Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

कोरोना महामारीले शिथिल बनेको अर्थतन्त्र बिस्तारै जुरमुराएसँगै उद्योगी-व्यवसायीहरूमा उत्साह पलाउन थालेको छ । महामारीले गम्भीर सङ्कटमा फसेका कयौँ नेपाली उद्योगहरूले नयाँ लगानीसहित उठ्ने प्रयास गरिरहँदा बैङ्किङ प्रणालीमा पनि ऋण माग अत्यधिक बढेको देखिन्छ । एकातिर उद्योगहरूमा लगानी सङ्कट छ भने अर्कोतिर बैङ्कहरूमा तरलता अभाव चुलिएको छ । उद्योगी किशोर प्रधान केही निश्चित व्यवसायीको मुठ्ठीमा देशको अर्थतन्त्र अड्केको बताउँछन् । अहिले २० देखि ३० जना उद्योगीहरूले सिङ्गो देशलाई हाँकिरहेको र ती व्यवसायीले कानुनको सीमा नाघेको उनको दाबी छ । यो बेला नेपाली उद्योगहरूको वास्तविक अवस्था कस्तो छ त ? लगानी, चुनौती तथा तरलता सङ्कुचनबारे उद्योगी प्रधानसँग नेपाली समाचारका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंश :-

कोरोना महामारीपछि उद्योग क्षेत्रको अवस्था कस्तो छ ?
नेपालका उद्योगहरूले आन्तरिक उत्पादनमा जोड दिन सकेका छैनन् । आन्तरिक उत्पादनलाई बजारमा पुर्‍याउन र यसको बजार बिस्तार गर्नका लागि सरकारले सहयोग गरेको छैन । यसले रोजगारीलाई बढवा दिँदै अर्थतन्त्र वृद्धिमा सहयोग गर्छ । तर संसारभर कोरोना महामारीको सङ्कट बढेसँगै आन्तरिक उत्पादन ठप्पजस्तै बनेर आयातमा मात्रै जोड दिइएको छ । महामारीको असर उद्योग क्षेत्रले नराम्ररी बेहोर्नुपरेको छ । त्यो सङ्कटबाट बिस्तारै माथि उठ्ने प्रयास गरिरहेका उद्योगहरूलाई अहिले बैङ्किङ प्रणालीमा देखिएको तरलता अभावको समस्याले झनै अप्ठेरो पारिदिएको छ । यसतर्फ नत उद्योगीका छाता सङ्गठनको ध्यान गएको छ नत, सरकारले नै उद्योगीको मर्कालाई सम्बोधन गरेको छ । समग्रमा सङ्कटपूर्ण अवस्थाबाटै चलिरहेको छ नेपाली उद्योग क्षेत्र ।

महामारीले उत्पन्न गरेको सङ्कटसँग उद्योगीहरू जुधिरहेका बेला बैङ्किङ प्रणालीमा कर्जाको माग अत्यधिक बढेको देखिन्छ । यसलाई कसरी बुझ्ने ?
महामारीको अवधिमा उत्पादन ठप्प बनेको थियो । अहिले पनि उद्योगहरू पूर्णतया सञ्चालन हुन सकेको छैन । महामारीकालमा भएको ह्रासलाई परिपूर्ति गर्दै अहिले बिस्तारै उद्योग चलायमान हुँदै गएको छ, यो अवस्थामा भएको मागलाई सम्बोधन त गर्नुपर्‍याे नि ! कोरोना महामारीमा सानादेखि ठूला सबै उद्योगलाई असर परेको छ । त्यो असरलाई सम्बोधन गर्दै पुनः स्थापित हुनका लागि अझै थप पुँजी चाहिएको छ । यस्तो अवस्थामा कर्जाको माग त बढिहाल्छ नि । महामारीको सङ्कटमा साना र मझौला उद्योगीहरू बढी परे, समस्या त सबैलाई छ । यी उद्योगीहरूलाई माथि उठ्नको लागि बढी लगानी आवश्यक छ । तर बैङ्कहरूले ठूला उद्योगीलाई प्राथमिकतामा राखेका छन् । बैङ्कहरूले लगानीका लागि प्राथमिकतामा राख्नुपर्ने उद्योग साना हुन् । आत्मनिर्भर हुने गरी उत्पादन क्षमता भएका उद्योगहरूलाई प्रवर्द्धन नगरी सरकारले आयातलाई जोड दिइरहेको अवस्था छ । अहिले हाम्रो औषधि उद्योग तथा निर्माण सामग्री उत्पादन गर्ने उद्योग सक्षम भइसकेका छन्, ती आत्मनिर्भर बन्न सक्ने अवस्थामा छन् । तिनीहरूलाई प्रवर्द्धन गरेको खोइ त ? यसले एकातिर हाम्रो व्यापार घाटा बढाइरहेको छ भने अर्कोतिर उद्योगीहरू निरुत्साहित भइरहेका छन् ।

उद्योग स्थापना र सञ्चालनका क्रममा नीतिगत झमेलाहरू धेरै छन्, भन्न खोज्नुभएको हो ?
अहिलेको सबैभन्दा ठूलो समस्या भनेको समयमा निर्णय नहुनु हो । कुनै कामका लागि सम्बन्धित निकायमा फाइल पठायो भने लामो समयसम्म अघि बढ्दैन । यसो हुँदा उद्योग स्थापनाको समयावधि लम्बिने र लागत बढ्ने हुन्छ । यसको प्रत्यक्ष मारमा उपभोक्ता नै पर्ने हुन् । अहिले त व्यावसायिक भनिएका बैङ्कहरूले पनि महिनौँ फाइल अड्काउने गरेका छन् । कुनै पनि फाइल सरकारी निकाय वा बैङ्कमा बुझाइसकेपछि पहिलो कुरा त कागजात पूरा भएको छ वा यो-यो कुरा पुगेन भने भनिदिनुपर्‍याे नि । हामीले सुरुमा वाणिज्य बैङ्कहरूलाई जुन उत्साहका साथ प्रमोट गरेका थियौँ, तिनको उपादेयता खासै देखिएन, अहिले त उनीहरू ‘महाजन’जस्ता भइसकेका छन् । एउटा बैङ्कबाट लोन निकासा गर्नका लागि ६-७ महिना लाग्न थालिसकेको छ ।

अर्को समस्या आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न नसक्नु हो । जबसम्म हामी आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्दैनौँ तबसम्म यहाँको उत्पादन बढेर निर्यातमुखी बन्नै सक्दैन । किनभने नेपालले उत्पादन गरेको सामग्री त यहीँ खपत हुने र वस्तुले बजार पाउने अवस्था सृजना गर्नुपर्‍या नि ! जस्तो कि, नेपाली औषधि बजारले एक घण्टामा पाँच हजार ट्याब्लेट बनाउन सक्छ भने त्यही काम चीन र भारतमा ५० लाख प्रतिघण्टा बनाउने क्षमता होला । तर नेपालमा उत्पादन भएको पाँच हजारले नै बजार पाएन भने बाँकी उत्पादन किन गर्छ उद्योगले ?

तेस्रो समस्या भनेको देशको अस्थिर राजनीति हो । हामीले लामो समय कुरेर अनि दुःख झेलेर राजनीतिक स्थायित्व हुन्छ भन्ने अपेक्षा गरेका थियौँ । तर त्यस्तो हुन सकेन । राजनीतिक स्थायित्व नहुँदा गम्भीर समस्या भइरहेको छ । नीतिगत निर्णयहरू समयमा हुँदैनन् । नयाँ काम सुरु गर्न अन्योल छ । नयाँ उद्योग सुरु गर्नेहरू डराइरहेका छन् । यस्तो बेलामा उद्योग क्षेत्रमा खास प्रगति हुन सक्दैन । केही निश्चित व्यवसायीहरूले मात्रै कमाइरहेका छन् ।

तपाईँले भनेका यी सबै समस्याको कारण चाहिँ के हो त ?
यसको कारण भनेको नियामक निकायको नियमनमा कमजोरी हो । देशको अर्थतन्त्र सरकारको हातमा छैन । केही निश्चित व्यवसायीको मुठ्ठीमा देशको अर्थतन्त्र अड्केको छ । अहिले २० देखि ३० जना उद्योगीहरूले सिङ्गो देशलाई हाँकिरहेको देखिन्छ । उनीहरूले हाम्रो सरकारमा रहेका सबैलाई पैसाको आडमा आफ्नो मुठ्ठीमा पारिरहेका छन् । ती व्यवसायीले कानुनको सीमा नाघिसकेका छन् । संविधानभन्दा पनि माथि रहेर काम गरिरहेका छन् र उनीहरूलाई सबैभन्दा ठूलो पैसा नै लाग्छ । उनीहरूले देशका सबै राजनीतिज्ञ र कर्मचारीतन्त्रलाई किनेर पूरै देश आफ्नो हातमा लिइसकेका छन् । यतिसम्म भइरहेको छ कि, उनीहरूले चाहे भने सचिव सरुवा गरिदिने, कुनै मन्त्रीलाई निकालिदिनेसम्मका काम गर्न सक्ने अवस्था छ । तिनीहरूले सम्पूर्ण सिस्टमलाई ह्याक गरिसकेका छन् । पूरै अर्थतन्त्र चकनाचुर पारिसकेका छन् । यस्तो काम हाम्रै साथीभाइ गरिरहेका छन् । यसको कारण नै हाम्रो कमजोर कर्मचारीतन्त्र र राजनीति हो ।

