शुक्रबार, आषाढ ०१, २०८१
Friday, June 14, 2024

हरेक वर्ष आउने नयाँ वर्ष शुभकामना आदान प्रदान र औपचारिकताका शृङ्खला मै बित्ने गरेका छन् । यो पटक पनि हामीले पृथक अपेक्षा गर्न त नसकिएला किनभने वीजारोपण बिना फलको आशा गर्नु मूर्खता नै हो । तर प्रयासको थालनी भने अवश्य गर्न सकिन्छ । नेपाली समाजको मनोविज्ञान बडो विचित्रको छ, जुन बाह्य दुनियाँमा विरलै देख्न पाईन्छ । औपचारिकताका नाममा हामीले निरन्तरता दिदैं आएका कतिपय सँस्कारमा निर्मम ढंगले परिवर्तनको जरुरी छ । शुभकामना आदान-प्रदान गर्दा यो वर्ष कुनै एउटा नयाँ काम गर्ने अठोट पनि गरौं । आफुमा भएका कमी कमजोरीलाई नदोहोर्‍याउने प्रण गरौं । सानै भएपनि देशका लागि मैले यो योगदान गर्न सक्छु भनेर सार्बजनिकरुपमै घोषणा गरौ । यसो गरे कसो होला ?

कुनै पनि जिम्मेवारीमा पुगेको ब्यक्तिलाई उसको जिम्मेवारी के हो पहिले त्यो पूरा गर्न दिऔं । महिनौसम्म खादा, माला, अबिरजात्रा, स्वागत र बधाईको नाममा लम्बेतानको लोकाचार बन्द गरौं । निजले काम गरेर देखाओस् न पहिले त्यसपछि भने दिनुपर्ने सबै दिन कञ्जुस्यांई  गर्नुहुँदैन । नेपालतिर महाधिवेशनको सिजन चलेको छ, अब नेतागणको बधाई र स्वागतमै नेपाली समाजले कति महिना खर्चनुपर्ने हो, जुन पटक्कै आवश्यक छैन । अन्य देशहरुमा यस्ता अनुत्पादक भद्दा स्वाङ् विरलै देखिन्छन्, उनीहरु आफ्नो काम र जिम्मेवारीमा फोकस गर्दै अगाडि बढ्छन् । नेपाली समाजले पनि यो सँस्कार सिक्न जरुरी छ । अरु कुरामा विदेशको नक्कल गर्न माहिर नेपाली समाज यस्ता काम लाग्ने कुरामा झन किन ध्यान नगएको होला ?

सूचना र प्रविधिको अत्यधिक बिकासले दिएको सुविधा उपयोग गर्दै सोही अनुसार आफ्नो सोच र चिन्तनलाई पनि उन्नत बनाउन सकेनौ भने आफु बाँचेको समय डिजिटल जमाना भएर पनि त्यसको खासै अर्थ रहँदैन । नयाँ प्रयोग आफैमा चुनौतीको नाम हो । नेपाली समाजको वर्ग चरित्र नयाँ चीज र परिवर्तनलाई सहजै स्वीकार गर्न नसक्ने खालको पाईन्छ । तथ्यहरुले पुष्टि गरेअनुसार विज्ञान, प्रविधि र गणित कहिलै गलत हुनै सक्दैनन् । तथापि हाम्रो नेपाली समाज कता जाँदै छ भन्ने बिषयमा घोत्लिने हो भने चित्त बुझाउने ठाउँमा पुग्नै सकिदैन । प्रविधिले हामीलाई सित्तैमा आफुलाई मन लागेको बेला मन लागेको सामाजिक सञ्जालमा चाहेजति विचरण गर्ने सुविधा दिएको छ । यो सुबिधा हिजोका पुस्ताले पाएको भए केही न केही चमत्कार गर्नेथिए होलान् । ज्ञानको भण्डार बढाउन उनीहरुसंग नयाँ-नयाँ पुस्तक किनेर पढ्नुको अर्को विकल्प थिएन । तर आज हाम्रो पुस्तामाझ सबैथोक भएर पनि त्यसको सहि अर्थमा सदुपयोग गरेका छौं त ? सित्तैमा पाएको सुबिधा उपयोग गर्दै हामीले संप्रेषण गर्ने सन्देशहरु के कति उपयोगी, सूचनामुलक र तथ्यपरक छन्, दिन खोजेको खुराक के हो र त्यो पढिसकेपछि पाठकले बनाउन सक्ने धारणा के हुन सक्छ ? यसबारेमा हामीले कहिलै विचार गरेनौं । औसतमा भन्ने हो भने मनका कुण्ठा, उकुस-मुकुस, छेडछाड, घोचपेच र आफै मात्र सर्बज्ञानी भएको छनक दिने महावाणीहरु नै हाम्रा नियमित पकवान बन्ने गरेका छन् । न त भाषिक दृष्टिले हामी सुधारिने बाटोमा हिड्ने जमर्को गरेको गुञ्जायस भेटाउँछौं । त्यसो भएको हुनाले हामीले पूरानो ढाँचा र ढंगबाट बिस्तारै नयाँ र प्रविधिमा अभ्यस्त तर अति उपयोगी जीवनशैली तर्फ यात्रा तय गर्नुपर्दछ । त्यो भनेको सोच र चिन्तनको स्तर उकास्नु हो । नयाँ नयाँ प्रविधिको प्रयोगबाट जीवनलाई उन्नत बनाउन अधिकतम प्रयास गर्नु हो ।

हरेक वर्ष फेरिने भित्ते क्यालेण्डरको पानासंगै आफ्नो मनको भित्ता पनि फेरिनुपर्छ, पत्र-पत्र परेर खात लागेका हाम्रा पूराना विचार जसले बेकारमा ठाउँ मात्र ओगटिरहेका छन्, उत्पादन दिन सक्दैनन् भने त्यो ठाउँमा नयाँ विचारको वीजारोपण गर्नुपर्दछ । सँधै अरुलाई उपदेश दिएर नथाक्ने नेपाली सँस्कारबाट छलाङ मार्दै पहिले आफु सुध्रिएको रोलमोडल बनेर उभिन सक्नुपर्दछ । हामी यहि संकल्पका साथ आउने वर्षलाई जीवनकै सर्वाधिक सार्थक वर्ष साबित गर्न सकौं, नयाँ वर्षको हार्दिक शुभकामना !

तपाईको प्रतिक्रिया