बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

काठमाडौँ – कांग्रेस पदाधिकारीसँगको छलफलमा सहमति भएअनुसार केन्द्रीय निर्वाचन समितिले मंसिर २७ देखि ३० गतेसम्मा सम्पन्न गर्ने गरी १४औं महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्ने भएको छ ।

कांग्रेस निर्वाचन समितिको बुधबारको बैठकले महाधिवेशनको नयाँ मिति तय गर्दै कार्यतालिका बनाए पनि आज बिहीबार मात्र सार्वजनिक गर्ने जनाएको छ । निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार नयाँ कार्यतालिकाको खाका तयार भए पनि निर्णय हुन बाँकी भएकोले आज मात्र सार्वजनिक गर्न लागिएको हो ।

यसअघि मंसिर ९ गतेदेखि १३ गतेसम्म गर्ने भनिएको महाधिवेशनको कार्यतालकाअनुसार तल्लो तहको अधिवेशन प्रभावित भएपछि मिति सारिएको हो । मंगलबार कांग्रेस पदाधिकारीसहित बसेको निर्वाचन समितिको बैठकमा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिरभित्रै महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउन निर्वाचन समितिलाई म्यान्डेट दिनुभएको थियो ।

कांग्रेसले हालसम्म १३ जिल्ला अधिवेशन गरेको छ भने ४७ जिल्लामा पालिकासम्मको अधिवेशन गरेको छ । ६४ जिल्लामा वडा अधिवेशनको प्रक्रिया अघि बढाइसकेको कांग्रेसको प्रदेश–२ लगायत १३ जिल्लामा अधिवेशन प्रक्रिया नै शुरु हुन सकेको छैन । कांग्रेस निर्वाचन समितिका सदस्य घिमिरेका अनुसार अधिवेशन प्रक्रिया नै शुरु हुन नसकेका १३ जिल्लामा १३ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको छ ।

निर्वाचन समितिका अनुसार कात्तिक ३० गते पालिका अधिवेशन र मंसिर ३ गते अधिवेशन हुन बाँकी सबै जिल्लामा प्रदेश क्षेत्रको अधिवेशन हुनेछ । मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशनको मिति तोकिएको छ । नयाँ कार्यतालिकाअनुसार मंसिर १६ र १७ गते सातवटै प्रदेशको अधिवेशन गरिने छ । दुई वर्षअघिदेखि महाधिवेशनको तयारीमा जुटेको कांग्रेसले योसमेत गरी पाचौंपटक महाधिवेशनको मिति सारेको हो ।

तपाईको प्रतिक्रिया