मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौँ – अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’ सार्वजनिक गर्ने योजना घोषणा गरेका छन् । उनले अध्यक्षता गर्ने ट्रम्प मिडिया एन्ड टेक्नोलजी ग्रूप टीएमटीजीले सामाजिक सञ्जाल ल्याउने भएको हो ।

उक्त सामाजिक सञ्जाल ठूलो प्रविधि कम्पनीको अत्याचारविरुद्ध उभिने ट्रम्पको भनाई छ । अहिलेका ठूला प्रविधि कम्पनीले अमेरिकाका विद्रोही आवाजलाई स्थान नदिएको उनले दाबी गरे । टीएमटीजीले भिडिओ स्ट्रीमिङ सेवा पनि सुरु गर्ने बताइएको छ ।

ट्रम्पका समर्थकहरूको भिड अमेरिकी संसद् भवनमा प्रवेश गरेको घटनापछि उनलाई ट्विटर र फेसबुकजस्ता सामाजिक सञ्जालहरूबाट निलम्बित गरिएको थियो । त्यसयता उनी र उनका सल्लाहकारहरूले वैकल्पिक सामाजिक सञ्जाल सुरु गर्ने सङ्केत गरिरहेका छन् ।

यो वर्षको सुरुमा ट्रम्पले फ्रम द डेस्क अफ डोनल्ड जे ट्रम्प नामको साइट सुरु गरेका थिए जसलाई उनको ब्लग भन्ने गरिएको थियो । तर सो साइट एक महिनापछि नै स्थायी रूपमा बन्द गरियो । उनका तात्कालिक प्रमुख सहायक जेसन मिलरले त्यसलाई उनीहरूले काम गरिरहेको ठूलो प्रयासको एउटा सहयोगी अंश मात्रै भएको बताएका थिए ।

टीएमटीजीका अनुसार ट्रूथ सोशलको आगामी महिना केही आमन्त्रित प्रयोगकर्ताका लागि तयार हुनेछ अनि त्यसपछि सन् २०२२ को पहिलो तीन महिनामा अमेरिकामा उपलब्ध हुनेछ । ट्रम्पले लेखेका छन्, ‘हामी यस्तो संसारमा बाँचिरहेका छौँ जहाँ तालिबानको ट्विटरमा ठूलो उपस्थिति छ तर तपाईँको मन पर्ने अमेरिकी राष्ट्रपतिलाई चुप लगाइएको छ ।’

टीएमटीजीले भिडिओ सेवामा समाचार, पडकास्ट र अन्य सुविधा उपलब्ध हुनेछ । ट्रम्पको घोषणा उनको पूर्वसहयोगी जेसन मिलरले गेटर नामक अर्को सामाजिक सञ्जाल कम्पनी सुरु गरेको महिनापछि आएको हो ।

तपाईको प्रतिक्रिया