शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडाैं – राजस्व अनुसन्धान विभागले पाँच साताअघि विदेशी विनिमय अपचलनसम्बन्धी एउटा अनौठो सूचना पायो । सुन्दा नै अनौठो र अचम्मको लाग्ने त्यस सूचनाका विषयमा अनुसन्धान प्रक्रिया अघि बढाउन राजस्वका अधिकारीहरूले थोरै पनि समय खेर फालेनन् । जब अनुसन्धानका क्रममा नयाँनयाँ तथ्य खुले, राजस्वका अधिकारीहरू नै तीनछक परे ।

राजस्वका अधिकारीहरूले पाएको सूचना यस्तो थियो- २५ वर्षका दिनेश खड्का नाम गरेका एक विद्यार्थी नेपाली रुपैयाँलाई डलरमा रूपान्तरण गर्दै विभिन्न ठाउँमा भुक्तानी गर्ने काम गर्छन् ।

राजस्व अनुसन्धान विभागका अधिकृतहरूले पाएको यो सूचना कच्चा खालको थियो । यही कच्चा सूचनाका आधारमा विभागले गरेको अनुसन्धानले भने प्रविधिको सहयोगमा हुने गरेको नयाँ खालको अपराधलाई सतहमा ल्याएको छ । नयाँ खालको अपराध अवैध अमेरिकी डलर अपचलनसँग सम्बन्धित छ । जसअनुसार नेपाली रुपैयाँलाई अमेरिकी डलरमा रूपान्तरण गरेर मोबाइल एपमार्फत अज्ञात ठाउँमा भुक्तानी गर्ने गरिएको थियो । यसलाई नेपालमा अवैध मानिएको छ । यसलाई क्रिप्टोकरेन्सीको कारोबार भनेर पनि भनिन्छ ।

आफूलाई प्राप्त सूचनापछि राजस्वका अधिकारीहरूले छानबिन थालेका २५ वर्षका युवक कैलालीको लम्कीचुहा-१० स्थायी ठेगाना भई हाल काठमाडौँ कालो पुल बस्ने दिनेश खड्का हुन् । अनुसन्धानका क्रममा उनलाई उसकी दिदी भगवती खड्का र बाबु नरबहादुर खड्काका साथै दिनेशकी साथी अनिता धितालले सहयोग गरेको खुलासा भएको छ ।

कैलालीका खड्का परिवार कुनै ठूलो आय स्रोत भएको परिवार होइन । व्यापार व्यवसायमा पनि लागेका छैनन् । डलरको अपचलनमा संलग्न दिनेश एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु पशुपति क्याम्पस इकाई सदस्य र उनका बाबु नरबहादुर एमाले सुदूर प्रदेश कमिटी सदस्य हुन् । यी व्यक्तिको खातामा तीन महिनाको अवधिमा ३७ करोड रुपैयाँ डिपोजिट भएको फेला परेपछि अनुसन्धान अधिकृत अचम्ममा पर्नु पनि स्वाभाविक नै थियो ।

अनुसन्धान निष्कर्षमा पुगेपछि यी चारै जनाविरुद्ध राजस्व अनुसन्धान विभागले सोमबार जिल्ला अदालत काठमाडौँमा विदेशी विनिमय अपचलनको आरोपमा मुद्दा दर्ता गरेको छ । कुल ३७ करोड ६४ लाख ११ हजार १ सय रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा राष्ट्र बैंकले जारी गरेको सूचनाविरुद्ध कसुर गरेको दाबीसहित विभागले मुद्दा दर्ता गरेको हो । विभागकाअनुसार मुख्य आरोपी खड्कालाई बिगो जफत गरी तीन वर्ष बराबरको कैद सजाय माग गरिएको छ । उनीहरूले मिलेमतोमा अनलाइनमार्फत अवैध रूपमा डलरको कारोबार गरेको पाइएको विभागले जनाएको छ ।

आरोपितहरूले तीन महिनाको अवधिमा ३७ करोड ६४ लाख ११ हजार १ सय नेपाली रुपैयाँलाई ३१ लाख २७ हजार ८९६.७९ सेन्ट डलरमा रूपान्तरण गरेर अनलाइनमार्फत स्रोत नखुलेको ठाउँमा भुक्तानी गरेको विभागले जनाएको छ ।

उनीहरूले सामूहिक रूपमा मिलेमतो गरी इ-स्क्रेल र निवांश प्रयोग गरी विदेशी विनिमय अमेरिकी डलरसम्बन्धी कारोबार गरेको पाइएको विभागले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विभिन्न मितिमा सामान्य व्यक्तिको बैंक खातामा अस्वाभाविक रूपमा पैसा भित्रिएपछि नेपाल राष्ट्र बैंकले सूक्ष्म रूपमा अनुसन्धान गरेको थियो ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार दिनेशको नाममा रहेको ग्लोबल आईएमई बैंकको खातामा ९ करोड ७९ लाख ९८ हजार ५ सय ८१, अनिता धितालको नाममा रहेको लक्ष्मी बैंकको खातामा ५ करोड ७७ लाख ६ हजार ८ सय २६, भगवती खड्काको नाममा रहेको एनआईसी एसिया बैंकमा २० करोड ४२ लाख ९४ हजार ५ सय २६ र नरबहादुर खड्काको नाममा रहेको ग्लोबल आईएमबई बैंकको खातामा १ करोड ६४ लाख ११ हजार १ सय रुपैयाँ बराबरको रकम भित्रिएको पाइएको छ ।

दिनेश, भगवती र नरबहादुर खड्काको बयानका आधारमा उनीहरूले ई-स्क्रिल र वाइनान्स नामक मोबाइल एपको प्रयोग गर्दै ठुलो रकमको डलर कारोबार गरेको विभागको अनुसन्धानले देखाएको छ । यी एप प्रयोग गर्दै डलर सटही कारोबार गर्ने गरेको देखिएको विभागले जनाएको छ । विभिन्न बैंकका बैंक स्टेटमेन्ट, बरामद भएका मोबाइलमा प्राप्त मिसिल संलग्न डाटालगायत कल डिटेल विवरणसमेतका मिसिल संलग्न प्रमाणबाट दुई एपमार्फत कारोबार गर्ने गरेको भेटिएको विभागले स्पष्ट पारेको छ ।

यस्तो कारोबार कानुनविपरीत रहेको भन्ने राष्ट्र बैंकबाट समेत पुष्टि भएको विभागले जनाएको छ । अनुसन्धान अधिकारीहरूका अनुसार मुख्य आरोपित दिनेशले आफू र आफन्तको नेपाली बैंकमा रहेको खातामा विभिन्न व्यक्तिबाट आएको नेपाली रुपैयाँ निक्षेपलाई एपमार्फत डलरमा विनिमय गर्थे । त्यसपछि स्रोत नखुलेको ठाउँमा भुक्तानी गर्ने गर्थे ।

अनुसन्धानका क्रममा प्राप्त मोबाइल, ल्यापटप र अन्य प्राविधिक उपकरणअनुसार ती खातामा भएको रकमलाई दिनेशले इस्क्रिल र विन्यासमार्फत लोड तथा अनलोड गरी डलरमा भुक्तानी गर्ने गरेको भेटिएको थियो ।

तपाईको प्रतिक्रिया