शनिबार, जेठ ०७, २०७९
Saturday, May 21, 2022

राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा विजयी भएसँगै नेपालको राजनीतिक वृत्तमा एकखालको तरङ्ग आयो । त्यसको एउटै कारण थियो- राप्रपामा पुस्तान्तरण । राप्रपाले केही हदसम्म फरक गरेको पनि भनिएको छ तर, उसका एजेण्डा र मुद्दामा भने नयाँपन देख्न सकिएको छैन । अब लिङ्देनले राप्रपालाई कसरी हाँक्लान् ? यो आम चासोको विषय छ । राजसंस्था र जनताबाट निर्वाचित प्रधानमन्त्रीको मुद्दा सडक र सदनबाट उठाउँछु भनेका उनी ‘नेतालाई चोर’ भन्छन् भन्ने अभिव्यक्तिले चर्चामा छन् । के नेतालाई चोर भनेको साँचो हो त ? अब राप्रपा कसरी अगाडि बढ्छ ? यिनै विषयमा केन्द्रित रहेर अध्यक्ष लिङ्देनसँग समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंश :-

अध्यक्ष हुँदाको चर्चा सेलाउन नपाउँदै तपाईँको अभिव्यक्ति चर्चामा आयो नि ?
वास्तवमा त्यो मेरो अभिव्यक्त होइन, जनतामाझ जाँदा उनीहरूले भन्ने गरेको कुरा हो । त्यो जनताले भन्ने गरेको कुरा र भावलाई मैले नेताहरूको सामु राखेको हुँ । यसमा धेरै टीकाटिप्पणी आए । सबैको जवाफ दिँदै हिँड्न मेरो नैतिकताले दिँदैन । ‘सत्य कुरा तितो हुन्छ’ उहाँहरूलाई यो कुराले बिझाएको होला । कांग्रेस महाधिवेशन उद्घाटन सत्रमा अब नेताहरूले चरित्र सुधार्नुपर्ने अवस्था आएको भनेको थिएँ । मैले प्रवृत्तिको कुरा गरेको थिएँ तर, नेताले आफैँलाई भनिएकोजस्तो चोरको खुट्टा काट भन्दा खुट्टा ताने । म गाउँघरमा जाँदाखेरी सामान्य मानिसको रूपमा जान्छु, अरूलाई भेट्दै कुरा गर्दै जाँदा कति मानिसहरूले त्यो परको भीड देखेर र यता मलाई नचिनेर के भन्छन् भने, ‘आज त्यहाँ कुन चाहिँ चोर आउन लाग्या रहिछ’ भन्छ । खासगरी राजनीति र नेताकाप्रति मान मानिसको धारणा राम्रो छैन, हामीले ठिक ढङ्गले काम गर्न सकेनौँ । अब हामीले सच्याउनुपर्छ है आफूलाई, हामी नसच्चिएसम्म देशको राजनीति सच्चिँदैन, देशको राजनीति नसच्चिईकन अरू थितिहरू बस्दैन भन्ने अर्थमा मैले भनेको थिएँ । म सानो चित्तले राजनीतिमा आएको होइन । हामीले गर्नुपर्ने काम अरू नै छ । राजनीतिक सुधारको आवश्यकता छ । अब आरोप-प्रत्यारोप गर्ने अवस्था छैन ।

५६ वर्षको उमेरमा एउटा पार्टीको अध्यक्ष हुँदा कस्तो अनुभव भइरहेको छ ?
मलाई चाहिँ गौरवको अनुभव भइरहेको छ । यो भुँईमान्छेले पनि मौका पाए नेतृत्व गर्न सक्छ, दिशा र दृष्टिकोण दिनसक्छ भनेर देखाउने मेरो लागि अवसर हो । म यसलाई पूर्णरुपले उपयोग गर्छु र म गौरवान्वित छु मूलतः ।

