शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडाैं – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् । पूर्वमन्त्री समेत रहेका उनले सरकारले आफ्नो काममा गति पक्रन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता थापाले दुई छिमेकी मुलुक भारत र चीनबाट फाइदा लिने मौका नचुकाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

‘यो सरकारले जुन गति पक्रनुपर्ने हो, त्यो गति हामीले पक्रन सकेका छैनौँ । त्यसैले डर लागेको छ, नेपाली नागरिक भएर । जसरी हामीले २००७ सालपछिको समय खेर फाल्यौँ । फेरि हामीले अब अर्को मौका खेर फाल्दै छौ कि भन्ने डर लाग्न थालेको छ,’ उनले भने ।

थापाले विद्युत् खपत बढाउने विषयमा सोच्न पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे । उनले विद्युत् खपत बढाउने बेला आएको र त्यसका लागि सरकारले योजनाबद्ध सोच अगाडि ल्याउन ढिलाइ गर्न नहुने स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया