राष्ट्रसंघमा मोदीले भने- विश्‍वको अगाडि आतंकवादको खतरा छ

काठमाडाैं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्‍वको अगाडि आतंकवादको खतरा मडारिरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको जारी ७६ औं महासभालाई शनिबार सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले अफगानिस्तानको माटो आतंकवादको लागि प्रयोग नहोस् भन्‍ने कुराको सुनिश्‍चितता गर्नतर्फ जोड दिनुपर्ने बताएका छन् ।

आफ्नो सम्बोधनका सुरुमा प्रधानमन्त्री मोदीले भने, ‘गत डेढ वर्षदेखि पूरा विश्‍व पछिल्लो सय वर्षयताकै सबैभन्दा ठूलो महामारीको सामना गरिरहेको छ । यस्तो भयंकर महामारीमा जीवन गुमाउने सबैप्रति श्रद्धाञ्‍जली र परिवारजनप्रति गहिरो समवेदना ।’

उनले थपे, ‘म त्यो देशको प्रतिनिधित्व गरिरहेको छु, जसलाई ‘मदर अफ डेमोक्रसी’ को गौरवको प्रतिकको रुपमा मानिन्छ । जहाँ लोकतान्त्रिक परम्मपराको एक हजार वर्षभन्दा पुरानो इतिहास छ । १५ अगस्तमा भारतले आफ्नो स्वतन्त्रताको ७५ वर्ष पूरा गरेको छ । हाम्रो विविधता, हाम्रो सशक्त लोकतन्त्रको पहिचान छ । जहाँ दर्जनौं भाषा छन् भने सयौं बोलिको लवज छ । रहनसहन, खानपानमा विविधता छ भने भाइब्रेन्ट डेमोक्रेसीको उदाहरण हो ।’

उनले सबैभन्दा लामो समयसम्म गुजरातको मुख्यमन्त्री र पछिल्लो सात वर्षदेखि भारतको प्रधानमन्त्रीको रुपमा भारतीय जनताले आफूलाई सेवा गर्ने अवसर दिएको बताएका छन् । भारतीयको प्रगतिले विश्‍वको विकासमा योगदान गरिरहेको पनि उनले बताएका छन् । उनले भने, ‘आज विश्‍वको हरेक छैटौं व्यक्ति भारतीय छ । जब भारतीयको प्रगति हुन्छ, तब विश्‍वको विकासले पनि गति लिन्छ । जब भारत सुध्रिन्छ, तब विश्‍व पनि सुध्रिने छ ।’

प्रतिगमनको सोचले ग्रस्त मुलुकले आतंकवादलाई राजनीतिक उपकरणको रुपमा प्रयोग गरिरहेको पनि बताएका छन् । उनले भने, ‘जुन मुलुकले आतंकवादाई राजनीतिक हतियार बनाएका छन्, ती मुलुकमा खतरा पनि त्यति नै ठूलो हुनेछ। अफगानिस्तानको माटोको प्रयोग आतंकवादी हमलाका लागि नभएको सुनिश्‍चित गरिनुपर्छ ।’

तपाईको प्रतिक्रिया
© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित