Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

एनआरएनएभित्र राजनीति र राजनीतिभित्र एनआरएनएको घुसपैठ हुँदा एनआरएनमा आजको अवस्था आएको जगजाहेर छ । यो अरु केहि नभएर विगतमा आलिशान पाँचतारे होटलहरुमा हुने गरेका तामझाम र खर्चिलो महाधिवेशनमा दलका नेतागणहरुलाई गरिएको आमन्त्रण र खुलायम आवत-जावतको परिणाम यतिबेला सतहमै देखिने गरी पोखिएको मात्र हो । नेपाली समाजको वर्गिय चरित्रअनुसार घरझगडा पर्दा पनि अरुलाई नै गुहार्ने र आफुले केहि हासिल गर्नुपर्ने परे पनि अरुलाई नै गुहार्ने खालको छ । अनि बाह्य हस्तक्षेप भयो भनेर भन्न पनि छोड्दैनौं । एनआरएनभित्र पनि ठिक त्यहि खालको विकृति धेरै पहिलेदेखि हावी हुँदै आएको थियो तर यस पटक भने शक्तिकेन्द्रको ठाडो हस्तक्षेपकारी भूमिकाले एनआरएन अहिले इतिहासमै सबैभन्दा निरिह बन्न पुगेको छ । यसो हुनुको मुख्य दोषी अरु कोही नभएर स्वयम एनआरएनका जिम्मेवार ब्यक्तिहरु नै हुन् । एनआरएनभित्र जबरजस्त हुर्कदो दलीय चिन्तन र गुठबन्दीले आमन्त्रण गरेको राजनैतिक हस्तक्षेपले अहिले एनआरएनलाई निल्नु न ओकल्नु बनाएको छ ।

सिंगो एनआरएन अभियानमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका जापान, बेलायत, अष्ट्रेलिया, अमेरिका, बेल्जियम लगायतका राष्ट्रिय कमिटीमा देखिएका विवादलाई तत्काल समाधान गर्न नसक्दाको परिणाम अहिलेको अवस्था हो । आफु मातहतको कमिटीलाई चेन अफ कमाण्डमा राख्न नसक्नु मौजुदा केन्द्रीय समितिको सबैभन्दा ठूलो भुल हो । यसले गर्दा अलि बढि नै आशा गरिएको हालको टिम अनपेक्षितरुपले विवदित र असक्षम साबित हुन पुग्यो । जसका कारण यस टिमले गरेका थुप्रै राम्रा कामहरु पनि स्वतः ओझेलमा पर्न पुगे । वर्तमान नेतृत्वले आफ्ना पालामा भएका राम्रा, नराम्रा सबै कामहरुको कपाली तमसुक गरेर जिम्मा लिन सक्नुपर्दछ । अरुमाथि दोषारोपण थोपरेर जिम्मेवारीबाट पन्छिन मिल्दैन । सबैभन्दा प्रधान बिषय भनेको अहिलेको समस्याको जड के हो र यो परिस्थिति कसरी सिर्जना हुन पुग्यो भन्ने पत्ता लगाउनु हो । सामान्य रोगको पनि समयमै उपचार गरिएन भने कचल्टिएर उकुस परेर निको हुन गाह्रो पर्छ । एनआरएनले बाटो बिराएको भन्दै यसका सच्चा अभियान्ताहरुले धेरै पहिलेदेखि नै चिन्ता जाहेर नगरेका होईनन् । जसरी पनि आफु भए उधुमै ठीक, नत्र बेठीक भन्ने नेपाली राजनीतिको सुकेनास रोग एनआरएनमा पनि सल्किएका कारण आजको स्थिति भोग्नुपरेको हो ।
जे जे भएपनि असल उद्देश्यका लागि सुरु गरिएको अभियान आज आएर त्यो रुपमा रहेन भन्नेहरुको ताँती लामै छ । कतै एनआरएन भन्ने संस्था हर्ताकर्ता, सुकिला, मुकिला, तिघ्रे, पाखुरेहरुको रजगज गर्ने क्लवमा रुपान्तरण हुने त होइन भन्ने चिन्ता पनि बढ्दो छ । जहाँ समस्या उत्पन्न हुन्छ, समाधान पनि त्यहि बिन्दुबाट खोजिनुपर्दछ र त्यो संभव छ । विडम्वना त्यसो हुन सकिरहेको छैन । यसकारण पनि ठूलो संख्याका प्रवासी नेपालीहरुलाई एनआरएनले समेट्न सकेको छैन । एनआरएनप्रति प्रवासी नेपालीहरुको आकर्षण के कति छ भन्ने यसको सदस्यता संख्या हेरे प्रष्ट हुन्छ ।

तथापि विदेशमा रहेका लाखौं नेपालीहरुको एउटा साझा घर बन्न प्रयासरत एनआरएन अभियान आफैमा नराम्रो भने होइन । जो जससंग सम्बन्ध छ, यसका तालुकदार मुखियाहरु मात्र खराब हुन् । परराष्ट्रतिर धारे हात लगाएर अहिले पानीमाथिको ओभानो हुने छूट कसैलाई छैन । यो स्थिति आमन्त्रण कसले गर्‍यो ? एकपटक छातिमा हात राखेर सोचौं त । एउटै जिन्दगानीमा धेरै जिन्दगी बाँच्न संभव छैन । विदेशमा बसेर राजनीति गर्दै नेता पनि आफै हुनुपर्‍या’छ, एनआरएनको कच्चा अभियान्ता पनि आफै हुनुपर्‍या’छ, उद्यमी पनि आफै हुनुपर्‍या’ छ, समाजसेवी पनि आफै हुनु पर्‍या’छ, बुद्धिजिवी पनि आफै हुनुपर्‍या’छ, डन पनि आफै हुनुपर्‍याछ, अनि कसरी बन्छ सङ्लो एनआरएन ? अरु देशको कम्युनिटीमा पनि यसो हेर्न सकिन्छ, के त्यस्तो संभव छ ? तसर्थ भनिन्छ नि आलु रोपेर मकै फल्दैन । उन्नत विचारहरुको संगालोमा घोलेर अब एनआरएनलाई फिल्टर गर्नुपर्छ, तब बन्छ सङ्लो एनआरएन ।

तपाईको प्रतिक्रिया