शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बुधबार शुरुआत गरेका छन् । ७० औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित एक समारोहकाबीच उनले सो प्रणालीको शुभारम्भ गरेका हुन् ।

इपेमेन्ट प्रणालीको शुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइन मार्फत् नै तिर्न सक्ने भएका छन् । यसले घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व सङ्कलनमा समेत सहजता प्रदान गर्ने मन्त्री शर्माले विश्वास व्यक्त गरे । योसँगै ‘नयाँ युग’ को शुरुआत भएको पनि उनले बताए ।

‘व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचतलगातयका लागि यसले महत्वपूर्ण औजारको रूपमा काम गर्नेछ’, उनले भने, ‘यसले भन्सारमा काम गर्ने कर्मचारीहरूको काममा सुधार गर्न पनि मद्दत गर्नेछ ।’ त्यस्तै उनले भन्सार बिन्दुमा चाँडै ‘भेकल स्क्यानर’ प्रयोग गरिने पनि जानकारी दिए । उनले भन्सारको निरन्तर सुधार अन्तर्गत भेकल स्क्यानर ल्याउने कार्य अन्तिम चरणमा पुगेको बताए ।

मन्त्री शर्माले भेकल स्क्यानर मालवस्तुको जाँचका लागिमात्र प्रयोग नभएर राष्ट्रिय सुरक्षाको कुरासँग पनि जोडिने उल्लेख गरे । ‘हामीले इपेमेन्टको शुरुआत गरेका छौँ । छिट्टै नै हामी प्रमुख भन्सारहरूमा स्क्यानरको पनि सुरुवात गर्नेछौँ’, उनले भने, ‘कुन माल वस्तु आयो भनेर छुट्याउने कुरा मात्र होइन राष्ट्रिय सुरक्षाका लागि त्यो महत्वपूर्ण साधन हुनेछ ।’

सबै वस्तु आवश्यक पर्ने मात्र नआउने भन्दै उनले नेपाल र छिमेकी राष्ट्रहरूको सुरक्षामा खतरा हुन सक्ने वस्तुको निगरानीका लागि पनि स्क्यानर महत्वपूर्ण हुने उल्लेख गरेका छन् ।

उनले भन्सार बिन्दुहरूमा निजी क्षेत्रले माग गरे बमोजिम अन्तर्राष्ट्रिय मापदण्डको क्वारेन्टिन तथा प्रयोगशालाको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।

त्यसका लागि सरकार कामलाई अगाडि बढाउन प्रतिबद्ध रहेको उल्लेख गरे । साथै निजी क्षेत्रसँगको सहकार्यको निरन्तरता तथा निजी क्षेत्रको सुझावहरू सरकारले नीति निर्माणमा मार्गदर्शनका रूपमा लिने पनि विश्वास दिलाए ।

हरेक वर्ष २६ जनवरीका दिन अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउँदै आइएको छ । यस वर्ष पनि भन्सारलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने नाराको मूल भावसहित मनाइएको हो ।

तपाईको प्रतिक्रिया