काठमाडौं – नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि बेलायत भित्रिने यात्रुहरूलाई थप कडाइ गरिने स्वास्थ्य मन्त्री साजिद जाविदले बताएका छन् । आउँदो मंगलबार बिहान ४ बजेपछि बेलायत आउँदा अनिवार्य रूपमा बढीमा ४८ घण्टाभित्र कोभिड (प्रि-कोभिड) टेष्टको प्रमाण देखाउनुपर्नेछ । हालको नियम अनुसार बेलायत आएको दुई दिनसम्म सेल्फ आइसोलेसन बसेर नेगेटिभ परिणाम पेस गर्नुपर्नेछ । सो नियम १२ वर्ष वा सो भन्दा माथिका लागि लागू हुनेछ ।
बेलायतमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमितको सङ्ख्या १६० पुगेको छ । जसमध्ये इंग्ल्याण्डमा १२९, स्कटल्याण्डमा २९ र वेल्समा एक जनामा नयाँ भाइरस फेला परेको सरकारले जनाएको छ । नाइजेरियाबाट आएका २७ जना मानिसमा नयाँ भाइरस देखिएपछि यही सोमबार बिहान ४ बजेबाट नाइजेरियालाई यात्रा प्रतिबन्धको ‘रेड लिस्ट’ मा राखिने भएको छ । नाइजेरियाबात बेलायती नागरिक मात्र आउन पाउनेछन् भने उनीहरूले अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्नेछ ।