बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडाैं – रोल्स-रोयसले आफूले निर्माण गरेको ‘स्पिरिट अफ इनभेशन’ विमान विश्वको सबैभन्दा तीव्र गतिको विद्युतीय हवाईजहाज भएको दाबी गरेको छ । भर्खरै गरिएको एउटा परीक्षणमा उक्त विमान ६२३ किलोमिटर प्रतिघण्टाको गतिमा उडेको सो कम्पनीले जनाएको छ ।

उक्त विमानले तीनवटा फरक दूरीमा नयाँ विश्वकीर्तिमान गरेको विश्वास गरिएको छ । रोल्स-रोयसले प्रमाणीकरणका लागि सम्बन्धित तथ्याङ्क वर्ल्ड एअर स्पोर्ट्स फेडरेशनलाई पठाएको छ । कम्पनीका एक निर्देशक फिल ओ’डेलले उडाउँदा स्फिरिट अफ इनभेशन विमानले सबैभन्दा तीव्र गति हासिल गरेको थियो । ‘यो मेरो व्यावसायिक जीवनको मुख्य आकर्षण हो अनि पूरै टोलीका लागि एउटा अविश्वसनीय उपलब्धि,’ उनले भने ।

रोल्स-रोयसका अनुसार स्पिरिट अफ इनभेशनको गति यसअघि सन् २०१७ मा कीर्तिमान राखेको जीमन्स ईएअरक्राफ्टले बनाएको एक्स्ट्रा ३३० एलई एरोब्याटिक विमानभन्दा २१३.०४ किलोमिटर प्रतिघण्टाले बढी थियो । तीन किलोमिटर उड्दा रोल्स-रोयसको विमानको गति ५५५.९ किलोमिटर प्रतिघण्टा र १५ किलोमिटर उड्दा ५३२.१ किलोमिटर प्रतिघण्टा पुगेको थियो ।अनि ३,००० मिटरको उचाइमा २०२ सेकन्डमा पुगेर यसले सबैभन्दा चाँडै त्यति माथि पुग्ने कीर्तिमान ६० सेकन्डले घटाएको विश्वास गरिएको छ । यो विमानले ४०० किलोवाटको विद्युतीय पावरट्रेन प्रयोग गर्छ जसको क्षमता ५३५ बीएचपी सुपरकारको जति हुन्छ । रोल्स-रोयसले आफूले प्रयोग गरेको ‘प्रपल्शन ब्याटरी प्याक’ एकदम शक्तिशाली भएको र त्यो ७,५०० वटा फोन चार्ज गर्न सक्ने खालको भएको बताएको छ ।

कोप २६ मा विश्वको ध्यान कार्बन उत्सर्जन घटाउनुपर्छ भन्ने कुरामा केन्द्रित भएको उल्लेख गर्दै रोल्स-रोयसका प्रमुख कार्यकारी वारन ईस्टले भने, ‘यो ‘जेट जीरो” लाई यथार्थ बनाउन सहयोगी हुने एउटा कोसेढुङ्गा हो ।’ ‘यसले आकाश, भूमि र समुद्रमा हुने परिवहनमा कार्बन घटाउन आवश्यक महत्त्वपूर्ण प्राविधिक खोज उपलब्ध गराउने हाम्रो आकाङ्क्षालाई सघाउँछ ।’

रोल्स-रोयसले फेडरेशन एरोनटिक इन्टर्न्याश्नल (एफएआई) ले आफ्नो उपलब्धिलाई प्रमाणीकरण गरिदिने र चाँडै त्यसलाई विश्वकीर्तिमानको मान्यता दिने अपेक्षा गरेको छ ।

तपाईको प्रतिक्रिया