शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडाैं – जनमत पार्टीले अब मेयर, सांसद र मन्त्रीहरूलाई समेत जनकारबाही गरिने चेतावनी दिएको छ । जनमत पार्टीका कार्यकर्ताले हिजो खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न बनाएर हिलो छ्यापेर जनकपुर घुमाएका थिए ।

कर्मचारीमाथि भएको दुर्व्यवहारको चौतर्फी विरोध भइरहँदा जनमत पार्टीका अध्यक्ष सिके राउतले आज बिहान सामाजिक सञ्जालमार्फत अब मेयर, सांसद र मन्त्रीलाई पनि जनकारबाही गर्ने धम्की दिएका हुन् । राउतले आफ्नो आधिकारिक फेसबुकमा लेखेका छन्, ‘जनतामा धेरै माग छ, मेयरको । मेयर मात्रै हैन, सुध्रेन भने सांसद र मन्त्रीमाथि पनि जनकारबाही हुनेछ ।’

धैर्यता राख्दै अगामी कारबाही हेर्दै जान राउतले उल्लेख गरेका छन् । उनले हिजो जनताले कारबाहीको लागि जनकपुरका मेयरलाई नै खोजेको, तर उनले भागेर ज्यान जोगाएको उनको दाबी छ । ‘हिजो जनताले मेयरलाई नै खोजेका थिए । तर मेयरले लुकेर ज्यान जोगाए,’ उनले उल्लेख गरेका छन् ।

बिहीबार दिउँसो जनमत पार्टीका नेता कार्यकर्ताले जनकपुरस्थित नेपाल खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश कुशवाहालाई कार्यालयबाट तानेर कुटपिट गर्दै अर्धनग्न बनाएर जनकपुर बजार घुमाइ अमानवीय व्यवहार गरेका थिए।

उनले पहिले गालामा थप्पड हान्न दिने र बदलामा फूल दिने स्वतन्त्र मधेस गठबन्धनका संयोजक भएको र अहिले आफू जनमत पार्टीको संयोजक भएको उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया