सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडौं – सभामुख अग्नि सापकोटा अन्तरव्यवस्थापिका संघ (आईपीयू) सम्मेलनमा भाग लिन युरोप जाने भएका छन्। पद सम्हालेयता सभामुख सापकोटा पहिलो विदेश भ्रमणमा जान लागेका हुन्। आईपीयूको १ सय ४३ औं सम्मेलन मंसिर १० देखि १४ गतेसम्म स्पेनको मड्रिडमा हुँदै छ।

सभामुखको नेतृत्वमा ९ सदस्यीय टोली जान लागेको संघीय संसद् सचिवालयले जनाएको छ। सभामुखको टोलीमा सांसदहरू देव गुरुङ, लक्ष्मी चौधरी, प्रमिला कुमारी, अगम बान्तवा, संसद् सचिवालयका महासचिव भरत गौतम, प्रतिनिधिसभा सचिव गोपालनाथ योगी, सभामुखका स्वकीय सचिव सागर केसी र संसद् सचिवालय अधिकृत सुरेश सेढाईं छन्।

सापकोटा यसअघि अस्ट्रियाको भियनामा भएको सभामुखहरूको सम्मेलनमा गएनन्। उनले अन्तिम समयमा भ्रमण स्थगन गरेका थिए। उक्त सम्मेलनमा राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहाल गएकी थिइन्।
संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भ्रमणका लागि कार्यक्रम बनाएर अर्थ मन्त्रालयमा बजेट माग गरिएको जानकारी दिए। बजेट उपलब्ध भएपछि अन्य कार्यक्रम टुंगो लाग्ने प्रवक्ता पाण्डेको भनाइ छ।

सम्मेलनमा सभामुखले उठाउने एजेन्डाको विषयमा पनि तयारी भई नसकेको उनले बताए।  आईपीयूको १ सय ४१ औं सम्मेलनमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेनाले भाग लिएका थिए। सभामुख सापकोटा र अध्यक्ष तिमिल्सेनाले पालैपालो आईपीयू सम्मेलनमा भाग लिने सहमति गरेका छन्।

तपाईको प्रतिक्रिया