तर तपाईँको विजयपछि पार्टीको भविष्यमाथि नै संशय उत्पन्न भइरहेको छ । राप्रपा कति समयसम्म एक रहन्छ भन्ने प्रश्न पनि उब्जिएको छ नि ?
नवीन राप्रपा निर्माणको जुन सिलसिला हामीले प्रारम्भ गरेका छौँ, त्यो यस्तो चरणबाट अघिबढिसकेको छ कि कसैले पनि विभाजित गर्न सक्दैन । र बाहिर जे जति आशङ्काहरू आएका छन् ती निराधार हुन भन्ने म भन्न चाहन्छु । मलाई महाधिवेशनकै बेला पनि धेरै अग्रजहरूले अब पार्टी चाहिँ फुटाउन पाइँदैन है भनेर भनेका थिए, चिन्ता व्यक्त गरेको थिए र मैले भनेको थिएँ- कि पहिरो जाने पहाडमुन्तिर बस्ने मानिसहरुलाई जब बर्खा लाग्छ र एउटा भय उत्पन्न हुन्छ । ओहो ! अब बर्खा लाग्यो, अब बग्नेक्रम सुरु हुन्छ को-को बगिने होला भन्ने चिन्ता हुन्छ तर, त्यो पहाड पनि बग्नुको सीमा हुन्छ बग्दा–बग्दा पहाड नै नरहेपछि के बग्छ ? हाम्रो पार्टीको ३१ वर्षको इतिहासमा पनि फुट्दै, दुब्लिदै, खिइँदै यो बिन्दुको पुगेको छ कि एउटा राजनीतिक पार्टी योभन्दा के कमजोर हुने ? ३ प्रतिशत मतसमेत हामीले कटाउन सकेनौँ, राष्ट्रिय पार्टीसमेत बन्न सकेको अवस्था छैन । अब यसमा फुटाउने ठाउँ छैन, अब त अग्ल्याउने र बनाउने काम मात्रै बाँकी छ । त्यसकारण राप्रपालाई कसैले फुटाउन सक्दैन ।

कमल थापाको अभिव्यक्ति सुन्दा त त्यस्तो लाग्दैन । अब उहाँलाई कसरी समेट्नु हुन्छ ?
दुई निवर्तमान अध्यक्षहरू डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबराको पूर्ण साथ छ हामीलाई । अब रह्यो कमल थापाको कुरा- मलाई लाग्छ निर्वाचनमा प्रत्यक्ष प्रतिद्धन्द्धिको रूपमा सहभागी भएको हुनाले उहाँको लागि अनपेक्षित परिणाम आउँदाको प्रतिक्रिया हो । त्यसलाई मैले स्वाभाविक रूपमा लिएको छु । त्यसमा कुनै प्रतिक्रिया व्यक्त गर्नुपर्छ भन्ने मलाई लाग्दैन । यो पार्टी निर्माण गरेर उहाँहरूले विशाल पार्टी त बनाउन सक्नु भएन तर, यसलाई वैचारिक आधार प्रदान गर्नु भो, स्वरूप प्रदान गर्नु भो । आज राष्ट्रिय प्रजातन्त्र पार्टी जे छ, त्यसमा उहाँहरूको महत्त्वपूर्ण र अग्रणी भूमिका छ । त्यो मान्छेले यो पार्टी ध्वस्त होस्, समाप्त होस् भन्ने चाहनुहुन्छ जस्तो मलाई लाग्दैन । त्यतिमात्र होइन उहाँहरूले म जस्तो उत्तराधिकारी पनि निर्माण गर्नु भयो नि ? कमल थापा राजसंस्था पुनः स्थापना र हिन्दुराष्ट्रको मुद्दाले नै लोकप्रिय हुनुभएको हो । हामी सबै त्यही एजेण्डाको कारणले नै लोकप्रिय बनेका छौँ र, उहाँले यसको विकल्प रोजेर अरू कुनै बाटो रोज्नुहुन्छ म कल्पना पनि गर्न सक्दिन । समय र उमेरभन्दा ठूलो कोही पनि हुँदैन र उहाँलाई फेरि जरैबाट नयाँ पार्टी खोलेर काम गर्ने सुविधा पनि छैन र अर्को पार्टीमा गएर बस्ने सुविधा पनि छैन । त्यसकारण म कल्पना पनि गर्न सक्दिन कि उहाँले अर्को पार्टी निर्माण गर्नुहुन्छ, अलग पार्टीमा जानुहुन्छ । यस्तो कुरा गर्नुमात्रै पनि उहाँको अपमान हो भन्ने मलाई लाग्छ ।उहाँले एउटा गम्भीर प्रश्न उठाउनु भएको छ । पार्टीको महाधिवेशनमा निर्माण निवासले नाङ्गो हस्तक्षेप गर्‍याे भनेर, यो साँचो हो ?
एउटा पार्टीको सीमाभित्र राखेर त्यो पनि पार्टीको महाधिवेशनमा पूर्वराजालाई तान्नु भएको एकदमै दुखदायी विषय हो । राजसंस्थाको यसमा कुनै पनि हस्तक्षेप र भूमिका छैन । स्वाभाविक रूपले नेपालमा राजसंस्था चाहिन्छ भने पार्टीको महाधिवेशन हो, हाम्रो नेतृत्व होस् भनेर शुभकामना शुवेच्छाहरु थिए होलान् तर, त्यसप्रकारको यसलाई बनाउने-उसलाई बनाउने भन्ने खालको कुनै पनि हस्तक्षेप थिएन त्यो दुखद हो । वास्तवमा मेरो आदरणीय नेता हुनुहुन्छ कमल थापा, उहाँको कमजोरी भनेकै चाँडै प्रतिक्रिया व्यक्त गर्ने हो त्यही क्रममा उहाँको यो प्रतिक्रिया पनि आयो होला भनेर मैले ठान्छु । निर्मल निवास वा अरू कसैको हस्तक्षेप छ भन्नू त, राप्रपाका ती हजारौँ महाधिवेशन प्रतिनिधिहरू जसले नेतृत्व परिवर्तनको पक्षमा मतदान गरेर के सन्देश दिए भने- राप्रपालाई बुढाहरूको पार्टी, परम्परागत मान्छेहरूको पार्टी । यसले आधुनिकतालाई, परिवर्तनलाई आत्मसाथ नै गर्न सक्दैन भनेर जुन अभियोग लगाइन्थ्यो त्यहाँ परिवर्तनका पक्षधर र नयाँ युवाहरू जसले चाहिँ आफ्नो पार्टीभित्रका नेतृत्वमात्रै परिवर्तन गर्ने होइन, देशमै अब पुस्तान्तरणको बेला आयो र त्यसको नेतृत्व चाहिँ राप्रपाले गर्नुपर्छ भनेर निर्णय गर्ने तमाम महाधिवेशन प्रतिनिधिहरूको अपमान हुन्छ ।

दुईटा राप्रपा थियो ‘हलो र गाई’ पछि एकता भयो । यो एकता महाधिवेशनपछि गणतन्त्रवादी र राजतन्त्रवादी कसरी एड्जस् भए र अब कसरी अगाडि जानुहुन्छ ?
यो समस्या राष्ट्रिय प्रजातन्त्र पार्टीमा छँदैछैन नि । जुन बेला राप्रपाको एकीकरण भयो, या होइन अघिल्लो पटकको एकीकरण हुँदाखेरी गणतन्त्र, सङ्घीयता धर्मनिरपेक्षताको पक्षमा मतदान गरेका अर्को पक्षका साथीहरूले पनि राजसंस्था हिन्दुराष्ट्र र सङ्घीयताको बारेमा तत्कालीन राप्रपा नेपालले जे जडान लिएको थियो त्यसलाई स्वीकार गरेर अब राजसंस्था हिन्दुराष्टको पुन स्थापना र सङ्घीयताको खारेजी चाहिँ साझा मुद्दा हुनेछ भनेर स्वीकार गरेर पार्टी एकीकरण गरेको हो । र पछिल्लो एकीकरण पनि यसलाई स्वीकार गरेर सम्पन्न भएको हुनाले अब यसमा त कुनै सैद्धान्तिक समस्या छैन ।

यत्रो जनआन्दोलनबाट स्थापित संवैधानिक व्यवस्थालाई कुल्चेर फेरि राजसंस्थाको औचित्य छ भन्नुलाई धेरैले मजाक गर्न थालिसके । अब त्यो सम्भावना छ भन्नु चाहिँ असम्भव प्रायः हो भन्ने लाग्दैन ?
हामीले त आज भनेको होइन, ०६२-६३ को राजनीतिक परिवर्तनको राप चापको बेला जुन बेला राजसंस्था हिन्दुराष्ट्रको कुरा गर्दा जिब्रो थुतिने अवस्था थियो त्यो बेला नै नेपालमा कुनै न कुनै प्रकारको राजसंस्था र हिन्दुराष्ट्र चाहिँ अपरिहार्य छ । यो कुनै व्यक्ति विशेषलाई राजा बनाउने अथवा कुनै जात विशेषले मान्ने धर्म स्थापित गर्ने कुरा मात्रै होइन, राजसंस्था र हिन्दुराष्ट्र भनेको नेपालको स्थायित्वको आधार हो । त्यसकारण राजसंस्था र हिन्दुराष्ट्रको अभावमा कालान्तरमा हाम्रो स्थायित्वमा खतरा उत्पन्न हुनसक्छ, त्यसकारण जसलाई मास्नु हुँदैन भनेर भनेका थियौँ । अहिले आएर त समयक्रमले त्यो सत्य पनि प्रमाणित हुँदैगयो । यो मुद्दा जनताको बिचमा लोकप्रिय पनि बन्दै आएको छ । मलाई लाग्छ यो राप्रपाको अथवा केही मानिसहरूको आवश्यकता भन्दापनि देशकै आवश्यकताका कुरा भएको हुनाले ढिलोचाँडो सल्लाह सहमतिबाट नभए चाहिँ जनताको आन्दोलनबाट, सडक संघर्षबाट हिन्दुराष्ट्र र राजसंस्था पुन स्थापना हुन्छ ।

