Deneme Bonusu Veren Siteler
शनिबार, आषाढ २९, २०८१
Saturday, July 13, 2024

राजकुमार क्षेत्री, हवाई उड्डयनको क्षेत्रमा ३४ वर्षको अनुभव सँगालेका प्रशासक हुन् । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख हुँदा क्षेत्रीले विमानस्थललाई नयाँ स्वरूप दिए । हवाई सुरक्षाको नियमन र सुपरिवेक्षणमा समेत दक्खल भएका क्षेत्री कार्यसम्पादनमा निपुण र स्पष्ट वक्ताको छवि छ । हाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक रहेको उनै क्षेत्रीसँग उड्डयन क्षेत्रमा गर्नुपर्ने सुधार, निर्माणाधीन विमानस्थलको अवस्था र भावी योजनामा केन्द्रित रहेर नेपाली समाचारका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंश :-

केही समयको रस्साकस्सीपछि महानिर्देशक हुँदाको अनुभव कस्तो रह्यो ?
कुनै पनि राष्ट्रसेवकले सामान्य कर्मचारीको रूपमा प्रवेश गरेपछि त्यो संस्थाको सर्वोच्च पदमा पुग्ने अभिलाषा राखेकै हुन्छ । केही समयको रस्साकस्सीपछि अन्त्यमा न्यायको जित भयो । मेरो उड्डयन क्षेत्रको ३४ वर्षको अनुभावबाट सिकेको कुरा के हो भने कुनै पनि संस्थालाई अगाडि बढाउनका लागि मूलतः तीन कुराको आवश्यकता पर्छ । पहिलो इमानदारिता, दोस्रो व्यावसायिकता र तेस्रो ‘राइट म्यान राइट प्लेस’ हुनुपर्छ । विगतदेखि नै प्राधिकरणमा यसखाले अभ्यास भएकाले गर्दा प्राधिकरण अहिलेको अवस्थामा आइपुगेको छ । यद्यपि कहींकतै कमजोरी रहेका छन्, कमजोरीलाई प्राधिकरणले क्रमशः सुधार गर्दै लगेको अवस्था छ । यो संस्थामा कसैको भनसुनले यहाँ रोजगारी प्राप्त हुने पनि हैन । यहाँ लोकसेवाको परीक्षा पास गरेर आउनुपर्छ । यसले गर्दा उड्डयन क्षेत्रको ग्ल्यामरले गर्दा पनि यो संस्थाको चाम रहेको छ । यो संस्थामा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानको नियमन तथा सेवा प्रदान गर्नुपर्ने भएकाले गर्दा पनि दुवै क्षेत्रको समन्वय र सामञ्जस्यतामा संस्थाको काम-कारबाही अगाडि बढाउनुपर्ने हुन्छ । त्यसो भएको हुँदा अलिक चुनौती पनि छ ।

तर प्राधिकरणमा राजनीति बढी हुन्छ भनिन्छ नि ! साँचो हो ?
त्यो मैले पनि भोगेको छु र भन्दै पनि आएको छु कि- प्राधिकरणलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्छ । जुन अहिलेसम्म भइरहेको छ र भावी नेतृत्वमा आउनेले पनि संस्थाको ओझलाई अझ उचाइमा पुर्‍याउनुहुनेछ भन्ने विश्वास लिएको छु । स्वतन्त्र रूपमा राजनीतिक हस्तक्षेप नभएपछि संस्थाले गति लिन्छ । विदेशी एयरलाइन्सको हकमा हामीकहाँ भनेजति वायुयान नआएको पो हो कि ? हाम्रो क्षमताले भ्याएसम्मको पर्यटकलाई सुविधा नदिएको पो हो कि ? यसमा हामीलाई पहिलो सीमित आर्थिक र उपत्यकाको भौगोलिक अवस्थाले अलिक पछि परेको अवस्था छ । यहाँको चाप कम गर्नका लागि भैरहवा, पोखरा र निजगढ विमानस्थल निर्माणको योजना अगाडि बढेको छ । पोखरा, भैरहवा निर्माणको अन्तिम चरणमा रहेको छ भने निजगढ पनि निर्माण हुने चरणमा रहेको छ । मलाई विश्वास छ, अबको केही वर्षमा नेपालको उड्डयन क्षेत्रले फड्को मार्छ, हिजो जुन समस्या वायुयान कम्पनीले भोगेका थिए यो समस्याबाट भोलिको दिनमा मुक्ति पाउनेछन् ।हाम्रा जहाज युरोपका आकाशमा प्रतिबन्धित छन् । त्यसबाट मुक्त गर्न के काम भए, के-के बाँकी छन् ?
युरोपियन युनियन (ईयू)ले हामीलाई सन् २०१५ बाट सुरक्षा सूचीमा राखेको छ । भर्खरै सेफ्टी अडिट भयो तर, कालो सूचीबाट हट्न हामी असफल भयौँ । अब इयूका अधिकारीहरू आउँदो अप्रिलमा नेपाल आएर हाम्रो ‘अडिट’ हेर्नुहुन्छ । सबै हेरेर हाम्रो जनशक्ति, एयरलाइन्स कम्पनीहरूसँग पनि अन्तरक्रिया गर्नुहुन्छ । यो सबै गरिसकेपछि रिपोर्ट बुझाउनु हुन्छ । त्यो बुझाइसकेपछि नेपाललाई लगाइएको प्रतिबन्ध फुकुवा हुन्छ कि हुँदैन, टुङ्गो लाग्छ । अप्रिलमा हुने अडिटका लागि समिति पनि गठन गरेका छौँ । समितिमा भएका प्राविधिक टोलीलाई यो वर्ष जसरी पनि सेफ्टी लिस्टबाट हट्नेगरी काम गर्नु भनेर निर्देशन दिएको छु । अबको अडिटले नेपाललाई त्यो सूचीबाट हटाउँछ भन्ने अपेक्षा छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले सन् २०१३ मा कालोसूचीमा राखेर २०१७ मा हटाएको छ भने ईयूले पनि हटाउनेमा म पूर्ण विश्वस्त छु । विगत तीन वर्षयताको तथ्याङ्क हेर्ने हो भने हामीकहाँ कुनै पनि हेलिकप्टर र विमान दुर्घटना भएको छैन । प्राधिकरणले त्यसका लागि समसामयिक सुधार गर्दै लगेको छ भने विभिन्न प्राविधिक तालिम तथा उपकरण थप गरेर सुधार गरेकाले गर्दा यो सूचीबाट हामी बाहिर आउनेछौँ ।

