बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

‘खल्तीबाट पैसा चोर्ने, बिँडी पिउने, दुर्गुण सिक्ने बेलामा मेरो उमेर १२/१३ वर्षको थियो होला । तेस्रोचोटि मेरो चोरी मांसाहारी दाजुको सुनको बालाको टुक्राको थियो । उनलाई लगभग २५ रुपैयाँको मामुली कर्जा लागेको थियो । त्यसको भुक्तानीका बारेमा हामी दाजुभाइले सोचिरहेका थियौँ । मेरो दाजुका हातमा सुनका खँदुवा बाला थिए, त्यसबाट एक तोला झिक्नु ठूलो कुरा थिएन । बाला काटियो कर्जा तिरियो तर मेरा लागि यो कुरा असह्य भयो । मैले भित्रभित्रै निश्चय गरेँ कहिल्यै चोरी गर्ने छैन । मलाई लाग्यो- मैले यो कुरा पिताजीलाई भन्नुपर्छ । मुख खुलेन । मैले चिठ्ठीमा दोष कबुल गर्दै सजाय माग गरेँ । चिठ्ठी दिँदा मेरा हात कामेका थिए । उहाँले चिठ्ठी पढ्नुभयो । आँखाबाट आँसु झार्नुभयो । चिठ्ठी आँसुले भिज्यो । म पनि रोएँ । बुबाको दुख बुझे  । यदि म चित्रकार हुन्थेँ भने त्यो चित्र आज राम्रोसँग तयार गर्न सक्थेँ ।’ -गान्धीको आत्मकथा पान सिगरेटको दुकानमा रेडियोले प्रसारण गरेको सुनेँ- गान्धीको मृत्यु भयो । म ह्याण्ड ग्रिनेड लिएर पर्खिरहेको छु । एउटाले दिएर गइसक्यो र अर्कोले लिन लागिरहेको थियो । मलाई कत्रो ठूलो अँध्यारो महसुस भइरहेको थियो । गान्धीसित मलाई कत्रो ठूलो लगाव रहेको थियो भन्ने अनुभव मैले त्यस बखत गरेँ । मलाई त सबैथोक भताभुङ्ग भएजस्तो लाग्यो ।

विश्वेश्वरप्रसाद कोइराला, आत्मवृत्तान्त ‘मैले स्कुलभित्रै चुरोट लुकाएर पिउन थालेँ । फस्र्ट ब्वाइले नै खान थालेपछि अरू साथीलाई सजिलो भयो । चुरोट तान्यो, मुखभरिको धुवाँ आकाशतिर फाल्यो । वरिपरि धुवाँको कुइरीमण्डल हेर्न मज्जा लाग्थ्यो । धुवाँलाई फोक्सोसम्म एक फन्का लगाएर नाकबाट फाल्न पाउँदा स्कुलकै दादा भएको भान हुन्थ्यो । म सानैदेखि उटपट्याङ थिएँ । साथीभाइलाई डिट्ठा, हवलदार, जमदार, सुबेदार बनाउँथेँ । आफू चाहिँ बडाहाकिम बन्थेँ । मैले यसरी खेलाँची सभा बसालेर कतिलाई सिस्नुपानी लगाउने आदेश दिएको छु ।’ -रुक्माङ्गद कटवाल आत्मकथा नेपाली साहित्यमा भूत, वर्तमान, भविष्य मात्र होइन, समय र प्रकृतिका केस्रा केस्रा चिरफार गरेर कविता लेख्ने सिद्ध हस्त कवि लेखनाथ पौड्याल जनताले ‘शिरोमणि’ को उपाधि दिइसक्दा पनि आफ्नो स्वमूल्याङ्कनमा भने काँचै रहेछन् । यी महान् आत्माले बुद्धि विनोद, ऋतुविचार, तरुण तपसी, कालमहिमाजस्ता कालजयी कृतिमार्फत शाश्वत सत्य मात्र प्रकट गरेनन्, गुणी व्यक्तिलाई वृक्षसँग तुलनाको जीवन्त उपमा दिएर उनले आफ्ना कवितालाई नेपाली समाजको भाषिक स्तरमा रूपान्तरित गराए । समाजबाट उत्खनन गरेका शब्दभाव उनले समाजलाई नै अर्पिए ।

