शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडाैं – कोभिड महामारीको त्रास कम हुँदै गएपछि सन् २०२१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर १४ लाख ४३ हजार सात सय ४९ अन्तर्राष्ट्रिय यात्रुले हवाई यात्रा गरेका छन् । एक वर्षमा ११ हजार सात सय ६० अन्तर्राष्ट्रिय उडानमार्फत यी यात्रुहरूले नेपालसहित विभिन्न मुलुकमा यात्रा गरेका हुन् ।

यो अवधिमा दुई हजार सात सय ३० यात्रुले ट्रान्जिट सुविधा लिएका छन् । सन् २०२१ मा सात लाख ४५ हजार नौ सय नौ यात्रु त्रिभुवन विमानस्थल भएर विभिन्न मुलुकमा पुगेका छन् भने ६ लाख ९५ हजार एक सय १० यात्रु विभिन्न मुलुकबाट नेपाल आएका छन् । यी यात्रुलाई बोक्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजले पाँच हजार आठ सय ७८ उडान र पाँच हजार आठ सय ८२ अवतरण गरेका थिए । एक वर्षमा स्वदेशी तथा विदेशी २८ भन्दा बढी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले त्रिभुवन विमानस्थलमा उडान-अवतरण गरेको तथ्यांक छ ।

धेरै यात्रु बोक्नेमा कतार पहिलो
गत वर्ष सबैभन्दा धेरै यात्रुहरू बोक्नेमा कतार एयरलाइन्स पहिलो बनेको छ । कतारले एक वर्षमा तीन लाख तीन हजार पाँच सय ५६ यात्रु बोकेको को त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । यस्तै, दुई लाख ८४ हजार नौ सय ६१ यात्रु बोकेर नेपाल वायुसेवा निगम (नेवानि) दोस्रो बनेको छ भने दुई लाख ५५ हजार ६ सय ७८ यात्रु बोकेर हिमालय एयरलाइन्स तेस्रो बनेको छ । यो अवधिमा फ्लाई दुबईले एक लाख ५० हजार दुई सय ९१ यात्रु बोकेको छ भने एयर अरेबियाले ९९ हजार सात सय ९५ यात्रु बोकेको छ ।

दोस्रोमा नेपाल एयरलाइन्स
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई यात्रु ओसारपसारमा निजी क्षेत्रको हिमालय एयरलाइन्सले पछ्याइरहेको छ । सन् २०१९ को डिसेम्बरमा हिमालय एयरलाइन्सले करिक पाँच हजार यात्रु धेरै बोकेर नेपाल एयरलाइन्सलाई पछाडि नै पारेको थियो । डिसेम्बरमा हिमालयले चार सय तीन उडान-अवतरण गरी ३५ हजार आठ सय ८९ यात्रुलाई सेवा दिँदा निगमले दुई सय ४९ उडान-अवतरणमार्फत ३० हजार नौ सय ९६ यात्रुलाइ सेवा दिएको थियो ।

तर, समग्र एक वर्षको तथ्यांक हेर्दा हिमालय एयरलाइन्सले भन्दा नेपाल एयरलाइन्सले करिब ३० हजार यात्रु बढी बोकेको देखिन्छ । यात्रु संख्यामा पछाडि परे पनि कार्गो ढुवानी र धेरै उडान-अवतरण गर्नेमा हिमालयले नेपाल वायुसेवालाई जितेको छ । सन् २०२१ मा हिमालयले विभिन्न मुलुकमा दुई हजार ६ सय ४४ उडान-अवतरण गर्दा नेपाल वायुसेवाले एक हजार नौ सय ४९ उडान-अवतरण गर्न सकेको छ ।

तपाईको प्रतिक्रिया