त्यसबाट हट्नका लागि नियामक निकाय र सेवा प्रदायक छुटिनुपर्छ भन्ने सर्त पनि छ ।
अहिले मेरो जानकारीमा आएसम्म राष्ट्रिय सभाबाट पास भएर प्रतिनिधिसभामा टेबल भएको छ । त्यसमा कुनै उपसमितिलाई हस्तान्तरण गरिएको छ । म महानिर्देशक तथा कर्मचारीको नाताले के भन्न चाहन्छु भने केही सुधार गर्नुपर्नेछ । साथै कर्मचारीको मनोभावलाई पनि बुझौँ, त्यो सेपरेसन गरेपछि राम्रो अवश्य हुन्छ, सेपरेसन गर्नुभन्दा अगाडि केही सुधारको कुरा गर्नु छ भने गर्नुपर्छ र कार्यान्वयन गर्नुपर्छ । प्रतिनिधिसभामा छलफलकै क्रममा रहेकाले गर्दा भने केही समय लाग्ने देखिन्छ । एउटा नागरिक उड्डयन नियामक निकायका रूपमा रहनेछ भने अर्को सेवा दिनका लागि हवाई सेवा प्राधिकरणको रूपमा रहनेछ । प्राधिकरण छुट्टिनु सुरक्षा सूचीबाट हट्ने धेरै शर्तमध्येको एक हो, यदि प्राधिकरणलाई छुट्याएर हामी कालोसूचीबाट हट्यौँ नै भने पनि कर्मचारीहरूको असन्तुष्टिले परिणाम राम्रो आउँदैन । संस्था चलाउने कर्मचारीले पनि हो, उनीहरूलाई सन्तुष्ट बनाउनुपर्छ ।