धरणीधर कोइरालाको ‘जाग न जाग’ जस्ता कविताले त्यसबेलाका क्रान्तिवीरहरूलाई यसरी जगायो, बन्दुकको नालमाथि विजय पाउन युवाहरू रणमैदानमा ओर्लिए । गोपालप्रसाद रिमालको ‘आमा’ कविताको भावभूमि विचित्रैको छ । जसले अहिले पनि धर्तीमाताको आलोकलाई उत्तिकै जीवन्त गराउँछ । राजनीतिक क्रान्ति भलै नहोस्, भानुभक्तले कविताबाटै घुस्याहा डिट्ठा, विचारीहरूको उछित्तो काढे । आफ्नै साथी गजाधर सोतीकी श्रीमतीको असभ्य र अशिष्ट व्यवहारलाई उनले कलमबाट बाहिर ल्याएर अरूलाई सचेत गराए । संसारमा नयाँ भनेको केही हुँदैन । नयाँ भनेको प्रयोगको चलाखी मात्र हो । सम्पत्ति नामको राती गेडी एउटा कलम र कागज भएको एउटा कविले समाजमा यत्रो तरङ्ग ल्याउन सक्छ । चेतनाको छालमा समाजलाई पौड्याउन सक्छ । सत्मार्गमा हिँड्नेले एक्काइसौँ शताब्दी मात्र होइन पाषाण युगबाट पनि उत्तिकै मार्गदर्शन पाउन सक्छ । सच्चा मानिसले कमिलाबाट पनि मेहनत सिक्न सक्छ । त्यो मेहनत सार्थक हुँदा मह जम्मा गर्न उसले मौरीको बाटो हेर्नु पर्दैन, झारपात नै काफी हुन्छ । त्यसै भनेको होइन नि- भाले नबासेर बिहान हुन रोकिँदैन ।

नेपाली साहित्यका वाचाल बादशाहहरूले सधैँ सिकाइमै आफ्नो जीवन उत्सर्ग गरे । प्रकृतिको पूजा गरे । आत्माको आवाजलाई गीता, बाइबल र कुरान माने । हरेक बोलीमा साहित्यको एउटा विधा बर्साउने लक्ष्मीप्रसाद देवकोटाले जीवनको उत्तरार्द्धमा उद्घोष गरे- ‘मुनामदनबाहेक मेरा सबै कृति जलाइदिए हुन्छ ।’ बीपी कोइराला, टंकप्रसाद आचार्यजस्ता राजनेता जन्मिए । प्रजातन्त्र र राष्ट्रियताको सवालमा बीपी सधैँ सतिसाल झैँ उभिए । आचार्य यस्ता कूटनीतिक महारथी थिए, जसले चीन र जापानबीचको वैमनुष्यलाई शान्तिदूत भएर सामान्य बनाएका थिए । सुनको गहनाले प्रचार नखोजेजस्तै सच्चा मानिसले आफ्नो विज्ञापन खोज्दैन । तर अहिले बजारमा बर्सिने आत्मवृत्तान्त नामका प्रायोजित विज्ञापन पढ्दा लेख्नेभन्दा पढ्नेले कुरीकुरी मान्नुपर्ने अवस्था छ । उनीहरू लुगा नलगाई जन्मिएको देखि यो सृष्टि थेग्ने जिम्मेवारी कुनै बेला आफ्नै काँधमा रहेको अर्थ लाग्ने सम्मका भाव प्रकट गर्न पछि परेका छैनन् । आत्मरतिले उनीहरूलाई नै लिलिलुट बनाउँदै लगेको छ । किताब लेख्नु, केबलकारमा चन्द्रागिरि डाँडो चढ्नु, ठूलो पिलेन चढेर एकपटक विदेशका चिल्ला सडक र समुद्रका फोटा हालेर आफ्नो धरा सराप्नु प्रारम्भिक योग्यता भएका छन् । डा. रामवरण यादव, डा. बाबुराम भट्टराई, रमेशनाथ पाण्डे, रुक्माङ्गद कट्वाल, छत्रमान गुरुङ, रेवतीरमण खनाल, सुवसेन ओली, हृषीकेश शाहकृत किताबमा बखानका थाती छन् । जुन देशको अर्थतन्त्र माइनस हुनबाट बालबाल जोगिएको छ, ती देशका बर्दीधारीले त्यागको बिस्कुन सुकाउनुको जमिन के रहन्छ ? जसरी दाम्लो जतिसुकै लामो बाटेपनि त्यसको निष्कर्ष गाँठोमा गएर टुङ्गिन्छ, त्यसरी नै देशमाथि लगाइएको गुनको परिणाम पनि आर्थिक विकासको सूचकाङ्क नै हो ।

एकातिर खेताला खोजेर लेखक बनेका उपदेशकहरु आफ्नो बखानमा खस्रे भ्यागुतो झैँ फुलेका छन् भने अर्कातिर यो देशका नागरिक सरकारी सेवा लिँदा दर्ता चलानीमा समेत सलामी तिर्न बाध्य छन् । हामीलाई दरिद्र देशको त्यो नागरिक करार गरिएको छ- जुन देशको पासपोर्ट बोकेर हिँड्दा पाइला पाइलामा मर्नुपर्छ । अर्काको आँगनको दुबो हरियो देख्ने रोगले यस्ता विकृतिको उपचार गर्ने जाँगर कसैमा देखिँदैन । आँसुमा ९९ प्रतिशत भाव एक प्रतिशत पानी हुन्छ रे ! नेपालीको नियति त्यहाँभन्दा माथि उठ्ने लक्षण देखिँदैन । अमेरिकी राष्ट्रपति अब्राहम लिंकनलाई कसैले सोध्यो- ‘तपाईँ साधारण मानिसबाट राष्ट्रपति जस्तो उच्च पदमा कसरी पुग्नुभयो ?’ लिंकनले मुस्कुराउँदै जवाफ दिए- ‘मैले आफ्नो जीवनमा पाइला पाइलामा परीक्षा लिएँ, हरेक असफलताबाट केही कुरा सिकेँ । सम्हालिएँ र आफ्नो त्रुटि सुधार्दै नयाँ बाटो बनाउँदै गएँ । मेरो सफलताको रहस्य यही नै हो ।’ लवाई खवाई र कागजी चिर्कटोमा पाएको प्रमाणपत्र हेर्ने हो भने हाम्रा नेताहरू एक से एक छन् । घरमा र्‍याकभरि किताब राख्छन् । पुस्तक मेला, लोकार्पण कार्यक्रममा हाँप र झाँप गर्दै हजारौँको किताब किन्छन् । तर उदेकलाग्दो यिनीहरू पढ्छन् चाहिँ के ? सुसंस्कारयुक्त मानिसहरूको गति मति यस्तै हुन्छ ? उनीहरूको जीवनमा किताबी ज्ञानको थोरै तत्वबोधले प्रवेश पाएको देखिँदैन । रामायण पढ्छन् तर महाभारत मच्चाउँछन् । हातमा गीता लिन्छन्, बाइबलको विवादमा फस्छन् । बाटो र माटोको अन्तर भेउ पाइन्न भने त्यस्तो ज्ञानको के अर्थ ? भनिन्छ- गुरुले ज्ञान बाँड्छन् अनि शिक्षकले सूचना । शायद गुरुको ज्ञान हैन, शिक्षकको सूचना हाम्रा लागि मूलमन्त्र बन्दै गएको छ । पढेर अक्षर बाँच्ने मात्रको यस्तै घामट योग्यता ग्रहण गर्ने हो भने संसारबाटै कागज कारखाना बन्द गरिदिए केही फरक पर्दैन । दूध खाएर सर्प झैँ विष निकाल्ने हो भने त्यो ज्ञानको अर्थ छैन । बरु ज्ञान भनेको त घाँस खाएर दूध दिने गाई भैँसी जस्तो पो हुनुपर्छ त ।

