शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडाैं – पछिल्लो समय दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरिअन्ट नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न नागरिकलाई आग्रह गरेको छ ।

नयाँ भेरिअन्टको जोखिमका कारण दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रुलाई अनिवार्य रुपमा एक हप्ता क्वारेन्टिन राख्ने विषयलाई मन्त्रालयले कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विश्वको जुनसुकै कुनामा नयाँ भेरिअन्ट देखापर्दा नेपालमा पनि उत्तिकै जोखिम हुने भएकाले स्वास्थ्य सावधानी अपनाउन आवश्यक रहेको बताए ।

दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य सङ्गठनले ‘भेरिअन्ट अफ कन्सर्न’ घोषणा गरेपछि अफ्रिका हुँदै नेपाल आउने यात्रुका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनिवार्य क्वारेटिनको व्यवस्था गरेको उनको भनाइ छ ।

नयाँ भेरिअन्ट नेपालमा नदेखिएकाले आत्तिनु नपर्ने तर सावधानी भने पूर्ण रुपमा अपनाउनुपर्नेमा अधिकारीको जोड दिए । उनले भने, ‘हाल नेपालमा कोभिड-१९ सङ्क्रमितको सङख्या मात्र कम भएको हो, जोखिम कम भएको छैन । स्वास्थ्य मापदण्ड सबैले अनिवार्य पालना गर्नुपर्छ ।’ नयाँ भेरिअन्टको कोरोना जित्नेबारे थप अनुसन्धान भइरहेको छ ।

नेपालको दक्षिण अफ्रिकी क्षेत्रमा सिधा हवाई उडान सम्पर्क नभए पनि त्यस क्षेत्रबाट आउने र त्यस क्षेत्रलाई ट्रान्जिट पारेर आउने हवाई यात्रुहरूलाई एक साताको क्वारन्टीन अनिवार्य गर्ने निर्णय भएको हाे । दक्षिण अफ्रिकामा पहिलो पटक पहिचान भएको ओमिक्रोन भेरिअन्ट हालसम्म हङकङ, बेल्जियम र इजरेल सहितका देशहरूमा फैलिएको पाइएको छ ।

हङकङसँग सिधा हवाई उडान रहेको नेपालले उडान स्थगित गर्ने वा नगर्नेबारे आइतवार बस्ने कोभिड सङ्कट व्यवस्थापन समन्वय समितिको बैठकबाट निर्णय गर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले बताए ।

तपाईको प्रतिक्रिया