शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडाैं – भोजपुरको कावाखोलामा पाँच करोड बढीको लागतमा निर्माणाधीन पक्की पुल भाँचिएको छ । हतुवागढी गाउँपालिका-२ रानीबास र रामप्रसादराई गाउँपालिका-५ मानेभञ्याङलाई जोड्न कावा खोलामा स्वीस सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको पुल भाँचिएको हो ।

४५ मिटर लम्बाइ, ६ मिटर चौडाइ रहेको पुलमा दुवैतिर पैदल हिँड्न मिल्ने गरी बनाउन लागिएको थियो । पुलको डिजाइन अवधि ८० वर्षको र पुल भूकम्प प्रतिरोधी हुने प्राविधिकले बताएको भए पनि पुल निर्माणको क्रममा भाँचिएको छ ।

भोजपुरलाई उत्तर-दक्षिण जोड्ने गरी कावा खोलामा पुल निर्माण सुरु भएपछि स्थानीयमा उत्साह थपिएको थियो । तर पुल निर्माणकै चरणमा ढलेपछि स्थानीय निरास बनेका छन् । यस सडक खण्डलाई भोजपुरको उत्तर-दक्षिण जोड्दै सङ्खुवासभाको किमाथाङ्कासम्म कालोपत्रे गर्ने लक्ष्यले सडक विस्तारको कामको थालनी गरिएको थियो । पुल निर्माण भएपछि सदरमुकामबाट दक्षिण हुँदै तराईका जिल्लामा जान सहज हुने विश्वास लिइएको थियो ।

भोजपुरमा प्रदेश सरकारको पूर्ण लागतमा आठ ओटा र प्रदेश सरकारको पहल तथा स्वीस सरकारको अनुदान सहयोगमा दुई वटा गरी १० वटा पुल निर्माण भइरहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । कतिपय पुल निर्माणको अन्तिम चरणमा रहेका छन् । पुल भत्किएको विषयमा छानबिन गर्न काठमाडौंबाट विज्ञ टोली आउने पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया