Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – तिहारको सामान किन्न एकै स्कुटरमा सवार दिदीभाइलाई मालवाहक ट्रकले ठक्कर दिंदा भाइले ज्यान गुमाएका छन् भने दिदी गम्भिर घाइते भएकी छिन् ।

नेपालगञ्ज–सुर्खेत सडकखण्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर–११ मा ठूलोब्यूरेनीमा बिहीबार मालबाहक ट्रकले स्कुटरलाई ठक्कर दिंदा नेपाली सेनामा कार्यरत भाइको ज्यान गएको हो । ट्रकले ठक्कर दिंदा स्कुटर हाँकिरहेका भेरीगंगा नगरपालिका–१२ छिन्चु निवासी २६ वर्षीय रविन राना मगरको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका अनुसार रविनकी दिदी रानी राना मगर गम्भीर घाइते भएकी छिन् । उनको अहिले कर्णाली प्रदेश अस्पतालको आइसीयूमा राखेर उपचार हुँदैछ । तिहारको सामान किन्न छिन्चुबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२०० प ७६६९ स्कुटरलाई जुम्लाबाट नेपालगञ्ज गइरहेको कर्णाली प्रदेश ०२–००१ प ०१२४ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटना ट्रक चालक फरार भएका छन् । नेपाली सेनामा कार्यरत रविनले चार वर्षदेखि तिहारमा दिदीको हातबाट टीक लगाउन पाएका थिएनन् । चार वर्षअघि नेपाली सेनामा लागेका उनी रूकुम पश्चिमस्थित सैनिक गणमा कार्यरत थिए । लक्ष्मीपूजाको दिन बिहीबार उनी तिहारको बिदा लिएर छिन्चुस्थित घर पुगेका थिए ।

रविन पुगेपछ दिदी भाइ नै तिहारको सामान किन्न दिउँसो वीरेन्द्रनगर लागेका थिए । सेनामा भर्ती भएयता यी दिदीभाइले तिहारको टीका लगाउन पाएका थिएनन् । तिहारको सामान किन्न वीरेन्द्रनगर नगरपालिका–११ स्थित ठूलो व्युरेनीमा पुगेको अवस्थामा उनीहरुलाई ट्रकले हानेको थियो । ट्रकको ठक्करबाट रविनको घटनास्थलमै मृत्यु भएको थियो ।

रविनले यही दशैँमा बिहे गरेका थिए । परिवारका नातेदारको निधन भएकाले उनले श्रीमतीलाई घर भित्र्याउन पनि पाएका थिएनन् । उनले नव विवाहित दुलहीलाई छिन्चुमै राखेका थिए । अंग्रेजीमा मास्टर्स गरेकी दिदी २९ वर्षीया रानी भने छिन्चुस्थित एक निजी विद्यालयकी शिक्षिका हुन् ।

तपाईको प्रतिक्रिया