शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी समकक्षी योशिहिदे सुगाले दुईबीचको बहुआयामिक सम्बन्धको समीक्षा गर्दै अफगानिस्तान सहित हालैको वैश्विक र क्षेत्रीय घटनाक्रमको बारेमा छलफल गरेका छन् । वार्ताका अवसरमा दुई नेताले स्वतन्त्र, खुला र समावेशी हिन्द-प्रशान्त क्षेत्रप्रति आ-आफ्नो प्रतिबद्धता दोहोर्याएका छन् ।

प्रधानमन्त्री सुगाले हालै पदभार ग्रहण गरेपछि प्रधानमन्त्री मोदीसँग यो पहिलो व्यक्तिगत भेटवार्ता हो । सो अवसरमा दुबै प्रधानमन्त्रीले मुम्बई-अहमदाबाद हाई स्पीड रेल (MAHSR) परियोजनाको शुरुवात् र समयमै यसको कार्यान्वयनका लागि आ-आफ्नो तर्फबाट प्रतिबद्धता जनाएका छन् ।

दुई नेताबीचको बैठक क्वाडको पहिलो शिखर सम्मेलनको एक दिन अगाडि भएको हो । यो संयन्त्र अष्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाबीच चारपक्षीय सहयोगसँग सम्बन्धित छ। विदेश मन्त्रालयका अनुसार उनीहरूबीच रक्षा उपकरण र प्रविधिको क्षेत्रसहित द्विपक्षीय सुरक्षा र रक्षा सहयोग बढाउने बारे सहमति जुटेको छ।

दुई प्रधानमन्त्रीबीचको पहिलो भेटवार्ता हार्दिकतापूर्ण रह्यो। सेप्टेम्बर २०२० पछि सुगाले जापानको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरिसकेपछि उनीहरूबीच तीनपटक टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री मोदीले भारत-जापान विशेष रणनीतिक र ग्लोबल पार्टनरशिपमा पछिल्ला केही वर्षहरूमा भएको ठूलो प्रगतिका निम्ति प्रधानमन्त्री सुगालाई विशेष धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री मोदीले कोभिड-१९ महामारीका बीच पनि सफलतापूर्वक टोकियो ओलम्पिकको आयोजना गरेकामा प्रधानमन्त्री सुगा र जापानलाई विशेष बधाइ समेत व्यक्त गरेका छन् । सो अवसरमा दुवै प्रधानमन्त्रीले दुई देशबीचको बढ्दो आर्थिक सम्लग्नताको स्वागत गरेका छन् ।

उनीहरु बीच यस वर्षको सुरुमा भारत, जापान र अष्ट्रेलियाबीच आपूर्ति शृङ्खला र लचकता पहल (एससीआरआई) को लचिलो, विविध र विश्वासिलो आपूर्ति संरचनालाई सक्षम पार्न गरिएको प्रयासको स्वागत गरेका छन् । उक्त अवसरमा भारतीय प्रधानमन्त्री मोदीले निर्माण र क्षमता विकासका क्षेत्रमा काम गर्नका लागि दुई पक्षीय साझेदारीको संरचना निर्माणको लागि जोड दिएका छन् ।

जापनी प्रधानमन्त्री सुगाले भारतीय प्रधानमन्त्री मोदीलाई दिएको जानकारी अनुसार यस वर्षको सुरूमा हस्ताक्षर गरिएको निर्दिष्ट कुशल श्रमिक (एसएसडब्ल्यू) सम्झौतालाई सञ्चालन लागि जापानी पक्षले २०२२ को सुरुदेखि भारतमा सीप र भाषा परीक्षण कार्यक्रम सञ्चालन गर्ने छ।

दुई प्रधानमन्त्रीबीच कोभिड-१९ महामारी र यसलाई सम्बोधन गर्ने प्रयासका बारेमा पनि छलफल केन्द्रित भएको छ । उनीहरूले डिजिटल टेक्नोलोजीको बढ्दो महत्त्वलाई जोड दिदै यस विषयमा भारत-जापान डिजिटल पार्टनरशिपमा विशेष गरी स्टार्ट-अपमा भएको प्रगति को सकारात्मक मूल्यांकन पनि गरेका छन् ।

त्यसैगरी दुई नेताबीच विभिन्न उदीयमान प्रविधिमा थप सहयोग बढाउने बारे विचार आदान-प्रदान भएको छ। जलवायु परिवर्तनका मुद्दाहरू, हरित ऊर्जा संक्रमण र भारतको राष्ट्रिय हाइड्रोजन ऊर्जा मिशनसँग जापानी सहयोगको सम्भावनाका विषयमा पनि छलफल भएको छ। दुई नेताले भारत-जापान एक्ट इस्ट फोरम अन्तर्गत भारतको उत्तर पूर्वी क्षेत्रमा द्विपक्षीय विकास परियोजनाहरूमा भएको प्रगतिलाई स्वागत गर्दै, यस्तो सहयोगलाई अझ बढाउने सम्भावनाहरूको समेत उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया