शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडाैं – इन्टरनेटमा आफूले खानेकुरा खाएको प्रत्यक्ष प्रसारण गर्ने एक चिनियाँ व्यक्तिले आफूलाई धेरै खाएको भन्दै एउटा रेस्टुराँले प्रतिबन्ध लगाएको बताएका छन् । काङ नामले चिनिने ती पुरुषले हुनान टीभीलाई दुई पटक खाएपछि निश्चित पैसा तिरेर पेटभरि खान पाइने हान्डाडी सीफूड बीबीक्यू बफे रेस्टुराँले प्रतिबन्ध लगाएको बताएका हुन् ।

उनले पहिलो पटक डेढ केजी सुँगुरको मासु र दोस्रो पटक साढे तीनदेखि चार केजी प्राउन खाएको बताएका छन् । काङले सो रेस्टुराँले धेरै खाने मानिसप्रति भेदभावपूर्ण व्यवहार गरेको बताएका छन् । ‘म धेरै खान सक्छु, के त्यो मेरो गल्ती हो ?’ उनले आफूले खानेकुरा खेर नफालेको बताउँदै भने ।

तर रेस्टुराँका मालिकले सो टीभीका संवाददातालाई काङले आफूलाई टाट पल्टाउने बताए । ‘प्रत्येक पटक उनी आउँदा मलाई केही सय युआन घाटा हुन्छ,’ उनले भने । ‘उनी भटमासको दूध पनि २०-३० बोतल पिउन सक्छन् । सुँगुरको मासु खाँदा पूरै ट्रे नै सक्छन् । प्राउन खाँदा अन्य मानिसले चिम्टीले च्यापेर निकाल्छन्, उनी चाहिँ ट्रे नै लिन्छन् ।’

उनले आफ्नो रेस्टुराँमा इन्टरनेटमा प्रत्यक्ष प्रसारण गर्दै खाने सबैलाई प्रतिबन्ध लगाएको बताए । काङको यो विवरण चिनियाँ सोशल मिडियामा चर्चित भएको छ । यसको भिडिओलाई २५ करोड पटक हेरिएको छ भने मानिसहरूले विभिन्न प्रतिक्रिया व्यक्त गरिरहेका छन् ।

कतिपयले सबैलाई समान व्यवहार नगर्ने भए सो रेस्टुराँले आफूलाई पेटभरि खान पाइने भनेर भन्न नहुने बताएका छन् भने कतिपयले रेस्टुराँका मालिकप्रति सहानुभूति जनाएका छन् । गत वर्ष चिनियाँ सरकारले खानेकुरा खाएर सोशल मिडियामा प्रसिद्ध भएका मानिसविरुद्ध कदम चाल्ने बताएको थियो जसका कारण खाना खाएका त्यसा भिडिओहरू पूरै चीनमा प्रतिबन्धित पनि हुन सक्छन् । राष्ट्रपति सी जिन्पिङले खाद्यान्नको अभावको चिन्ताबीच खानेकुरा खेर नफाल्न भनेपछि सरकारले त्यस्तो कदम चालेको थियो ।

तपाईको प्रतिक्रिया