शुक्रबार, आषाढ ०१, २०८१
Friday, June 14, 2024

कोभिडको नयाँ नयाँ भेरियन्टहरुको त्रासले अझै ब्यवसायिक क्षेत्र उन्मुक्त हुन सकेको छैन । जापानमा ठूलो संख्याका नेपालीहरु रेष्टुरेन्ट क्षेत्रमा आबद्ध रहेको र कोभिड पछि रेष्टुरेन्ट ब्यवसायको भविष्य के हुने हो भन्ने चिन्ताले उक्त क्षेत्रमा एकप्रकारको अन्यौलता छाएको छ । हुन त अन्य क्षेत्रका ब्यवसायहरु पनि चिन्तामुक्त छैनन् । तथापि सामान्य अवस्थामा पनि धेरैजसो रेष्टुरेन्ट ब्यवसायहरुको स्थिति निर्बाहमुखी रहीआएकोमा अबको फरक सन्दर्भमा ति ब्यवसायहरुको अवस्था बारे साँच्चिकै सोच्ने बेला आएको छ ।
सपरिवार बाहिर खाना खाने जापानीहरुको पुरानै सँस्कृति हो । आफ्नै रस्तीबस्तीमा उपलब्ध विभिन्न मुलुकका फरक फरक स्वादका परिकारहरु पालैसंग रोजेर खाने बानी परेका उनीहरु कोभिडले गर्दा अर्थतन्त्रमा परेको नकरात्मक प्रभावका कारण उनीहरुको जीवनशैली पुरानै लयमा फर्कन कम्तीमा पनि डेढ, दुई वर्ष लाग्न सक्ने बताईन्छ । त्यसो हुँदा त्यतिञ्जेलसम्म टिक्नका लागि ब्यवसायका संभावित अन्य विकल्पहरु बारे सोच्न पर्ने देखिन्छ । जसअनुसार विकल्पकारुपमा टेक आउट तथा डेलिभरी सर्भिसमा जोड दिने, खानाको मेन्यूमा हेरफेर गर्ने, पसलको साजसज्जा सहित रिन्युअल ओपन गर्ने जस्ता उपायहरु अपनाउन सकिने जानकारहरु बताउँछन् । त्यसबाहेक ब्यवसायिक धार नै परिवर्तन गरी नयाँ नयाँ क्षेत्र र मोडलमा जानुपर्ने मतहरु पनि बाक्लिन थालेका छन् । परम्परागत शैलीका ब्यवसायिक मोडेलबाट अब निर्बाहमुखी भन्दा माथि उठ्न नसक्ने आंकलनलाई पनि उपेक्षा गर्न सकिदैंन । जापानजस्तो चलायमान अर्थबजार भएको देशमा गरिने ब्यवसाय केवल टाइमपासको लागि मात्र हुनुहुँदैन, त्यसलाई सार्थक र परिणामुखी बनाउन बेलैमा चलमलाउनु वाञ्छनीय भएकोले सम्बन्धित क्षेत्रका ज्ञाता तथा विज्ञहरुसंग परामर्श गरी ब्यवसायिक योजना तर्जुमा गरिनुपर्ने देखिन्छ ।
अर्कोतिर हामी नेपालीहरुले ब्यवसायिक दक्षता अभिबृद्धि गर्ने, ब्यवसायिकतामा निखार ल्याउने र गुणस्तरिय सेवा प्रदान गर्ने दिशामा साबिकको भन्दा एक रति थप प्रयास गरेको पाईदैन । कम्पनीमा कार्यरत कर्मचारीहरुको मनोबल बढाउन समय समयमा सेवा सुविधा वृद्धि गर्ने, कामसंग सम्बन्धित बिषयमा प्रशिक्षण, सेमिनार, गोष्ठि, छलफल तथा अन्तरक्रियात्मक कार्यक्रमहरुको आयोजना गर्ने जस्ता गतिविधि गरिनु आवश्यक छ । उसो त कम्पनीका सञ्चालकहरुमा पनि पुरानै र बासी मनोविज्ञान बोकेर ब्यवसायिक सफलताको अपेक्षा राखेको पाईन्छ । यसोहुँदा जापानको नेपाली ब्यवसायिक क्षेत्रमा तरंग पैदा गर्ने गरी एक प्रकारको नयाँ चेतनाको उभार अपेक्षित छ । संभवत कोभिड पछिको अर्थतन्त्रले झेल्ने चुनौतीसंगै नयाँ नयाँ अवसरको ढोका पनि खुल्न सक्ने झिनो आशा भने गर्न सकिन्छ ।
ब्यवसायिक क्षेत्रले सिर्जना गरेका रोजगारीका अवसरहरु नगुमोस् भन्ने अभिप्राले जापान सरकारले उपलब्ध गराउँदै आएको राहत सुविधा तथा सहुलियत कर्जाकै भरमा हालसम्म टिकेका कैयन् ब्यवसायहरु सो सुबिधाको समाप्तीसंगै जोखिमका दिनहरु सुरु हुने देखिन्छ । त्यसप्रकारको संभावित जोखिमबाट बच्न अग्रिम तैयारी स्वरुप वैकल्पिक उपायहरु बारे बेलैमा सोचिएमा सुरक्षित अवतरण सहज हुन सक्छ ।

रोजगारीबाट ब्यवसायिक क्षेत्रमा रुपान्तरण हुँदै गरेका नेपालीहरुले अबको जापानमा ब्यवसायिक भविष्यको बारेमा गहन अध्ययन गरेर मात्रै योजना बनाउनु उपयुक्त हुन्छ । जानेर या नजानेर पहिलो पुस्ताले सुरु गरेको नान-करीको बिजनेश अबको नयाँ पुस्ताले पनि त्यहि गर्नुपर्छ भन्ने छैन । नयाँ नयाँ ब्यवसायिक क्षेत्र पहिचान गरी जापानको अर्थबजारमा दरिलो उपस्थिति देखाउन आवश्यक छ । जसले गर्दा सामुहिक लगानी गर्ने कल्चरको बिकास हुनुका साथै थप रोजगारीका अवसरहरु पनि सिर्जना हुनेछन् ।

अहिलेसम्म जापानमा नेपालीहरुले जे जस्ता बिजनेश गर्दै आए अबको दशकमा त्यसले धान्दैन । हरेक दशकको बजारले नयाँ नयाँ उत्पादन तथा सेवाको माग गरिरहेको हुन्छ । दक्षिण एशियाली मुलकबाट जापान आएका विदेशीहरुले गर्दै आएको ब्यवसायहरु करीव समान प्रकृतिको देखिन्छ । अबको भर्च्युअल दुनियाँमा नयाँ-नयाँ प्रविधिमा आधारित परिवर्तन र उक्त परिवर्तनमा आधारित बिजनेशलाई जसले आत्मसाथ गर्न सक्दछ उसैले बाजी मार्न सक्ने पक्का छ । त्यसो भएको हुँदा जापानको नेपाली समुदायले अब त्यतातिर पनि सोच्ने कि ?

 

तपाईको प्रतिक्रिया