शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

पारिवारिक पुनर्मिलनको पर्व दसैं नजिकिदैं छ । लम्बिदो महामारीको तुवाँलोले गर्दा बैदेशिक रोजगार क्षेत्रमा संलग्न धेरै नेपालीहरु लामो समयदेखि गन्तब्यमा पुग्न पाएका छैनन् । नेपालीहरुका कैंयन लक्षित कार्यक्रमहरु सम्पन्न हुन सकेका छैनन् । आफन्तजनसंग भेटघाटको अवसर जुराउने दसैं नजिकिए पनि महामारीको त्रास यथावतै रहेकोले यो वर्ष पनि दसैं सुमधुर हुने संकेत देखिएको छैन । एकातिर हवाई उडान नियमित सुचारु भएका छैनन् भने अर्कोतिर बहुसंख्यक नेपालीहरुले अझै खोप लगाईसकेका छैनन् । गन्तब्य मुलुकमा पुगेर र फर्केर आएपछि पूरा गर्नुपर्ने झन्झटिलो मापदण्ड एकातिर छँदैछ भने इच्छाएको समयमा फर्केर आउन पाउने कुनै सुनिश्चितता छैन । त्यसो भएको हुनाले गत वर्ष झैं यो वर्षको दसैं पनि महामारीका कारण प्रत्यक्ष प्रभावित हुने भएको छ ।

मानव नियन्त्रणभन्दा बाहिरको विशेष संवेदनशील परिस्थितिका कारण दसैं, तिहार, छठ, उभौंली जस्ता महत्वपूर्ण पर्वहरु आफ्ना प्रियजनभन्दा टाढा रहेर निरसिलो ढंगले मनाउनुपर्ने बाध्यताले हामीलाई यो बर्ष पनि गाँजेको छ । जसोतसो कामचलाउको स्थितिमा मात्रै भएपनि अहिलेसम्म ब्यवसाय तथा रोजगारी धानिएकोले जिबिकोपार्जन त चलेकै छ । तर महामारी अझै निकै लम्बियो भने हाम्रो स्थिति भयावह हुनेमा दुईमत छैन । थोरै आशाको सञ्चार गरेको कोभिड खोपको परिणाम अझै सतहमा देखिने गरी आईनसकेकोले महामारीको स्थिति अझै के हुन्छ, अहिलै कसैले केही भन्न सक्ने स्थिति छैन । त्यसो भएको हुनाले महामारीबाट उन्मुक्त नहुँदासम्म आधारभूत स्वास्थ्य मापदण्ड पालना गर्नुका साथै आर्थिक अनुशासन, मितब्ययिता तथा फजुल खर्च नियन्त्रण जस्ता बिषयमा अझै विशेष ध्यान दिन जरुरी देखिन्छ ।

महामारीका कारण धाराशयी भएका र हुन सक्ने ब्यवसायिक क्षेत्र र परिणामस्वरुप गुम्ने रोजगारीले गर्दा अर्थतन्त्रमा पर्ने नकारात्मक असरको कल्पना मात्रै गर्‍यौं भने अबको केही बर्ष मानिसको जनजीवन निकै कष्टकर हुने आंकलन गर्न सकिन्छ । सामाजिक तथा आर्थिक क्षेत्र तंग्रिएर सामान्य लयमा फर्किन केही बर्ष त अवश्य लाग्न सक्छ, त्यो अवधिभर विश्व मानव समुदाय आर्थिक संकटको भूमरिमा फस्ने निश्चित छ । त्यसका लागि पनि सञ्चय गर्ने बानी बसाल्ने, पुर्‍याएर खर्च गर्ने, अनावश्यक खर्च बन्द गर्ने जस्ता बिषयमा ध्यान दिदैं ब्यवसायीहरुले वैकल्पिक आम्दानीको स्रोत खोजिनु उपयुक्त देखिन्छ ।

रेष्टुरेन्ट, हलाल फुड, रेमिट्यान्स, ट्राभल, रियल स्टेट, डिजाइन-प्रिन्ट, मानव संशाधन लगायतका क्षेत्रमा जापानका नेपालीहरुको ब्यवसाय केन्द्रीत देखिन्छ । जसमध्य अत्याधिक नेपालीहरु रेष्टुरेन्ट ब्यवसायमा संलग्न छन् । यि सबै ब्यवसायहरु महामारीबाट प्रत्यक्ष प्रभावित छन् । महामारीबाट सुरक्षित अवतरण पहिलो चुनौती र तत्पश्चात पनि ब्यवसाय सुचारु गर्नुपर्ने दोस्रो चुनौती ब्यवसायीहरु सामु छ । त्यतिबेलासम्मको स्थितिलाई आंकलन गरी ब्यवसाय टिकाउनका लागि अहिलैदेखि संभावित पहलहरु गर्नुपर्ने देखिन्छ । त्यसका लागि नयाँ नयाँ आम्दानीका स्रोतहरु खोजीनीति गर्ने, खर्च तथा जनशक्तिमा कटौती गर्ने, कम्पनीको आर्थिक अवस्था बारे नियमित अपडेट हुने र आवश्यक परे तत्काल अगाडि एक्शनमा जानुपर्ने देखिएमा कठोर निर्णय गरेर भए पनि कम्पनी जोगाउनुपर्ने अहिलेको स्थिति हो ।
ब्यवसायी होस् या रोजगाररत जो कोही हरेकलाई यो हेक्का हुन जरुरी छ कि, अहिले हामी सामान्य अवस्थामा छँदै छैनौ । हाम्रो दैनिकी अहिले कसरी चलेको छ, त्यति मात्रै मनन् गर्ने हो भने हामी अलि फरक ढंगले चल्नुपर्ने हुन्छ । हामी अहिले चरम आर्थिक मन्दीको पूर्व सन्ध्यामा छौं अर्थात भयङ्कर ठूलो आँधीबेरी आउनुपूर्वको सन्नाटामा छौं । त्यो महाकालरात्रीबाट पनि सुरक्षित अवतरण हुनका लागि अहिलैदेखि नै तयारी नगर्ने हो भने त्यतिबेला धेरै ढिलो भईसकेको हुने छ । विशेषगरी हामी साना तथा मझौला स्केलका ब्यवसायीहरुको भविष्य त्यति सुरक्षित देखिदैंन । त्यसो भएको हुनाले त्यसका लागि उपयुक्त ब्याक-अप के हुन सक्छ, अर्थात के गर्दा रेड-जोनबाट सेफ्टी-जोनतर्फको यात्रा सुनिश्चित गर्न सकिन्छ, बेलैमा सोच्ने कि ? ***

तपाईको प्रतिक्रिया