शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने र ७० वर्षे उमेर हद कार्यान्वयन हुनुपर्ने सुझाव पेस भएको छ । यस्तै उपाध्यक्ष र सचिव ७-७ जना राख्नुपर्ने सुझाव प्राप्त भएको छ ।

दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत तीन वटा दस्तावेजमाथि समूहगत छलफल गर्दा नेताहरूले यस्तो सुझाव दिएका हुन् । १० वटा समूह बनाएर तीन दस्तावेजमाथि छलफल भएको थियो । सबै समूहको निष्कर्ष नेताहरूको व्यवस्थापनका लागि ७ उपाध्यक्ष राखेर प्रदेश ईन्चार्जको भूमिका दिनुपर्ने रहेको एमाले नेताहरूले बताएका छन् ।

‘१० वटा समूहका टोली नेताले आज सुझाव दिइसक्नु भएको छ’, एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘समूहबाट आएका सुझावबारे टोली नेताले भोलिको बैठकमा थप प्रष्ट पार्नु हुनेछ । साथै अध्यक्ष केपी शर्मा ओलीले पनि समूहबाट आएका सुझावबारे सम्बोधन गर्ने कार्यक्रम छ ।’

भट्टराईका अनुसार समूहबाट एक व्यक्तिलाई पार्टीको कुनै पनि कार्यकारी पदमा दुई कार्यकालभन्दा धेरै निरन्तरता नदिने गरी सुझाव आएका छन् । ‘ आज १० वटा टोलीका नेताहरुले निष्कर्ष सुनाउनु भयो । छुटेका ८-१० केन्द्रीय सदस्यहरुले पनि आफ्ना कुरा राख्नु भएको छ’, उनले भने, ‘पार्टी उपाध्यक्ष पनि सात वटा प्रदेश अनुसार राख्ने कि भन्ने सुझाव आएको छ ।’

हाल प्रस्ताव गरिएको विधान संशोधन प्रस्तावमा उपाध्यक्ष ३ जना मात्रै राख्ने उल्लेख गरिएको छ । अध्यक्ष ओली पुनः दोहोरिने भएकाले नेताहरू ईश्वर पोखरेल, सुवास नेम्वाङ, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र रामबहादुर थापाको व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्न एमालेमा छ । उच्च नेता भएकाले उनीहरू महासचिवभन्दा तल नबस्ने भएकाले ३ उपाध्यक्ष मात्रै राख्दा अप्ठ्यारो हुने केन्द्रीय सदस्यहरूको सुझाव छ ।

विधान संशोधन प्रस्तावमा पोलिट्ब्यूरो नराख्ने उल्लेख गरिएको छ । तर, समूहगत छलफलमा पोलिटब्यूरो कायमै राख्नुपर्ने सुझाव आएको छ । त्यस्तै अध्यक्षको नेतृत्वमा रहने गरी प्रस्ताव गरिएको ७ सदस्य रहने केन्द्रीय सचिवालय पनि नराख्न केन्द्रीय सदस्यहरूले सुझाव दिएका छन् । विधान संशोधन मस्यौदामा पदाधिकारीमध्येबाट ७ जनाको केन्द्रीय सचिवालय बनाउने प्रस्ताव गरिएको थियो । यो बनाउँदा स्थायी कमिटी र केन्द्रीय कमिटी अर्थहीन हुने नेताहरूको भनाइ छ । यसअघि नेकपामा पनि सचिवालयको अभ्यास गरिएको थियो ।

त्यस्तै नेताहरूले जबजको सन्दर्भमा समाजवादको आधार निर्माण गर्ने, विभाजित भएको एमालेलाई एकतावद्ध गर्दै सबै कम्युनिष्ट पार्टीहरूसँग छलफल गर्दै अघि बढ्ने, पार्टीको नीतिगत तहमा युवा, महिला, दलित, जनजातिलगायत समावेशीता बढाउनुपर्ने र आगामी आवधिक निर्वाचनमा पार्टीलार्ई अब्बल बनाउनुपर्ने सुझाव दिनुभएको पार्टी सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।

शनिबारको बैठकमा केन्द्रीय विधान महाधिवेशनमा प्रस्तुत गरिने तीन वटा राजनीतिक प्रतिवेदनमा १० वटा समूहले समूहगत सुझाव दिएसँगै अब आइतबार बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले केन्द्रीय सदस्यहरूले दिएका सुझाव र उठेका प्रश्नको जवाफ दिनेछन् । शुक्रबारदेखि जारी बैठक आइतबार पनि बस्ने छ ।

तपाईको प्रतिक्रिया