शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – एभरेष्ट इन्टरनेशनल स्कुल जापानले वार्षिकोत्सव तथा नव आगन्तुक विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम सम्पन्न गरेको छ । जापानमा नेपाली पाठ्यक्रम अनुसार अध्यापन गराउँदै आएको स्कुलले नवौँ वार्षिकोत्सव तथा नव आगन्तुक विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम एक समारोहकाबीच सम्पन्न गरेको हो ।

स्कुलले हालैमात्र नेपाल सरकारबाट कक्षा ११ र १२ को स्वीकृति प्राप्त गरेको थियो । सोहीअनुसार कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको हो । कार्यक्रमको उद्घाटन स्कुल सञ्चालक समितिका अध्यक्ष भवन भट्टले गरेका थिए । त्यसपछि नेपाल र जापानको राष्ट्रिय गानसँगै कार्यक्रम सुरु भएको थियो ।

स्वागत तथा कार्यक्रममाथि टिप्पणी स्कुलका प्रधानाध्यापक विष्णुप्रसाद भट्टले राखेका थिए । कार्यक्रममा जापानका लागि कार्यवाहक नेपाली राजदूत अम्बिका जोशीले पनि मन्तव्य राखेका थिए । स्वागत तथा सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए भने भाषण, साहित्यिक प्रस्तुति तथा आफ्नो सीप र कला प्रदर्शन गरेका थिए ।

सन् २०१३ मा स्थापना भएका स्कुलले विद्यार्थीहरूले नेपाली, अङ्ग्रेजी र जापानी गरी तिनवटै भाषामा उत्तिकै दखलता राख्न सकुन् भन्ने उद्देश्यले सम्बन्धित विषयहरू तत्-तत् भाषाका मातृभाषी शिक्षकहरूबाट अध्यापन गराउँदै आएको छ ।

तपाईको प्रतिक्रिया