कोभिड-१९ बाट नेपालको हवाई उड्डयनको लय बिथोलिन पुग्यो । फेरि नयाँ भेरियन्छ देखा पर्दा कसरी अगाडि बढ्छ ?
तत्काल त हामी पूर्ण रूपमा पुरानो अवस्थामा फर्किन सकेका छैनौँ । यद्यपि, हामी सकारात्मक रूपमा अघि बढिसकेका छौँ । पहिले विदेशी आउने सिजनमा आन्तरिकतर्फ १ सय ७५ त कहिलेकाहीँ दुई सय उडान हुन्थे । अहिले पनि १ सय ६० वटा उडान हुन थालिसक्यो । यसको मतलब आन्तरिक उडानतर्फ हामी लगभग पुरानै अवस्थामा फर्किन थालिसकेका छौँ । यद्यपि, पर्यटक नआएका कारण वायुसेवालाई डलर भाडामा भने घाटा छ । अन्तर्राष्ट्रियतर्फ हामीले ६० प्रतिशत मात्रै लय समातेका छौँ । विगतमा ५०-५५ वटा उडान हुन्थ्यो भने अहिले ३०-३२ । सामान्य अवस्थामा फर्किन अझै बाँकी छ । विश्व बजार नै थला परिरहेको बेलामा लय पक्डनु राम्रो संकेत हो । अब यो नयाँ भेरियन्टले दुःख दिएन भने ६ महिनादेखि एक वर्षभित्र हामी पुरानै लयमा फर्किंन्छौं । मैले कोभिडपछि नेपालीमा जहाज चढ्ने संस्कृतिको पनि विकास भएको देखेँ । अहिले जहाज भाडा पहिलेभन्दा सस्तो भएको छ । सडकको अवस्था ठिक नभएको कारण धेरैले सुरक्षासँग सम्झौता गर्न चाहेका छैनन् । यो राम्रो हवाई क्षेत्रका लागि सुखद कुरा हो । पर्यटक नआई हामीलाई अझै गाह्रो अवस्था छ । अहिलेको ट्रेन्ड हेर्दा पर्यटक आउँछन् जस्तो लाग्छ । पर्यटक आउने अवस्था रहेमा अबको ३ देखि ४ वर्षभित्रमा ५/६ वटा वायुसेवा कम्पनी खुल्छन् जस्तो लाग्छ ।गौतम बुद्ध, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य कहाँ पुग्यो ?
भैरहवा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तिम चरणमा रहेको छ भने भौतिक प्रगति हाम्रो ९८ प्रतिशत रहेको छ । अब मात्र क्यालिब्रेसन फ्लाइट गर्न बाँकी छ । माननीय मन्त्रीज्यूले पनि चासो दिनुभएको छ । चाँडै यो प्रक्रिया अगाडि बढाए एक महिनापछि क्लालिब्रेसन परीक्षण हुनेछ भने त्यसपछि परीक्षण उडान गर्ने तयारी रहेको छ । परीक्षण उडानसँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) मा जानकारी दिनुपर्छ र एआईपीमा मेन्सन गरेर आन्तरिक प्रक्रिया पूरा गरी विमानस्थल सञ्चालनमा ल्याउँछौँ । यो सबै प्रक्रिया पूरा गर्न ५ महिना लाग्ने आँकलन गरेका छौँ, ५ महिनापछि अन्तर्राष्ट्रिय उडान हुन्छ । पोखरा विमानस्थल भने सञ्चालनमा आउन केही समय लाग्नेछ । एप्रोजमा परेमा रिट्ठे डाँडा कटान गर्नुपर्ने भएकाले गर्दा वन मन्त्रालयमा ईआईएको चरणमा भएकाले समय लाग्ने देखिन्छ । ल्यान्डफिल्ड साइटको क्लियरेन्सीको काम चाँडै टुङ्गो लाग्नेछ र अन्य काम पनि भइरहेकाले करिब ७ महिनादेखि ११ महिनामा सो विमानस्थल सञ्चालनमा आउनेछ । आन्तरिकतर्फ विराटनगर, धनगढी, नेपालगञ्ज र भरतपुर विमानस्थल स्तरोन्नति गरेर पूर्ण सञ्चालनमा ल्याउन सकिन्छ ।

नेपालमा विमानस्थलको सङ्ख्या थप गर्न आवश्यक हो कि त्यसको गुणस्तर ?
केही दिनअघि मात्रै मलाई मन्त्रीज्यूले यस्तै प्रश्न गर्नुभयो । ताल्चा, अर्घाखाँची, बुटवल, भैरहवा, सिमरा, उदयपुर, इलाम, गाइघाटलगायत नहुनुपर्ने ठाउँमा पनि एयरपोर्ट छन् । यस्तो पनि हुन्छ ? भनेर प्रश्न गर्नुभयो । १२ वर्षअघि मनाङमा १० करोड रुपैयाँ लगाएर मनाङ विमानस्थल बनाइयो । त्यहाँ अहिलेसम्म जम्मा दुई/तीनपटक मात्रै चार्टर उडान भएको छ । त्यस्ता विमानस्थल थुप्रै छन् । त्यहाँ बेलाबेलामा ओभरले गरिरहनुपर्छ । नगरे बिग्रिन्छ । अब गर्ने कि नगर्ने भन्ने दोधारमा छौँ । अहिले हामीलाई ‘हरेक विमानस्थललाई पिच गर’ भन्ने दबाब छ । पिच गर्‍यो फ्लाइट चल्दैन । यस्ता फजुल खर्च गर्ने र आवश्यकता भन्दा बढी विमानस्थल बनाउने काम रोक्नुपर्छ ।

अन्त्यमा लामो समयदेखिको विमानस्थलको बक्यौता बाँकी छ । बक्यौता उठाउनका लागि अब प्राधिकरणको नीति कस्तो हुन्छ ?
केही समययता धेरै बक्यौता रकम उठेको अवस्था छ । निवर्तमान महानिर्देशकको पालामा पनि धेरै काम भएका छन् भने म विमानस्थलको प्रमुख भएको बेलामा पनि ३१ करोड रुपैयाँ एयर एसियाबाट उठाएको थिएँ । अहिले पनि अर्थ विभागले त्यसको निरन्तर फलो-अप गरेर सूचना जारी गर्ने, ताकेता गर्ने गरेको छ । त्यसपछि क्रमशः बक्यौता उठेको अवस्था पनि छ । केही समयपछि कानुनी कारबाहीअनुसार उठाउने गरी प्राधिकरणले काम-कारबाही गर्नेछ ।

तपाईको प्रतिक्रिया