यदि नेताहरूले साँच्चै पढेकै हुन भने या पढ्नकै लागि किताबको ठेलीले दराज भरेका हुन् भने लेखनाथको काल महिमाले किन पेट पोल्दैन ? भानुभक्तको प्रश्नोत्तरले केही गरौँ भने अभिलाषा किन जाग्दैन ? धरणीधरको जागरण कविताको गद्यधाराले किन अल्छी पखाल्दैन ? माधव घिमिरेको राष्ट्र निर्माता कविता देश केक बनाउने विक्षिप्त मानसिकतामा किन परिवर्तन ल्याउँदैन ? भूपी शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’को व्यङ्ग्यले किन कसैको ह्याकुलोमा प्रहार गर्दैन ? अनि युवा स्रष्टा बुद्धिसागरको कर्नाली ब्लुज र अमर न्यौपानेको सेतो धरती कृतिले आफ्नो औकात नभुल्न किन प्रेरित गर्दैन ? जर्ज बर्नाड शाले भनेका छन्- पढ्नुपर्छ भन्ने सबैलाई थाहा छ । तर के पढ्नुपर्छ भन्ने कसैलाई थाहा छैन । सम्भवतः नेताहरू यही अभिव्यक्तिको सिकार भए । नपढेको पुस्तक, नहिँडेको बाटो, प्यास नमेटिने पानीको के स्वाद हुन्छ र जिन्दगीमा ? जतिसुकै ठूलो समुद्रमा पौडिए पनि मानिसको तिर्खा मेट्ने तागत त त्यही तिरतिरे धाराले राख्छ । समुद्रको नुनिलो पानीले तिर्खा बढाउँछ । घटाउँदैन । जतिसुकै राम्रो र आकर्षक भएपनि मानिसको अनुहार २० वर्षसम्म मानष्पटलमा रहला । तर विचार २ हजार वर्षसम्म अमर रहन्छ । त्यसैले नेताहरूले जनताको घरमा हैन, मनमा बास बस्ने चेष्टा गर्नुपर्छ । जिन्दगीमा जब ठूला ठूला बस्तुहरू मिल्छन् तब सानालाई भुल्ने गल्ती किमार्थ नगर्नु किनकि जुन काम सियोले गर्न सक्छ, त्यो काम तरबारले गर्न सक्दैन । अबको युग अन्त्यहीन सीमा र अन्तरिक्षमा झण्डा गाड्नु नभएर चेतन मानव मस्तिष्कको युग हो । त्रिशूल, गाईको फोटो, धनुकाँड, जामा बोकेर संविधानमा अधिकारको सवाल उठाउनु भनेको असभ्यताको पराकाष्ठा हो । धर्म, संस्कृति भनेको व्यक्तिभित्रको सन्तुलन हो । आत्मअनुशासन हो । यो खैँजडी बजाउने विषय होइन । हिमाली भेगका जनता तराईमा जन्मेका बुद्धका अनुयायी छन् । तराइबासी हिमालय पर्वतमा विराजमान महादेवको पूजा आराधना गर्छन् । प्रकृतिले मिलाएको सन्तुलन बिगार्न खोज्नेहरू आफैँ खरानी हुने निश्चित छ ।

सत्य के हो ? इतिहासकार जानुन् । तर आवश्यकताका नाममा एकपेट अन्नभन्दा माथिको सपना नदेखेका नेपालीका लागि राजनीतिको अनावश्यक प्रयोग किन हुन्छ ? बुझिनसक्नु छ । यो यही देश हो, जहाँ ०७ सालदेखि संविधानसभाको दुन्दुभि बजाइयो । यसै नाममा हजारौँ मान्छे मारिए । नभन्दै त्यो घडी पनि आयो । आश्चर्य, जुन दिन संविधानसभाको अवसान भयो, त्यही दिन राजनीतिक नाराका नाममा समाजै प्रदूषण गर्नेगरी बाँस भर्‍याङमा कराउने रुप्पीहरुको स्वर बन्द भयो । यो स्वर बन्द हुनासाथ देशमा एकखाले शान्ति छायो । विशुद्ध राजनीतिमा जनतालाई सशक्तीकरण गरिन्छ । तर नाङ्गो आङ र सारङ्गी पेटमा खेल्ने सोखका कारण उल्टो गङ्गाको यात्रा स्वाभाविक बन्दै गयो । फलस्वरूप राजनीति धोका सिवाय केही ठहरिएन ।

©sanketkoirala07@gmail.com

तपाईको प्रतिक्रिया