आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडाैं – आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाएका छन् । आयल निगमले गएको शुक्रबारदेखि ८६ रुपैयाँ प्रति लिटर हवाई इन्धनमा १० रुपैयाँ वृद्धि गर्दै ९६ रुपैयाँ पुर्‍याएपछि आन्तरिक उडानमा रहेका वायुसेवाले हवाई भाडामा यात्रुले तिर्ने फ्युल सर चार्ज ११.६ प्रतिशतले वृद्धि गरेका हुन् ।

वायुसेवा कम्पनीले समेत सोही दरमा हवाई भाडामा इन्धनको शूल्क वृद्धि गरेका हुन् । सरकारले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीले ४४० रुपैयाँसम्म मूल्य वृद्धि गरेका छन् । काठमाडौँबाट पर्वतीय उडानमा अब साबिकको तुलनामा ३४५ रुपैयाँ बढी तिर्नुपर्ने भएको छ ।

काठमाडौँ भद्रपुरमा ३ सय, विराटनगरमा २४०, जनकपुरमा १३०, भरतपुरमा १०५, पोखरामा १५५ र भैरहवामा २०५ रुपैयाँ इन्धन चार्ज बढी लाग्ने वायुसेवा सञ्चालक सङ्घले जनाएको छ । सबैभन्दा कम काठमाडौँबाट सिमरा उड्ने यात्रुले तिर्नुपर्छ । यो रुटका लागि इन्धनको चार्ज ९५ रुपैयाँ बढी लाग्ने छ ।

काठमाडौँबाट नेपालगञ्जमा ३३०, तुम्लिङटारमा १८५, सुर्खेतमा ३४५ र राजविराजमा २०५ रुपैयाँ बढी लाग्ने छ । पोखरा-भरतपुरमा ११०, पोखरा-भैरहवामा १३०, पोखरा-सिमरामा २२०, पोखरा-नेपालगञ्जमा २३५, पोखरा-विराटनगरमा ३५५ र पोखराबाट पर्वतीय उडानमा अब ३१५ रुपैयाँ बढी लाग्ने छ ।

विराटनगरबाट पर्वतीय उडानमा ३२०, विराटनगरबाट तुम्लिङटारमा १०५ रुपैयाँ बढी लाग्ने छ । भरतपुर-भैरहवा रुटमा १३५ रुपैयाँ इन्धन चार्ज बढेको सङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया