शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडाैं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अबको चुनावपछि देशबाट एमाले सक्किने दाबी गरेका छन् । मकवानपुरको हेटौंडामा आयोजित आफ्नो पार्टीको भेलालाई आज सम्बोधनका क्रममा एमालेबाट विभाजित भएर नयाँ यात्रा थालेका नेपालले यस्तो बताएका हुन् ।

‘केपी ओलीको पार्टी (नेकपा एमाले) अर्को चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुग्छ’, उनले भने, ‘अहंकारको घोडा चढेका मान्छेहरु अहिले त्यहाँबाट खसेपछि बर्बराइरुहेका छन् । अबको चुनावले उनीहरुको त्यो बर्बराहट पनि समाप्त गरिदिनेछ । जनताबीचबाट उनीहरु सक्किने छन् ।’

अध्यक्ष नेपालले केपी ओलीसहित एमालेका नेताहरुको काम नै गाली गर्ने भएको टिप्पणी गरेका छन् । ‘उनीहरुको काम नै गाली गर्ने हो गरून्, गरिरहुन्’, नेपालले भने, ‘हामी कु-बाटोमा जाँदैनौं, सु-बाटो नै हिँड्छौं ।’ अध्यक्ष नेपालले आफूहरुले फूलको आँखाले संसार हेरिरहेको पनि जिकिर गरे । ‘हामी फूलको आँखाले संसार हेरौंला’, उनले भने, ‘ओली र उनका मान्छेहरु काँडाको आँखाले हेरुन् ।’

अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ताहरूलाई एमालेका नेताहरूप्रति गालीगलौच नगर्न आग्रह समेत गरे । उनले नेपालले एमालेका नेताहरूले जस्तै गाली गरेमा उनीहरू र आफूहरूमा फरक नदेखिने बताए । एकीकृत समाजवादीले युवा र महिलाहरूलाई नेतृत्वमा ल्याउने नेपालको भनाइ थियो । उनले नेतृत्व लिनका लागि युवा र महिलाहरूलाई आह्वान गरेका थिए ।ओलीले जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि उनलाई विदा गर्नुपर्छ भन्ने योजनामा आफूहरू लागेको नेपालको भनाइ थियो ।

२०७१ सालमा नै गलत व्यक्ति र तरिकाले एमाले अगाडि बढिरहेको भन्दाखेरि त्यस्तो भन्नेलाई शत्रु ठानेको नेपालले बताए । नेपाल कम्युनिष्ट पार्टी गठनका क्रममा आफूलाई जानकारी नभएको र पुष्पकमल दाहालसँग गोप्य सहमति गरेर ओली अगाडि बढेको नेपालको भनाइ थियो । दुवै जनाले प्रधानमन्त्री र पार्टी अध्यक्ष आधा–आधा कार्यकाल बाँड्ने सहमति गरेको तर त्यो सहमति ओलीले उल्लंघन गरी कागजमै सीमित राखेको नेपालको भनाइ थियो ।

‘प्रधानमन्त्री जोखिममा छ भन्ने लागेपछि प्रतिनिधिसभा विघटन गर्नुभयो,’ ओलीले विगतमा भनेका कुरा स्मरण गर्दै नेपालले भने, ‘मेरो प्रधानमन्त्रीको कुर्सी ताक्दै हुनुहुन्छ हैन भन्नु हुन्थ्यो । कुर्सी ताक्नुभयो भने कुर्सी नै भाँचिदिन्छु भन्नुभएको थियो ।’
‘कुर्सी भाँचिदिन्छु’ भनेको प्रतिनिधिसभा विघटन रहेको नेपालको भनाइ थियो । ‘१५ वर्ष प्रधानमन्त्री बन्ने सपना देखेर प्रतिनिधिसभा विघटन गर्नुभएको थियो,’ उनले भने ।

अध्यक्ष नेपालले आफूहरुले अब एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धुलो चटाएर छाड्ने चेतावनी समेत दिए । उनले अब ओलीलाई आफूहरुले धक्का दिँदै जाने बताएका हुन् । उनले कर्णाली र सुदूरपश्चिममा ओलीले ठूलो धक्का भोगिसकेको पनि बताए । ‘कर्णाली प्रदेशमा यो पार्टीले केपी ओलीलाई धुलो चटाइसकेको छ’, उनले भने, ‘हेर्दै जानुस् अब बागमती प्रदेश र प्रदेश–१ मा पनि केपी ओलीले केही दिनमै धुलो चाट्ने छन् ।’ अध्यक्ष नेपालले बागमती र प्रदेश-१ का सरकार ढालेर आफ्नो पार्टीका नेतालाई मुख्यमन्त्री बनाउने संकेत गर्दै यस्तो भनेका हुन् ।

तपाईको प्रतिक्रिया