शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडाैं – अफगानिस्तानमा तालिबानले उसको विरोध गर्दै प्रदर्शनमा भेला भएका मानिसमाथि हिंसात्मक बल प्रयोग गरेर दमन गरेको भन्दै संयुक्त राष्ट्रसङ्घले भर्त्सना गरेको छ । राष्ट्रसङ्घका अनुसार तालिबानको दमनमा पछिल्ला प्रदर्शनहरूमा चार जनाको मृत्यु भइसकेको छ ।

झन्डै एक महिनाअघि राजधानी काबुल तालिबानको नियन्त्रणमा पुगेपछि अफगानिस्तानका विभिन्न स्थानमा महिला अधिकार र स्वतन्त्रताका पक्षमा प्रदर्शनहरू भइरहेका छन् । प्रदर्शनकारीमाथि तालिबान लडाकुले लाठी र कोर्रा प्रहार गर्नुका साथै गोली पनि चलाएको राष्ट्रसङ्घको प्रतिवेदनमा उल्लेख छ ।

‘शान्तिपूर्ण भेला हुन पाउने अधिकार प्रयोग गरिरहेका मानिसहरू र आन्दोलनको समाचार सङ्कलन गरिरहेका पत्रकारमाथि बल प्रयोग र स्वेच्छाचारी रूपमा नियन्त्रणमा लिने काम तत्कालै रोक्न तालिबानलाई हाम्रो आग्रह छ,’ राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तका प्रवक्ताले एउटा वक्तव्यमा भनेकी छन् ।गत अगस्टमा तालिबानले प्रादेशिक केन्द्रहरूमा नियन्त्रण कायम गर्न सुरु गरेको थियो । दुई हप्ताको अवधिमा तालिबान लडाकुहरूले राजधानी काबुललाई पनि कब्जा गरे । अगस्ट अन्त्यमा आफ्ना सैनिकहरू अफगानिस्तानबाट बाहिरिनुअघि अमेरिकी नेतृत्वको सेनाले एक लाख २० हजार मानिसलाई काबुल विमानस्थलबाट उद्धार गरेको जनाएको छ ।

दुई दशकअघि न्यूयोर्कको ट्विन टावरमा भएको ९/११ आक्रमणपछि अमेरिकी गठबन्धन सेनाले तालिबानलाई अफगानिस्तानबाट सत्ताच्युत गर्न कारबाही थालेको थियो । अहिले तालिबान पुनः शासनमा फर्किएको छ ।

तपाईको प्रतिक्रिया