताल देख्दा आँखाबाट आँसु झर्छ । भनौँ त कसलाई भनौँ ? जाउँ त कहाँ जाउँ ? अदालतदेखि मन्त्रालयसम्म सबै मुख बाउँदै बसेका छन् ।

मलाई थाह छ, यो नोट कम्पनी रजिस्ट्रारका हाकिमले पढेपछि मेरा म्यानेजरहरूले झन् दुःख पाउनेछन् । तर कति सहने अत्याचार भनेर सामाजिक सञ्जालमार्फत आफू जस्तै अन्याय खप्ने लाखौँ नेपालीहरूको माझ आएको छु । कम्पनी रजिस्ट्रारमा कति राम्रा घुस नखाने कर्मचारी पनि हुनु होला । उहाँहरूसँग क्षमा माग्न चाहन्छु । कम्पनी रजिस्ट्रारबाट हन्डर र गोता खानेले आफ्नो कथा पनि शेयर गर्नु होला ।

उद्योग मन्त्रालय प्रधानमन्त्रीकै मातहतमा छ क्यारे । प्रधानमन्त्री कार्यालयबाट र अख्तियारबाट कसैलाई मेरो पूर्ण कहानी सुन्न मन छ भने म नाम तोकेर भनिदिनेछु । देशको लागि केही गर्न सकिनँ, यति त गरौँ ।

  • पाण्डेले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको अभिव्यक्तिको सम्पादित सामग्री

तपाईको प्रतिक्रिया