शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडाैं – मध्य युरोपेली मुलुक अस्ट्रियामा इच्छा मृत्यु रोज्न पाउने कानून लागू भएको छ । असाध्य रोग लागेका वा कमजोर शारीरिक अवस्थामा पुगेका वयस्कहरूले यो सातादेखि अरूको सहयोग लिएर आत्महत्या गर्ने प्रावधानको प्रयोग गर्न पाउने भएका हुन् ।

तर यो अभ्यासलाई कडा नियमन गरिने जनाइएको छ । आत्महत्या रोज्ने प्रत्येक निर्णयलाई दुई चिकित्सकले मूल्याङ्कन गरेपछि मात्रै स्वीकृति दिइने जनाइएको छ । ती चिकित्सकमध्ये एक जना प्यालीअटिभ केअर अर्थात् गम्भीर रोग हुँदा उपलब्ध गराइने विशेष हेरचाहसम्बन्धी विशेषज्ञ हुनुपर्छ ।

मानिसहरूले अन्य विकल्प रहेसम्म मृत्यु नरोजुन् भनेर सरकारले त्यस्तो हेरचाहका लागि कोषमा रकम विनियोजन गरेको अधिकारीहरूले बताएका छन् । संवैधानिक अदालतको निर्देशनपछि गत महिना त्यहाँको संसद्‌ले यस सम्बन्धी कानुन बनाएको थियो । आफ्नै जीवन समाप्त गर्नका लागि मानिसहरूलाई कुनै सहयोग उपलब्ध गराइने आत्महत्या अस्ट्रियाको छिमेकी स्वीट्जरल्यान्डमा यसअघि नै वैधानिक छ ।

स्पेन, बेल्जियम र नेदरल्यान्डसहित धेरै युरोपेली मुलुकमा आत्महत्याको यो तरिकालाई अपराध मानिँदैन । यद्यपि चिकित्सकको अनुमतिबिना अरूको सहयोग लिएर गरिने आत्महत्या अस्ट्रियामा अझै पनि गैर कानुनी छ । नयाँ कानुनले बालबालिका र मानसिक समस्या भएका व्यक्तिहरूलाई आत्महत्या रोज्न रोक लगाएको छ ।

तपाईको प्रतिक्रिया