शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौँ – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह ‘एफ’ को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब भिल्ला रियलमाथि जित निकालेको छ। एल मड्रिगल स्टेडियममा सम्पन्न खेलमा युनाइटेडले घरेलु टोलीमाथि २-० गोलअन्तरले जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा युनाइटेडलाई क्रिस्टियानो रोनाल्डोले अग्रता दिलाएका थिए। उनले खेलको ७८ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै ९० औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा जोडन सान्चोले गोल गर्दा युनाइटेडले २-० को जित निकाल्यो। म्यानचेस्टर युनाइटेडबाट खेलेको १५ खेलमा साञ्चोले पहिलो गोल गरेका हुन्।

जितसँगै युनाइटेडले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। त्यस्तै गएराति नै सम्पन्न समूह ‘एफ’ को अर्को खेलमा एटलान्टा र योङ बोइजले ३-३ को बराबरी खेले। समूहमा म्यानचेस्टर युनाइटेड ५ खेलबाट १० अंक जोडेर तालिकाको शीर्षस्थानमा छ भने ७ अंक जोडेको भिल्लारियल दोस्रो, ६ अंक जोडेको एटलान्टा तेस्रो र ४ अंक जोडेको योङ बोइज चौथो स्थानमा छन्।

तपाईको प्रतिक्रिया