यहाँले अध्यक्ष भइसकेपछि पहिलो अभिव्यक्तिमा नै राजसंस्था र हिन्दुराष्ट्र पुन स्थापनाको एजेण्डा लिएर सडकमा जान्छौँ भन्नुभयो । त्यो भन्नुलाई अहिलेको संविधानले अनुमति दिन्छ ?
संविधानले दिएको सुविधाअनुसार नै हामी बोलिरहेका छौँ कि, अहिलेको संविधानमा गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयतालगायतका कुनै पनि विषयहरू अपरिवर्तनीय छैनन् । नेपाली जनतामा निहित सार्वभौमसत्ता, राष्ट्रिय अखण्डताबाहेकका अरू कुनै पनि विषयहरू नेपाली जनताले, नेपालको संसद्ले आवश्यकता ठानेको बेला परिवर्तन गर्न सक्छन् । र त्यही संवैधानिक सुविधा लिएर नै हामीले यो परिवर्तनको कुरा उठाइराखेका छौँ । सडक र सदन जताबाट छिटो हुन्छ हामी त्यो मोर्चामा लाग्छौँ र दुवै मोर्चालाई हामीले प्रयोग गर्छौँ । अहिले सदनमा जुन हाम्रो पार्टीको कमजोर उपस्थिति छ त्यसलाई आगामी चुनावमा सुधार्ने र बलियो पार्टीको रूपमा राप्रपालाई स्थापित गर्ने, संसद्मा पनि उत्तिकै प्रयास गर्ने र सडक आन्दोलन पनि चर्काइराख्ने, यो दुवै बाटो हामी लिएर जान्छौँ ।

राजसंस्था पुन स्थापनाको औचित्य के छ ?
किन नहुनु ? राजसंस्थाको अभावमा आज जुन प्रकारको वैदेशिक हस्तक्षेप बढेर गएको छ, जसरी हाम्रो राष्ट्रिय एकतामा खतरा उत्पन्न भएको छ, त्यो सबै कुराहरूलाई दृष्टिगत गर्ने हो भने राजसंस्थाको औचित्य र आवश्यकता झन् झन् प्रमाणित हुँदै गएको छ र राजसंस्था ढिलो चाँडो पुनःस्थापित हुन्छ यसमा चाहिँ कुनै शङ्का गर्नु पर्दैन । हामीलाई राजाले भनेर राजसंस्थाको कुरा गरेको पनि होइन, नेपालको सन्दर्भको अभिभावकिय संस्थाको रूपमा राष्ट्र प्रमुखको ठाउँमा राजसंस्था हुनु नितान्त राम्रो हुन्छ, जसले हामी सबैलाई जोड्छ र वैदेशिक हस्तक्षेपबाट जोगाउँछ मात्रै होइन त्यसको कारणले देशमा स्थापित हुने स्थिरताले देशमा शान्ति, विकास र अमनचयनका अरू बाटाहरू खुलेर जान्छन् ।यो त एउटा चुनावी नारामात्रै हो । राप्रपाले राजसंस्थाको नारा, कम्युनिस्टले साम्यवादको नारा दिनु अर्को कांग्रेसले प्रजातान्त्रिक समाजवादको नारा दिनु यी देखाउनु लड्डु हुन् । जनतालाई यी तीनै कुरा आउँदैनन् भन्छन् नि ?
होइन, राजसंस्थाको मुद्दा हामीले भोटको लागि बोकेको होइन । ०६२-६३ सालको जनआन्दोलनपछि त राजसंस्थाको कुरा गर्दा ज्यान जानसक्ने अवस्था थियो, म स्वयम् चाहिँ सडकमा निर्घात कुटिएर मर्‍याे भनेर फालिएको मान्छे हुँ राजा चाहिन्छ भनेबापत । त्यसकारण भोट पाउने कुरा त झन् परको कुरा थियो । हामीले राजाको कुरा गर्दा भोट पाइन्छ, चुनाव जितिन्छ भनेर भन्दा पनि देशको आवश्यकता हो । यो नेपालको स्थायित्वको आधार हो भनेर हामीले भनेको हुनाले यसलाई भोटसँग जोड्नु हुँदैन । किनभने भोलि राजसंस्था पुन स्थापना भयो भने पनि अबको राजाले कसैलाई प्रधानमन्त्री नियुक्त गर्ने, कसैलाई मन्त्री नियुक्त गर्ने हुँदैन । संविधानको परिधिभित्र रहने संवैधानिक राजसंस्था भन्नेबित्तिकै त मैले एक कदम अगाडि बढेर के भनेको छु भने राष्ट्र प्रमुखको रूपमा राजसंस्था रहने जनताले सोझै निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री । पूर्ण समानुपातिक संसद्, संसद्ले मन्त्री हुन नपाउने व्यवस्था भनेपछि त सम्पूर्ण अधिकार जनता जान्छ नि ।

