बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडाैं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काभ्रेमा जिपलाइन चढेका छन् । शुक्रबार पारिवारिक भ्रमणका रहेका प्रचण्डले जिपलाइन खेलेर मज्जा लिएका धुलिखेल जिपलाइन सञ्चालक वर्ल्ड वाइड एडभेन्चर प्रालिले जनाएको छ ।

नाति, नातिनीसहित धुलिखेल पुगेका प्रचण्डले आफैँले क्लासिक जिपलाइनको अनुभव लिएका छन् । साहसिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको बताए । पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको प्रचण्डको भनाई छ ।

काठमाडौँबाट करिब ३५ किलोमिटर दूरीस्थित धुलिखेल जिपलाइन २०७५ फागुनदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो । धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्याण्डिङ स्टेसन रहेको छ भने जिपलाइनको कुल दूरी एक हजार एक सय अर्थात् १.१ किलोमिटर रहेको छ ।

उक्त दूरीमा क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरी ३ प्रकारका जिपलाइनको सुविधा रहेको छ । यसका साथै कम्पनीले ८ फरक एडभेन्चर कोर्ससहित एडभेन्चर पार्क समेत सञ्चालनमा ल्याएको छ । जिपलाइन सञ्चालित स्थानबाटै प्रसिद्ध हिमशृङ्खला लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायतका हिमाल समेत अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया