बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

पछिल्लो दशकमा सबैभन्दा फस्टाएको बजार भनेको सूचनाको बजार हो भन्दा बढ्ता नहोला । खासगरी नेपाली समाजले यो उपलब्धिबाट सूचना र चेतनाको बिकासमा उत्पातै छलाङ् मारेको पाईन्छ । अबका पाठक कुनै पनि प्रकाशन गृहले पस्केको अझ भनौ थोपरेको समाचार सामग्रीमा भर पर्नुपर्ने र पर्खेर बस्न नपर्ने भएका छन् । उनीहरुले आफ्ना हातेफोनमा अर्थात कुनै डिभाइसमा चाहेको बेला आफ्ना रुचीका बिषय खोजेर हेर्न, पढ्न र सुन्न सक्ने भएका छन् । तथापि नेपाली मनोविज्ञान भने अझै अपेक्षित सकारात्मक बन्न सकेको पाईदैन । तथ्यहिन र स्तरहिन नै किन नहोस् पाठकको मनोविज्ञान अझै नकारात्मक सामग्रीलाई बढि महत्व दिने खालको नै पाईन्छ । सूचनाको बजारमा भेटिने यो एउटा तितो यथार्थ हो । समाजमा केहि गर्न चाहनेहरुले केहि पनि नगर्नेहरुको बारम्बार जबाफ दिएर समय खेर फाल्नुपर्ने स्थितिको निर्माण हुनु हाम्रो सस्तिएको सूचना बजारको अर्को परिणाम हो भन्न सकिन्छ । तथापि जे भयो त्यसलाई उल्ट्याउन त सकिँदैन तर त्यसबाट सिक्न भने अवश्य सकिन्छ ।

सन्दर्भ, हामी कोभिड-१९ को तेस्रो भेरियन्ट ओमिक्रोनको अर्को महासंकटको सन्निकटमा छौं । यसबाट जताततै देखिएको संक्रमणको तीब्र दर हेर्दा आसन्न संकटलाई हामी सबैले गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ । तर हामी बिषयको गाम्भीर्यतालाई त्यहिअनुसार लिन सकेनौ कि भन्ने चिन्ता र चासो पनि यतिबेला पर्गेल्नै पर्ने भएको छ । सोहीअनुरुप हामी सञ्चारकर्म गर्नेहरुले पनि आफु बसेको समुदायलाई सचेत बनाउन निरन्तर खबरदारी गर्नुपर्ने देखिन्छ । विगतका अनुभवबाट सिक्दै अगाडि बढ्न महामारीले हामीलाई सिकाएको अर्को पाठ हो । त्यसोभएको हुँदा उच्च सतर्कता अपनाई मापदण्ड पालना गर्नमा हेलचेक्र्यांई नगर्न हामी आम नेपाली समुदायलाई अपिल गर्न चाहान्छौं । अब पनि हेलचेक्र्यांई गरियो भने हाम्रा लागि निकै महँगो पर्नसक्छ अर्थात अवस्था झन भयावह हुनसक्छ । कोभिडले थलिएको जनजीवन र अर्थतन्त्र तंग्रिन नपाउँदै अर्को महामारी वा बन्दाबन्दी धान्न अब त्यति सजिलो पक्कै छैन । तसर्थ यस्तो बेलामा नेपाली समाजका अगुवाहरुबाट पनि सोही अनुसारको जिम्मेवार भूमिका अपेक्षित छ ।

महामारीमा मिडियाको प्रसंग चल्दा यहाँ कुनै प्रतिस्पर्धाको बिषय अब प्रधान रहेन । पाठकहरुको रुची अब यति धेरै फराकिलो भईसकेको छ कि मिडिया क्षेत्रले अब नयाँ ढंगले सोच्न बाध्य हुनुपर्ने अवस्था छ । जनजीवनसंग नजोडिएका बिषयहरुमा पाठकहरुको दिनप्रतिदिन बिश्वास घट्दो छ । त्यसकारण पनि महामारीमा सर्बसाधारणले मापदण्डको पालना गर्नु महत्वपूर्ण भएझै मिडिया बजारले पाठकको रुची र आवश्यकतालाई पनि उच्च प्राथमकितामा राखिनु अपरिहार्य भईसकेको छ । डिजिटल क्रान्तिको अकल्पनीय बिस्तारले गर्दा बढेका पाठकका असीमित रुचीलाई सम्बोधन गर्न अब हामी सञ्चारकर्ममा लागेकाहरुले पनि कार्यशैली परिवर्तन गर्नुपर्ने भएको छ । पाठकले मिडियालाई पछ्याउने हिजोको युग आज ठीक उल्टो भएर मिडियाले पाठक पछ्याउनुपर्ने भएको छ । आजसम्म बिस्तारै बोलेर काम चल्छ भने किन चिच्याउने भनिन्थ्यो अब जमाना त्यो रहेन, कथाले मागेअनुसार चिच्याउन पर्ने भएमा चिच्याउने र हाइफाइ नगरेसम्म पाठकको कानसम्म पुग्न नसकिने स्थिति नआउला भन्न सकिदैन ।

समुदायलाई सचेत बनाउने मिडियाको पहिलो धर्म हो । अझ महामारीको बेला मिडियाले थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । जसरी सन् २०११ को महाभूकम्प र सुनामीका बेला जापानको नेपाली समुदायलाई सुसूचित बनाउने कार्यमा यहाँको मिडिया क्षेत्रले खेलेको भूमिका सह्रानीय रह्यो । मानव जीवननै पलपल जोखिममा पर्न सक्ने महामारीको संवेदनशील अवस्थामा मिडियाले खेल्नुपर्ने भूमिका, प्राथमिकताका क्षेत्र, बिषयवस्तु र सामग्रीको छनौट, समस्याका पहिचान र र समुदायको अपेक्षा लगायतका बिषयमा पनि मिडिया र समुदायबीच समय समयमा बहस, छलफल र अन्तरंग हुनु आवश्यक छ । त्यसतर्फ पनि सम्बन्धित सबैको बेलैमा यथोचित ध्यान जान सके असल परिणामका लागि थप मदत पुग्ने छ । समग्रमा हामी सबैले आ-आफ्नो ठाउँबाट जिम्मेवारी, जबाफदेहिता र कर्तब्यबोधलाई केन्द्रमा राखौ र संक्रामक महामारीसंग खेलाँची नगरौ ।***

तपाईको प्रतिक्रिया