बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडाैं – मेलम्चीको पानी पठाउन पाइप काठमाडौँका घरघरमा जोडिइसकेका थिए । ठाउँ ठाउँमा पानी वितरण केन्द्र खुलेका थिए भने काकाकुल उपत्यकाका जनता धाराबाट पानी आउने दिन गन्दै थिए ।

१ असारमा मेलम्ची नदीमा गेग्रानसहितको बाढी आयो । गेग्रानले जनता र बस्ती मात्रै पुरिएन, काठमाडौँले २२ वर्षदेखि पाल्दै आएको सपना पनि पुरियो । काकाकुल उपत्यकाका जनताले मेलम्चीको पानी चाख्नै नपाई काठमाडौँ आउने ढोका बन्द भयो ।

झण्डै ९० प्रतिशत काम सम्पन्न गरेर परीक्षणकालमा रहेको मेलम्ची खानेपानी आयोजनाले पानी वितरण गर्न पाएन । बाढीसँगै आएका ठूला ढुङ्गासहितको गेग्रानले आयोजनाका दुई सुरुङ र स्थायी रूपमा व्यवस्थित पानी पसाउनका लागि बनाइएको संरचना हेडवर्क्स नदेखिने गरी पुरियो । कङ्क्रिटका स्ट्रक्चर काम नलाग्ने गरी बिग्रिए ।

फेरि जाग्यो आशा
राजधानीवासीलाई पानी पुनः वितरण गर्ने गरी क्षतिग्रस्त मेलम्ची आयोजना काम शुरु भएको छ । क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको काम यसअघि नै निर्माण जिम्मा पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोले काम शुरु गरेको हो ।

अहिले निर्माण कम्पनीले बस्ने ठाउँ बनाउनुका साथै उपकरण ढुवानी गरिरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौड्यालले जानकारी दिए । बाढीले वासस्थानका साथै उपकरणसमेत बगाएको थियो । ‘सिनो हाइड्रोसँग यसअघिकै सम्झौता कायमै छ । सम्झौताको अवधि सकिएको छैन । सम्झौता अवधिसम्म उसैसँग काम गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘उसैमार्फत भेरिएसन भएर काम गर्न लागेको हो । नयाँ सम्झौताका लागि बोलपत्र निकाल्नु पर्दैन ।’

निर्देशक पौड्यालकाअनुसार पहिलेदेखि नै काम गर्दै आएको हुनाले सिनो हाइड्रोले काम गर्दा छिटो सम्पन्न हुनेछ । मेलम्ची पुनः सञ्चालनका लागि अर्थ मन्त्रालयबाट आवश्यक बजेटसमेत सुनिश्चित भइसकेको छ । काममा हुने खर्चअनुसार बजेट निकासा हुँदै जाने मन्त्रालयबाट प्रतिबद्धता भएको उनले बताए ।

मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालनमा ल्याउन तयार पारिएको कार्ययोजना सम्पन्न गर्न आवश्यक पर्ने डेढ अर्ब रुपियाँका लागि अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । यसअघि तीन महिनासम्म अस्थायी सुरुङमार्फत मेलम्चीको पानी काठमाडौँमा ल्याइएको थियो । बाढीले केही भाग पुरिएको अस्थायी सुरुङलाई सफा गरेर पुनः पानी ल्याइने उनको भनाई छ ।

उनकाअनुसार पानी ल्याउन बालुवा ढुङ्गाले पुरिएको ‘हेडवक्र्स’लाई समेत सफा गर्नुपर्ने हुन्छ । अस्थायी सुरुङ करिब दुई मिटर पुरिएको छ भने मुख्य सुरुङ सुरक्षित रहेको उनले बताए । ‘मेलम्चीको पानी ल्याउन हाम्रो निकायले र अरू निकायले गर्ने कामबारे कार्ययोजना तयार पारिएको हो । कार्ययोजनाअनुसार हामीले काम शुरु गर्दैछौँ,’ प्रवक्ता पन्तले भने, ‘कार्ययोजनाअनुसार काम सुरु गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सम्बन्धित मन्त्रालयबाट हुनुपर्छ ।’ यो आयोजनामा अहिलेसम्म करिब ३५ अर्ब रुपियाँ लगानी भइसकेको छ ।

तपाईको प्रतिक्रिया