शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – रियाल मड्रिडले बुधबार राति एफसी शेरिफलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको छ । जितसँगै पाँच खेलबाट १२ अंक जोडेको रियाल समूह ‘डी’ को शीर्ष स्थानमा छ । इटालियन सिरी ‘ए’ को इन्टर १० अंकका साथ दोस्रो स्थानमा छ । पराजित शेरिफ ६ अंकका साथ तेस्रो स्थानमा छ भने शाख्टर डोनेस्क समूहमा पुछारमा छ ।

तेस्रो स्थानमा रहेको शेरिफले पहिलो लेगमा रियाललाई उसैको घरेलु मैदानमा २–१ ले हराएको थियो । तर, गएराति आफ्नै घरेलु मैदानमा शेरिफ ३–० ले स्तब्ध भयो । रियालले ३०औं मिनेटमा डेबिड अलाबाको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा टोनी क्रुसले रियालको अग्रता दोब्बर बनाए । ५५औं मिनेटमा करिम बेन्जेमाले अर्को गोल थपेपछि रियालले सहजै तीन अंक पक्का गरेको थियो । ‘‘यो जित हाम्रो लागि महत्त्वपूर्ण थियो । र, समूह चरणको अन्तिम खेलमा इन्टरविरुद्ध पनि हामी राम्रो नतिजा निकाल्ने छौं,’’ रियालका प्रशिक्षक कार्लो एन्सेलोट्टीले भने ।

कीर्तिमान १३ पटक च्याम्पियन्स लिगको उपाधि जितिसकेको रियालले लगातार २५औं पटक अन्तिम १६ मा स्थान बनाएको हो । रियालले अब अन्तिम खेल इन्टरविरुद्ध खेल्नेछ । पराजित शेरिफले भने शाख्तरसँग प्रतिस्पर्धा गर्नेछ ।

इन्टर मिलानले जित

समूहकै अर्को खेलमा इन्टर मिलानले शाख्तर डोनेस्कलाई २–० ले हराएको थियो । इन्टरको जितमा दुबै गोल इडेन जेकोले गरे । जेकोले ५७औं मिनेटमा गरेको गोललाई भिडियो सहायक रेफ्रीले मान्यता दिएन । जेकोले ६१औं मिनेटमा गरेको गोलबाट इन्टरले अग्रता लियो । जेकोले ६७औं मिनेटमा अग्रता दोब्बर बनाएका थिए ।

तपाईको प्रतिक्रिया