बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौँ – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई पराजित गरेको छ ।

समूह ‘बी’ अन्तर्गत मंगलबारराति लिभरपुलले १० खेलाडीमा सीमित घरेलु टोली एट्लेटिकोलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

वान्डा मेट्रोपोलिटानो स्टेडियममा पाहुना टोलीको जितमा मोहम्मद सलाहले २ र नेबी केइटाले १ गोल गर्दा एट्लेटिकोका लागि दुवै गोल एन्टोनियो ग्रिजम्यानले गरे ।

खेलको आठौं मिनेटमा सलाहले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । १३औं मिनेटमा केइटाले लिभरपुलको अग्रता दोब्बर बनाए । खेलको २०औं र ३४औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै एट्लेटिकोलाई २–२ को स्थितिमा ल्याए । ५२औं मिनेटमा ग्रिजम्यानले रातो कार्डको समान गरेपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो । ७८औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई रोमान्चक जित दिलाए । च्याम्पियन्स लिगमा एट्लेटिकोविरुद्ध यो लिभरपुलको पहिलो जित हो । यसअघिका ४ भेटमा २ खेल बराबरीमा सकिँदा २ खेलमा एट्लेटिको विजयी भएको थियो ।

लगातार तेस्रो जित निकालेको लिभरपुल ९अंकका साथ समूह ‘बी’को शीर्ष स्थानमा कायम रहँदा समान खेलबाट ४ अंक जोडेर एट्लेटिको दोस्रो स्थानमा छ ।
यही समूहको अर्को खेलमा एफसी पोर्टोले एसी मिलानमाथि १–० को कठिन जित हात पारेको छ ।

तपाईको प्रतिक्रिया