मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडाैं – यूके प्रवेश गर्न चाहने आप्रवासीहरू बोकेको एउटा डुङ्गा फ्रान्सको क्यालेनजिकै इङ्ग्लिश च्यानलमा डुब्दा कम्तीमा २७ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्घ आईओएमका अनुसार उक्त दुर्घटना सन् २०१४ मा उसले अभिलेख राख्न थालेयता इङ्ग्लिश च्यानलमा भएको सबैभन्दा घातक हो । यूकेका प्रधानमन्त्री बोरिस जोनसनले घटनाबाट आफू “उद्विग्न” भएको भन्दै यूकेले मानवतस्करहरूलाई रोक्न कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

फ्रान्सका गृहमन्त्रीले मृत्यु हुने मानिसमध्ये पाँच महिला र एक बालिका रहेका बताएका छन् । जेराल्ड डार्मानँले दुई जनाको उद्धार गरिएको र एक जना अझै हराइरहेको बताएका छन् । बुधवार बेलुकी ३१ जनाको मृत्यु भएको भनिए पनि पछि त्यो सच्याइएको थियो। डुबेको डुङ्गामा ३४ यात्रु सवार थिए ।

बेल्जियमको सीमानजिकै चार व्यक्तिलाई गिरफ्तार गरिएको बताउँदै गृहमन्त्री डार्मानँले भने, ‘उनीहरूको तस्करी गर्ने यो समूहसँग सीधा सम्बन्ध भएको हाम्रो शङ्का छ ।’ बुधवार बेलुकी जोनसन र फ्रान्सका राष्ट्रपति एमानुएल मार्कोँले दुई देशबीचको जलमार्गबाट हुने तस्करी रोक्न र मानवतस्कर समूहहरूलाई मानव जीवन जोखिममा पार्नबाट रोक्न संयुक्त रूपमा कार्य गर्न सहमति गरेको यूकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

बुधवार दिउँसो एउटा माछा मार्ने डुङ्गाले केही मानिसहरू फ्रान्सनजिकै समुद्रमा देखेको सूचना दिएको थियो । फ्रान्स र ब्रिटेनका अधिकारीहरूले त्यसपछि उद्धार कार्य सुरु गरेका थिए । जोनसनले मृत्युलाई विपत्ति भएको बताउँदै हत्याबाट उन्मुक्ति पाउँदै आएका मानवतस्करहरूको समूहलाई छिन्नभिन्न पार्नु महत्त्वपूर्ण रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया