शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौँ – यूएईमा जारी टी-१० लिगअन्तर्गत टिम आबुधाबी र डेक्कन ग्लाडियटर्सले सानदार जित निकालेका छन्। पहिलो खेलमा दिल्ली बुल्समाथि डेक्कन ग्लाडियटर्सले ९ विकेटको फराकिलो जित निकालेको छ। जारी सिजनमा दोस्रो जित निकाल्ने क्रममा ग्लाडियटर्सले दिल्लीले दिएको १ सय १३ रनको लक्ष्य ७.२ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि टमकोहलर कोडमोरले ५१, टम ब्यान्टनले ४४ र आन्द्रे रसेलले अविजित ९ रनको योगदान दिए। दिल्लीको बलिङमा डोमेनिक ड्रिक्सले एक ओभरमा १८ रन दिएर १ विकेट हात पारे।

त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले १० ओभरमा सबै विकेट गुमाएर ११२ रन जोड्यो। उसका लागि रिली रोसोले ४८, शेरफन रदरफोर्डले १९, रहमानुल्लाह गुर्बाजले १६ र आदिल राशिदले अविजित १० रन बनाए । ग्लाडियटर्सको बलिङमा आन्द्रे रसेलले उत्कृष्ट प्रदर्शन गरे। उनले २ ओभरमा १७ रन खर्चिएर ३ विकेट  हात पारे। त्यस्तै, वानिन्दु हसरंगा, टिमल मिल्सले समान दुई-दुई र डेविड भिसेले एक विकेट लिए । सोमबारनै भएको अर्को खेलमा टिम आबुधाबीले चेन्नाई बारभेसलाई हराउँदै प्रतियोगतामा लगातार चौथो जित निकालेको छ।

बारभेसले दिएको १३२ रनको विशाल लक्ष्य आबुधाबीले ४ बल अगावै मात्र २ विकेट गुमाएर भेट्टायो। आबुधाबीको जितमा फिल साल्टले सर्वाधिक ६३ रन बनाए। २८ बल खेलेका उनले ५ छक्का र ५ चौकासहित नटआउट रहे। यस्तै पाउल स्ट्रलिङले १८ बलमा ४४ रन बनाउँदा कप्तान लायम लिभिङस्टोनले १० बलमा २४ रन जोडे।  बार्भेसका लागि कर्टिस क्याम्फेर र मार्क डेयालले १-१ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बार्भेसले निर्धारित १० ओभरमा २ विकेट गुमाउँदै १३१ रन बनायो। उसका लागि भानुका राजपाक्षेले सर्वाधिक ५४ रन बनाए। एन्जेलो परेराले ३२ रन जोड्दा कप्तान दासुन शनाकाले ८ बलमा २३ रन जोडे।

आबुधाबीका लागि शेल्डन कोट्रेल र अहमद दानियालले १-१ विकेट लिए। यो सँगै जारी प्रतियोगितामा ४ खेलमा शतप्रतिशत जित निकालेको आबुधाबी ८ अंकसहित शीर्ष स्थानमा कायमै छ। ४ खेलमा पहिलो हार व्यहोरेको दिल्ली दोस्रो स्थानमा कायमै छ। डेक्कन ग्लाडियटर्स ४ अंकसहित तेस्रो तथा बंगला टाइगर २ अंकसहित चौथो स्थानमा छ।

तपाईको प्रतिक्रिया