अलिकति फरक प्रसङ्गमा जाऊ । यहाँहरूको पार्टीबाट अन्त जाने चाहिन् प्राय देखिन्छ तर, अरू पार्टीबाट तपाईँको पार्टीमा आउन एकदमै कम देखिन्छ । त्यो किन ?
त्यस्तो छैन, अहिले पछिल्लो समय ठूलो संस्थामा कांग्रेस, एमाले माओवादीमा रहेका युवाहरू पार्टीका प्रवेश गर्ने लहर चलेको छ । त्यसकारण अरू पार्टीबाट आउनेक्रम छैन भन्ने होइन, विगतमा केही हाम्रा कार्यशैलीगत त्रृटिहरु थिए जसले हाम्रो एजेण्डालाई मन पराएर पनि कतिपय कुरामा विश्वास गर्न सकिरहेका थिएनन् र अड्किराखेको थियो । अहिले त्यो सबै चिज खुलेको छ र अन्य पार्टीबाट आउनेक्रम चाहिन् तीव्र रूपमा बढेर गएको छ र केही समयमा राम्रोसँग अनुभूत गर्नसक्ने गरी देख्न पाउनुहुन्छ ?

अन्त्यमा यहाँको पार्टीको विकासको एजेण्डा अथवा खाका नेपाललाई यसरी अगाडि बढाउँछु भन्ने, त्यो विषयमा कत्तिको होमवर्क गर्नु भएको छ ?
एकदमै हामी स्पष्ट छौँ कि नेपाल जस्तो सानो देश जहाँ चाहिन्, यो तीन तहको सरकार छ त्यो उपयुक्त छैन । दुई तहको सरकार- केन्द्र र बलियो स्थानीय तह भए पुग्छ । र अहिले देशको सबैभन्दा ठूलो समस्याको रूपमा रहेको भ्रष्टाचार कि पूर्ण रूपमा भ्रष्टाचारमुक्त शासन प्रशासन हुनुपर्छ । हिजो अन्त्य सुन्दर सपनाको रूपमा सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षतालाई प्रस्तुत गरियो । तर त्यो गलत रहेछ, भ्रम रहेछमात्रै होइन यी सबै अस्थिरताका पोकाहरू रहेछन् भन्ने कुरा चाहिन् अहिले आएर प्रमाणित भयो नि ! यो सङ्घीयता कार्यान्वयन भएयताको चार वर्षको अवधिमा राष्ट्रिय ऋण दोब्बर भयो, ४ वर्ष अगाडि ८ खर्ब थियो भने अहिले १६ खर्ब पुग्यो त्यसमाको अधिकांश पैसा तीन तहको जनप्रतिनिधिहरूलाई पाल्नमा उनका सहयोगी, सवारी साधन र संरचनालाई चलाउनमा मात्रै खर्च भएको छ । र योक्रम निरन्तर रूपमा रहिराख्छ भनेपछि ऋणको कुरा मात्रै होइन हामीले तिर्ने करको दायरामा कुन प्रकारको वृद्धि भएको छ ? यो सबैलाई थाहा भएकै कुरा हो । यी सबै कुराले गर्दाखेरी कालान्तरमा यो सङ्घीयता ऋणको भारी बोकाउने मात्रै होइन, राष्ट्रिय अर्थतन्त्रलाई नै घुँडा टेकाउने अस्त्र बन्नेसक्ने स्पष्ट देखिएको छ । त्यसकारणले सङ्घीयता गणतन्त्र हिजो सुन्दर सपनाको रूपमा जसरी प्रस्तुत गरियो व्यवहारमा आइपुग्दाखेरी त्यो भ्रम रहेछ भन्ने स्पष्ट भएको हुनाले अब त्यो गलत बाटो सच्चाउनु पर्‍याे हामीले । कसैले एकात्मक राज्य व्यवस्था भन्नुस्, कसैलाई सङ्घीयता भन्ने शब्द प्यारो छ भने सङ्घीयता भन्नुस् केही छैन तर, तीन तहको सरकार होइन नेपालको लागि दुई तहको सरकार भए पुग्छ ।

तपाईको प्रतिक्रिया