शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो – नेपालको प्रिमियम ह्विस्की ‘यार्सागुम्बा’ जापानमा निर्यात भएको छ । नेपाली बजारमा विदेशी मदिराको बर्चस्व रहेको अवस्थामा एक मदिरा उत्पादक कम्पनीले नेपाली ह्विस्की जापानमा निर्यात सुरु गरेको हो ।

एभरेष्ट हर्ब्स प्रालिले उत्पादन गरेको प्रिमियम मदिरा ब्राण्डलाई जापानको तोमोदाची हब कम्पनीले जापान निर्यात गरेको हो । जापानमा पहिलो पटक नेपाली मदिरालाई लाइसेन्स लिएर निर्यात गरेको बताइएको छ ।

यार्सागुम्बासहित विभिन्न ९ प्रकारका दुर्लभ जडिबुटी मिश्रित ह्विस्की ‘यार्सागुम्बा’ स्वाथ्यका लागि औषधिको गुणसमेत रहेको कम्पनीको दाबी छ । यार्सागुम्बालाई कम्पनीले वेभरेजको रुपमा प्रचार गर्दै आइरहेको छ । संसारका सबै मदिरामा सात किसिमका रसायन मिलाएर बनाइएको हुन्छ । यार्सागुम्बा बेभरेजमा भने त्यसमध्येका आर्सनिक, क्याडमियम, मर्क्युरी, लेड र सल्फर डायोक्साइड गरी ती पाँच रसायन छैन, जुन मानव स्वास्थ्यका लागि हानिकारक छ । यी तत्वहरु नहालिएकाले पनि यार्सागुम्बा बेभरेज दुई बोतल पिउँदा पनि ह्याङओभर नहुने र एसिडिटी पनि नगराउने कम्पनीको भनाइ छ ।

नेपालमा छोटो समयमा नै स्थापित यार्सागुम्बा विदेशी मदिरालाई विस्थापित गर्दै नेपालका तारे होटलमा सर्भ हुने डोमेस्टिक प्रिमियम ब्रान्डमा पर्दछ ।

कम्पनी, यस उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति जनाउने क्रममा छ । यसअघि  यार्सागुम्बा ह्विस्की अष्ट्रेलिया, चीन निर्यात भइसकेको छ ।

कुनै समय नेपाली बजारमा ‘प्रिमियम लेभल’मा वर्ल्ड दरबारको मात्रै एकछत्र राज थियो । नेपाली  मदिरामा महँगो मानिएको वर्ल्ड दरबारको बजार अझै पनि राम्रो छ । तर, पछिल्लो समय वर्ल्ड दरबारभन्दा पनि धेरै महँगो ह्विस्की बजारमा आइसकेका छन् । जसले आफूलाई प्रिमियम बनाइराखेका छन् । यसै बीच केही समयअघि मात्रै विश्वस्तरीय प्याकेजिङ र रि–ब्रान्डिङसहित आएको यार्सागुम्बा ह्विस्की नेपालको सबैभन्दा ‘प्रिमियम लिकर ब्रान्ड’ का रूपमा छोटो समयमै ‘मार्केट बज’ गर्न सफल भएको छ । यार्सागुम्बा ७५० एमएल गोल्डेन साफिरको मूल्य नेपालमा ११ हजार छ भने ब्लू साफिरको २८ हजार रुपैयाँ  छ ।

नेपालमा प्रिमियम ब्रान्डहरु ठूला रेष्टुरेन्ट तथा तारे होटलमा खपत गरिन्छ भने सामान्य ह्विस्की देशभरका विभिन्न मदिरा पसलहरुमा उपलब्ध छन् । त्यसैगरी, विदेशी ह्विस्की मात्रै सेवन गर्नेहरुको पनि विस्तारै नेपाली ह्विस्की रोजाईमा पार्न थालेका छन् ।

खासगरी वर्ल्ड दरबार, यार्सागुम्बा, बन्दीपुर, हिमालयन रिजर्भ, सिग्नेचर प्रिमियम, मास्टर्स सेलेक्सनलगायत केही नेपाली ब्राण्डहरु प्रिमियम हुन् । उक्त ह्विस्की तारे होटल तथा भीआईपी पार्टीमा खपत हुन थालेका छन् ।

 

तपाईको प्रतिक्रिया