शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं — दोस्रो हाफमा मैदान छिरेका इंग्लिस फरवार्ड ह्यारी केनले २० मिनेटको अन्तरमा ह्याट्रिक पुरा गरेपछि इंग्लिस क्लब टोटेनहम हटस्परले युरोपा कन्फ्रेन्स लिगमा सानदार जित दर्ता गरेको छ ।

घरेलु मैदानमा टोटेनहमले स्लाभेनियाको एनएस मुरामाथि ५–१ को फराकिलो जित निकालेको हो । डेल अली र जियोभानी लो सेल्सोले समान एक गोल गरे । मुराका जिगा कोअसले एक गोल फर्काए ।

टोटेनहम हटस्पर स्टेडियममा बिहीबार राति भएको खेलको चौथो मिनेटमा नै डेल अलीको पेनाल्टी गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । आठौं मिनेटमा जियोभानी लो सेल्सोले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । उनले ह्यारी विङ्सको पासमा गोल गरेका थिए ।

५३औं मिनेटमा जिगा कोअसले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । त्यसपछि टोटेनहमका सब्सिच्युट खेलाडी केनसँगै लुकास मोउरा र ह्युङ मिन सन नायक बने । ५९औं मिनेटमा मैदान छिरेका ह्यारी केनले सोही समयमा मैदान छिरेका लुकास मोउराको पासमा ६८औं मिनेटमा गोल गर्दै टोटेनहमलाई ३–१ ले अघि बढाए ।

७६औं मिनेटमा अर्काे सब्सिच्युट मिडफिल्डर ह्युङ मिन सनको पासमा केनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै टोटेनहमलाई ४–१ को फराकिलो अग्रता दिलाए । ८७औं मिनेटमा केनले लो सेल्सोको पासमा ह्याट्रिक पुरा गरेपछि टोटेनहमले फराकिलो जित निकाल्न सफल भयो ।

यो जितसँगै टोटेनहम समूह ‘जी’ मा दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । समान ४ अंक नै रहेपनि रेनेस दोस्रो स्थानमा रहेको छ । भिटेसको ३ तथा मुरा अंकविहीन हुदै पुछारमा छ

तपाईको प्रतिक्रिया