शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडाैं – चर्चित अधिकारकर्मी कमला भासिनको ७५ वर्षको उमेरमा निधन भएको छ । उनको आज बिहान ३ बजे निधन भएको अभियन्ता कविता श्रीवास्तवले पुष्टि गरेकी हुन् ।

भासिनको निधनले भारत र दक्षिण एसियाको महिला आन्दोलनमा धक्का पुगेको उनले उल्लेख गरेकी छन् । ‘हाम्री साथी कमला भासिनको आज बिहान ३ बजे निधन भएको छ,’ श्रीवास्तवले ट्विटरमा लेखेकी छन्, ‘निधनले भारत र दक्षिण एसियाको महिला आन्दोलनमा धक्का पुगेको छ । कठिन परिस्थितिका बाबजुद पनि उनले जीवनलाई उत्सवमय बनाइन् ।’

सन् १९४६, अप्रिल २४ मा राजस्थानमा जन्मिएकी भासिनलाई केही महिनाअघि क्यानसर देखिएको थियो । दक्षिण एसियाली मुलुकहरूमा सञ्जाल बनाएर काम गरिरहेको महिला अधिकारवादी संस्था ‘सङ्गत’की संस्थापक भासिनले त्यस अभियानमा लाग्नुअघि सन् १९७६ देखि २००१ सम्म संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनमा काम गरेकी थिइन् ।

उनका ‘लाफिङ म्याटर्स’ (२००५), ‘एक्स्प्लोरिङ मस्कुलिनिटी’ (२००४), ‘बोर्डर्स एन्ड बाउन्ड्रिज : वुमन इन इन्डियाज् पार्टिसन’ (१९९८) र ‘ह्वाट इज पेट्रियार्क’ र चर्चित कविता ‘क्युँ कि मैं लड्की हुँ मुझे पढ्ना हैं’ (१९६५) प्रकाशित छन् ।

तपाईको प्रतिक्रिया