शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – नेपालमा कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले सङ्क्रमण घटेको जनाएको हो । मन्त्राययका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६० प्रतिशतले सङ्क्रमण घटेको जानकारी दिए ।

उनका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय सङ्क्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो सङ्ख्या १५ हजार ९४२ पुगेको छ । उनले यो सङ्क्रमणमा उल्लेख्य कमी देखिएका कारणमध्ये कोरोना भाइरस विरुद्धको खोपको पनि योगदान रहेको बताए । साथै भाइरसबाट बच्न नेपाल सरकारले अख्तियार गरेको नीति तथा सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागु गर्नु सङ्क्रमण घट्नुको अर्को कारण भएको उनले बताए ।

शनिबार मात्र १२ हजार ३१ जनामा कोरोना परीक्षण गर्दा ७६० जनामा सङ्क्रमण देखिएको थियो । अहिले कूल परीक्षणमा ७ प्रतिशत मात्र सङ्क्रमण देखिने गरेको उनले बताए । हिजो सक्रिय सङ्क्रमित १५ हजार ३४० जना रहेका थिए । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा मोरङ्, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही रहेका छन् ।

नेपालमा सङ्क्रमण दर १८.७ प्रतिशत र सङ्क्रमणमुक्त हुने दर ९६.७ प्रतिशत रहेको छ । त्यस्तै नेपालमा कोरोना भाइरस विरुद्धको खोप लक्ष्यअनुसार लगाएको पाइएको छ । असोज मसान्तसम्म कूल जनसङ्ख्याको ३३ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य रहेकोमा अहिलेसम्म पहिलो मात्रा ४० प्रतिशत र पूर्णमात्रा ३२ प्रतिशतलाई लगाइएको मन्त्रालयका प्रवक्ता डा पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया