शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – देशभित्रको इन्टरनेट ब्यान्डविथ खपत हालसम्मकै उच्च भएको छ । साफ च्याम्पियनसिप अन्तर्गत आइतबार नेपाल भारत बीच भएको फुटबल खेलका दौरान इन्टरनेट ट्राफिकले नयाँ कीर्तिमान राखेको हो ।

इन्टरनेट एक्सचेन्ज नेपालका अनुसार आइतबार भएको दुई देशबीचको फुटबल खेलको दोस्रो हाफमा इन्टरनेट ट्राफिक प्रति सेकेन्ड ५४.४४० गिगाबिट्ससम्म पुगेको हो । जुन यसअघि युरोकप फुटबल प्रतियोगिताको दौरानमा भएको इन्टरनेट खपत भन्दा बढी हो ।

यो इन्टरनेट ट्राफिक देश बाहिरबाट आएको वा नेपालबाट विदेशमा गएको इन्टरनेट ब्यान्डविथ बाहेकको हो । स्थानीय कण्टेन्ट सेवाप्रदायक (नेटटिभी, डिशहोम गो, प्रभु टिभी आदि) को प्रयोग बढ्दै जाँदा लोकल ब्यान्डविथ (स्थानीय इन्टरनेट ब्यान्डविथ) उत्पादन तथा खपतमा ठूलो सहयोग पुग्न थालेको छ ।

यसअघि युरोकप अन्तर्गत ४९.८८९ जिगाबिट्स प्रति सेकेन्ड लोकल ब्यान्डविथ खपत भएको थियो । सामान्य अवस्थामा नेपालको आन्तरिक ब्यान्डविथ खपत ८ देखि ११ जिगाबिट्स प्रतिसेकेन्डको बीचमा रहने गरेको छ ।

इन्टरनेट एक्सचेन्ज नेपालले देशभित्रै बहने इन्टरनेट ब्यान्डविथलाई एउटा सेवाप्रदायकबाट अर्को सेवाप्रदायकबीच आदान प्रदान गराउने र त्यसको तथ्याङ्क राख्ने काम गर्दै आएको छ । बढीभन्दा बढी स्थानीय ब्यान्डविथ खपत बढाएर अन्तर्राष्ट्रिय ब्यान्डविथ आयातमाथिको निर्भरता कम गर्ने उद्देश्यका साथ एनपीआईएक्सको स्थापना भएको हो ।

तपाईको प्रतिक्रिया