शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडाैं – विदेशमा बसिरहेका टोङ्गाका मानिसहरू प्रशान्त महासागरमा ज्वालामुखी विस्फोटन भएपछि आएको सुनामीपछि आफ्ना प्रियजनको अवस्थाको खबर व्यग्रताका साथ कुरिरहेका छन् ।

शनिवार टोङ्गाको राजधानी नुकु’आलोफाबाट झण्डै ६५ किलोमिटर उत्तरतर्फ पानीमुनि विशाल ज्वालामुखी विस्फोटन भएको थियो । जससँगै त्यहाँ सञ्चार सम्पर्क टुटेको थियो जसले क्षतिको वास्तविक अवस्था अझै थाहा हुन सकेको छैन ।

ज्वालामुखी विस्फोटन हुँदाको कम्पन अमेरिकासम्मै सुनिएको थियो र त्यसले टोङ्गासम्मै एक मिटरभन्दा अग्ला छालहरू निम्त्याएको थियो ।

कति क्षति भयो ?
स्थानीय अधिकारीहरूले अहिलेसम्म कुनै मृत्यु पुष्टि गरेका छैनन् । तर एक जना ब्रिटिश महिलाका परिवारले आफ्नो कुकुरलाई जोगाउन खोज्दा उनको छालमा परेर मृत्यु भएको जनाएको छ ।

अस्ट्रेलिया र न्यूजील्यान्डले गरेका हवाई अनुगमनले त्यहाँ उल्लेख्य क्षति पुगेको विवरण दिएका छन् । रेडक्रसले त्यहाँ स्वच्छ पानीको आपूर्ति मुख्य प्राथमिकता रहेको जनाएको छ । तर उसले आफूले सुरुमा चिन्ता गरेजस्तो ठूलो क्षति नभएको पाएको जनाएको छ । ज्वालामुखी विस्फोटन भएपछि ८०,००० मानिस प्रभावित भएका हुन सक्छन् ।

टुटेको सम्पर्क
प्रशान्त क्षेत्रका टापुहरूलाई बाँकी विश्वसँग जोड्ने पानीमुनिका महत्त्वपूर्ण तारहरूमा क्षति पुगेपछि टोङ्गा सम्पर्कविहीन बनेको छ । फोन र इन्टरनेट लाइन स्थापित गर्न दुई सातासम्म लाग्न सक्ने जनाइएको छ ।

समुद्री सतहको होचो भूभागमा रहेका दुई टापुहरू फोनोई र मान्गोबाट आएका खबर सुखद नरहेको राष्ट्रसङ्घले जनाएको छ । आकाशमा रहेको धुवाँको मुस्लोले गर्दा सहायता संस्थाहरूका स्याटलाइट फोनले समेत राम्ररी काम नगरिरहेको बताइएको छ । टोङ्गाको जनसङ्ख्या झन्डै एक लाख छ जहाँ १७० वटा टापुहरू सात लाख वर्ग किलोमिटरको क्षेत्रभित्र फैलिएका छन् ।

शनिवार ठूलो विस्फोटन हुनुअघि केही दिनदेखि ज्वालामुखी सक्रिय भइरहेको थियो । टोङ्गाको मौसम निकायले केही क्षेत्रमा सल्फर र एमोनियाको गन्ध आएको जानकारी आएको भन्दै चेतावनी जारी गरेको थियो । विज्ञहरूका अनुसार हुङ्गा टोङ्गा -हुङ्गा-हा’आपाई ज्वालामुखी धेरै दशकयता उक्त क्षेत्रमा विस्फोटन भएको एउटा शक्तिशाली ज्वालामुखी हो ।

उक्त ज्वालामुखी विस्फोटनका कारण जापान र अमेरिकासहित कैयौँ देशमा सुनामीको चेतावनी जारी भएको थियो । अमेरिकाका क्यालिफोर्निया र अलास्का राज्यका तटीय क्षेत्रसम्म बाढी पुग्यो । विस्फोटनपछि भूउपग्रहबाट प्राप्त तस्बिरमा परपर रहेका केही टापु पानीमा पूरै डुबेको सङ्केत देखिएको थियो ।

तपाईको प्रतिक्रिया