अहिलेको अवस्थामा अर्थतन्त्र सुधार्ने कि जनताको स्वास्थ्यको चिन्ता गर्ने भन्ने प्रश्नमा समाज रुमल्लिइरहेको छ । यहाँको विचारमा अब कसरी अगाडि बढ्नुपर्छ ?
देशलाई समृद्धितर्फ लैजानका लागि निजी क्षेत्रको लगानी आवश्यक छ र चाहिन्छ । निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म लगानी र आर्थिक विकास समृद्धि आउन सक्दैन । निजी क्षेत्रमैत्री भन्दैमा यस क्षेत्रका समस्या समाधानका लागि सरकारसँग त्यो तहको इच्छाशक्ति र प्रतिबद्धता छ कि छैन, भन्ने कुराले महत्त्व राख्छ । देशका अर्थतन्त्रको मेरुदण्ड भनेकै साना तथा मझौला व्यवसाय नै हो । उनीहरूको समस्या कोभिड-१९ का कारण सम्बोधन हुन सकेको छैन । केहीलाई पछिल्लो समय आएको मौद्रिक नीतिले सम्बोधन गरेको छ, तर धेरै व्यवसायमा विकराल समस्या छ । यो बेला सबै उद्योगीलाई प्रोत्साहन दिनुपर्छ । अब कोभिडसँग जुध्दै अघि बढ्नुपर्नेछ । खोपलाई प्राथमिकतामा राख्न जरुरी छ । जुन देशमा खोपको पहुँच ६० प्रतिशतमाथि छ त्यहाँ कोभिडको अर्को लहर आउँदा पनि असर न्यून छ । कोभिडसँग जुध्नका लागि खोपबाहेक अन्य कुनै विकल्प म देख्दिनँ ।

नेपाल राष्ट्र बैङ्कले यसै साता सार्वजनिक गरेको मौद्रिक नीतिले अर्थतन्त्रलाई पुनर्जीवन दिन कत्तिको सफल होला ?
अहिलेको मौद्रिक नीतिमा हामीले धेरै कुराहरू सकारात्मक देखेका छौँ । केही पुराना व्यवस्थाको निरन्तरता पनि छन् । अघिल्लो पटक ती व्यवस्थाले अर्थतन्त्रलाई तङ्ग्राउन सफल भएको थियो, जुन निकै सकारात्मक छ । मलाई धेरै उत्साहित गरिरहेको कुरा, साना व्यवसायीहरू जसले बैङ्कबाट कर्जा लिएका छन् उनीहरूलाई बेस रेटभन्दा २ प्रतिशत नबढाई ब्याज लिन पाउने व्यवस्था छ । किनभने ठूला व्यवसायीले जहिले पनि बैङ्कसँग राम्रो नेगोसिएट गर्न सक्छन् । साना व्यवसायीहरूलाई बैङ्कहरूले बेस रेटभन्दा ५-६ प्रतिशतसम्म बढी लिएका उदाहरणहरू रहेका छन् । अहिलेको मौद्रिक नीतिले २ प्रतिशतभन्दा धेरै लिन नपाइने व्यवस्था गर्नु स्वागतयोग्य कुरा हो । अर्को कुरा, कालोसूचीमा राख्न बैङ्कहरूलाई जुन असीमित अधिकारहरू दिइएको छ, त्यसमा पनि पुनर्विचार हुन्छ भनेर मौद्रिक नीतिमा आएको छ । यी लगायत अन्य सकारात्मक व्यवस्थाहरू छन् । तर कार्यान्वयनमा समस्या देखिन्छ । यसतर्फ सबै पक्षको ध्यान जानुपर्छ ।

अन्त्यमा, तपाईँको आफ्नो उद्योगको अवस्था के छ ?
अहिले मैले चारवटा उद्योग चलाइरहेको छु । ती चारवटै कंक्रिटबेस हुन् । मेरो लगानी अहिलेसम्म निर्माण व्यवसाय र बिजुलीको पोलमा छ । कोरोनाकालमा मैले पनि निकै सङ्कट व्यहोर्नुपर्‍याे । किनभने जति उत्पादन भयो त्यसमध्ये अधिकांश स्टक नै रह्यो । मेरा उद्योगले उत्पादन गरेका वस्तुहरू दैनिक उपभोग गर्न मिल्दैन । अब बिस्तारै माथि उठ्ने प्रयास गरिरहेका छौँ र नयाँ उद्योगमा लगानी गर्ने तयारी पनि गरिरहेका छौँ । सिमिलर टाइपको उद्योगहरू आगामी एक-डेढ वर्षमै सञ्चालनको तयारीमा छौँ ।

तपाईको प्रतिक्रिया